ढुंगा व्यापार गर्ने थलो बन्यो चित्लाङ-थानकोट सडक, ५५ वर्षमा पनि सकिएन स्तरोन्नति



काठमाडौं । ५५ वर्षअघि पाँच वर्षको श्रमदान लगाएर चित्लाङ–चद्रागिरि–थानकोट सडकको ट्रयाक खोलिएको थियो ।

पाँच दशकअघि ट्रयाक खोलिएको यो सडकको स्तरोन्नती अहिलेसम्म सकिएको छैन । ढुंगा व्यापार गर्ने गिरोहको संलग्नताले सडक स्तरोन्नतिको काम अगाडि बढ्न सकेको छैन ।

सकड स्तरोन्नतिको काम छिटो गर्नेभन्दा पनि त्यहाँ आएका ढुंगा बेच्नमै ठेकेदार व्यस्त भएकाले सडकको काम कहिले नसकिने अवस्थामा पुगेको थानकोट–चित्लाङ सडक तथा बस्ती संरक्षण समितिका सल्लाहकार विनोद मर्हजनले बताए ।

उनका अनुसार ठेकेदारको लापरबाहीले १५ महिनामा सकिने गरी लिएको ठेक्का ढुंगा बेच्ने मनसायले ५ वर्ष लगाएको छ ।

‘समितिले बाटो विस्तारका क्रममा निस्किने ढुंगा त्यहाँ प्रयोगपछि मात्रै अन्यत्र लैजान माग गर्दै आएको छ,’ मर्हजनले भने, ‘बाटो बनाउन करिब ७९ हजार घनमिटर ढुंगा आवश्यक पर्ने आकलन छ ।’

बाटो स्तरोन्नतिका क्रममा ४ लाख घनमिटर कटिङ गर्दा ३ लाख घनमिटर ढुंगा निस्कने समितिको दाबी छ ।

समितिले शुरुदेखि नै यो क्षेत्रको सडक स्तरोन्नतीका लागि भनेर गरिएको काम प्रति आपत्ति जनाउदै आइरहेको मर्हजनले बताए ।

‘त्यहाँबाट निस्किने ढुंगा त्यही बाटो बनाउन प्रयोग हुनुपर्याे,’ मर्हजनले भने, ‘त्यसपछि बाँकी भएको ढुंगा जे गरे पनि भयो ।’

त्यहाँको ढुंगा अन्यत्र बेच्ने तर त्यहाँका लागि भने अन्य ठाउँबाट किनेर ल्याउने गर्दा सरकारलाई करोडौँको घाटा भइरहेको उनको भनाइ छ ।
समितिका सल्लाहकार मर्हजले ढुङ्गा तस्करीमा गिरोहको संलग्नता रहेका बताए ।

‘यस्तै हुने हो भने यो क्षेत्रकोे बाटो निर्माण हुन असम्भव छ,’ मर्हजनले भने, ‘यस क्षेत्रलाई सरकारले ढुङ्गा तस्करीलाई बढवा दिन लागेको जस्तो यहाँका स्थानीयमा भान हुन्छ ।’

गत कात्तिक १९ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पनि यो मार्ग ढुंगा व्यापारतिर लागेको भन्ने सुनेको भन्दै ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो निर्माण गर्न पहल गर्ने बताएका थिए ।

‘चन्द्रागिरि–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको भन्ने सुनेको छु,’ उनले भने, ‘त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारु गर्नेछु ।’ चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्ने शर्माको भनाइ थियो ।

अर्थमन्त्री शर्माले दिएको यो अभिव्यक्तिले त्यस सडक स्तरोन्नतिका योजनामा यतिबेला तरङग छाएको छ । मकवानपुरको उत्तरी क्षेत्र र काठमाडौंको पश्चिम क्षेत्रका स्थानीयमा फेरि बाटो बन्न रोक्ने हुन कि भन्ने आशंका पैदा भएको छ ।

सरकारले नै ढुंगा व्यापारीलाई नै सहयोग गर्ने हो कि भन्ने शंका स्थानीयको छ ।

२०७१ सालमा बिस्तृत परियोजना प्रतिवेदन तयार गरी स्तरीकरण शुरु गरिएको सडकको अहिले काठमाडौंतर्फको काम भइरहेको छ । यस क्षेत्रमा विभिन्न बाहानामा काममा अवरोध हुँदै आएको छ ।

चन्द्रागिरी भन्ज्याङदेखि चनवन ब्यारेकसम्मको काम लगभग अन्तिम चरणमा पुगे छ । कुल २२.५ किलोमिटर लम्बाइ रहेको यो सडकको काठमाडौंतर्फ ८.३ किलोमिटर र मकवानपुरतर्फ १४.२ किलोमिटर पर्छ ।

यो सडक काठमाडौं थानकोट चेकपोस्टबाट शुरु भई, पातिघाट, चन्द्रागिरि भन्ज्याङ, चित्लाङ, नारायणहिटी, बिसिङखेल, नौखण्डेसम्म रहेको छ ।

अहिलेसम्मको स्तरोन्नति
५५ वर्षदेखि सुस्त गतिमा रहेको यो सडकमा पछिल्लो १ वर्षमा भने आशालाग्दो प्रगति भएको योजनाको दाबी छ ।

१ वर्षको अवधिमा थानकोटबाट २ हजार ५ सय मिटरदेखि ८ हजार २५० मिटरसम्मको सडकको ‘ट्रयाक क्लियर’ भएको छ ।

सडक स्तरोन्नतिका लागि २०७०÷०७१ देखि छुट्टै कार्यालय स्थापना गरी काम अघि बढाइएको थियो । किराँतेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीले २०७३ साउन १७ गते सम्झौता गरी काम अघि बढाएको थियो ।

यसबीचमा पटक–पटक म्याद थप गरी आगामी चैतसम्मलाई तोकिएको छ । कम्पनीले थानकोट चेकपोस्टदेखि चन्द्रागिरि भन्ज्याङसम्म ६ करोड रुपैयाँ लागतमा ठेक्का लिएको थियो ।

भौगोलिक कठिनाइ र अनावश्यक विवादका कारण काममा केही ढिलाइ भए पनि पछिल्लो समय रफ्तारमा काम भइरहेको निर्माण कम्पनी र आयोजनाले बताएको छ ।

निर्माण व्यवसायीले ढुङ्गा बेच्न नपाउँदा समस्या
यो सडक योजनामा निर्माण व्यवसायीले ढुङ्गा बेच्न नपाउँदा सडक निर्माणको काममा ढिलाइ गरेको स्थानीयको भनाइ छ । त्यहाँ रहेको ढुङ्गा बेच्नकै लागि निर्माण व्यवसायीले पटक–पटक म्याद थप्ने गरेका छन् ।

काठमाडौंतर्फको सडक निर्माण गर्ने ठेक्का पाएको पीएस/किराँतेश्वर जभिले पटकपटक म्याद थप्दासमेत निर्माण कार्य सकेको छैन् । जिल्ला वन कार्यालय काठमाडौंले उत्खनन् गरिएको वनक्षेत्रको ढुङ्गा लिलामी गरेको थियो ।

ढुङ्गा लिलामीकोे ठेक्का पनि निर्माण कम्पनी पीएस/किराँतेश्वरले नै पाएपछि ढुङ्गा निकासी गर्न थालेको काठमाडौं वन कार्यालयको भनाइ छ ।
निर्माण कम्पनीले सडक बनाउनभन्दा ढुङ्गा बेच्न सक्रिय भएपछि केही समय नगरपालिका र स्थानिय बासिन्दाहरुले अवरोध गरेको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए ।

‘ठेकेदारले सडक बनाउनेभन्दा पनि ढुंगा निकालेर बेच्न मात्रै व्यस्त भए । त्यसैले काम हुन नसकेको हो,’ अधिकारी भुजेलले भने ।

उनका अनुसार चन्द्रागिरी र थाहा नगरपालिकाले निर्माण कम्पनीलाई बिक्रीको उद्देश्यले ढुंगा बाहिर बिक्री गर्न रोक लगाएको थियो ।

केही समय अगाडि चन्द्रागिरि र थाहा नगरले ढुंगा बाहिर निकासीमा रोक लगाएपछि ठेकेदार कम्पनीले अवरोध खडा गरेको भन्दै सडक निर्माण रोकेको अधिकारी भुजेलले बताएका छन् ।

‘त्यहाँको ढुंगा बाहिर बिक्री गर्ने र यही काम गर्नका लागि बाहिरबाट ढुंगा किन्ने काम उचित नभएकाले ठेकेदार कम्पनीलाई ढुंगा बेच्न दुवै नगरपालिकाले रोक लगाएको थियो,’ अधिकारी भुजेलले भने ।

दुवै नगरपालिकाले पहिलो प्राथमिकतामा सडक निर्माण र दोस्रो चरणमा ढुंगा बिक्री गर्न ठेकेदार कम्पनीलाई अनुरोध गरेकोमा सोही अनुरुप सडक निर्माण काम नभएको अधिकारी भुजेलको भनाइ छ ।


क्लिकमान्डु