भूकम्पपछि होटलमा बदलिएका अपार्टमेन्ट



काठमाडौं । उपत्यकामा व्यवस्थित बसोबासको चलन चल्दै गर्दा ‘अपार्टमेन्ट कल्चर’ पनि बिस्तारै शुरु हुँदै थियो ।

आम उपभोक्ता अमार्टमेन्टमा आकर्षिक हुदै गर्दा धमाधम अपार्टमेन्ट बन्न थाले । व्यवसाय चम्किदै थियो । त्यही बेला शक्तिशाली भूकम्प आयो । अपार्टमेन्ट व्यवसायको जग नराम्रोसँग हल्लाइदियो । उकालो ग्राफमा दौडिरहेको अपार्टमेन्ट व्यवसायमा ‘ब्रेक’ लाग्यो ।

भूकम्पको धक्काले अर्पाटेमन्टहरु क्षति पुग्यो । केही अपार्टमेन्टमा बस्नै छाडे । निर्माणको चरणमा रहेका केही अपार्टमेन्ट होटल र अस्पतालमा बदलिए । ०७२ सालको विनाशकारी भूकम्पले सबैभन्दा असर पारेको क्षेत्र बन्यो अपार्टमेन्ट ।

त्यसको असर अहिलेसम्म पनि छ । भूकम्पले ध्वस्त बनाएको धापासीको भ्यू होइराइजन अपार्टमेन्ट उस्तै अवस्थामा छ । न भत्काउन सकिएको छ न त फेरि सञ्चालनमा ल्याउन सकिएको छ ।

शनिबार पाँच तारे होटल ‘हायात प्लेस’को उद्घाटन गर्दै गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले भने, ‘अपार्टमेन्ट बनाएर बिक्री गरेको भए राम्रो फाइदा भइसक्ने थियो, तर हामीले होटल बनाउने निर्णय गर्यौं, ब्रेकइभनमा आउन ५ वर्ष त पक्कै लाग्छ ।’

ताहाचलस्थित बिराजमान होटलको जग अपार्टमेन्टका लागि खनिएको थियो । तर सोही समयमा भूकम्प आयो । तत्कालीन समयमा गोल्यान ग्रुपको योजना २ वटा समानान्तर १४ तले भवन बनाउनु थियो ।

भूकम्पपछि अन्यत्रका अपार्टमेन्टमा ठूलो क्षति पुगेपछि भने उनले एउटा भवनलाई होटल बनाउने निर्णय गरे । तत्कालीन समयमा उक्त सुविधासम्पन्न र महंगो अपार्टमेन्ट बनाउने भनिएको थियो ।

उसो त हायात प्लेसको भवनसँगै जोडिएको अर्को भवनमा अपार्टमेन्टनै बनाइएको छ । जहाँ गोल्यान ग्रुपको कार्यालय छ । केही अपार्टमेन्टमा बसोबास पनि भइरहेको छ ।

भूकम्पपछि गोल्यान ग्रुपले मात्रै होइन अन्य कैयन अपार्टमेन्टमा अहिले होटल सञ्चालन भइरहेको छ ।

होटल हायात प्लेस
१० रोपनी क्षेत्रफलमा फैलिएको यो होटलले शुरुवाती समयमा भूकम्प र निर्माण हुँदै गर्दा कोरोना महामारीको असर भोगेको छ । हाल सञ्चालनमा आइसकेको होटलमा १५३ कोठा छन् । ७ वटा टेरेर रुमसँगै ३ वटा स्वीट रुम छन् । होटलमा ५ अर्ब रुपैयाँ लगानी भएको छ । हायात ब्राण्ड अन्तर्गत यो नेपालमा दोस्रो होटल हो । हायात रिजेन्सी र हायात प्लेसमा व्यवस्थापक एउटै भए पनि लगानीकर्ता भने फरक हुन् ।

Rendering of Exterior

आकामा होटल
हेभन्स भिलेज अपोर्टमेन्टका रुपमा शुरु भएको भवन पछि होटलमा परिणत भयो । भूकम्पपछि व्यवसायी हरि श्रेष्ठले परियोजना सानिमा समूहलाई बिक्री गरेका थिए । गैर आवासीय नेपाल संघ (एनआरएनए)का पूर्वअध्यक्षसमेत रहेका जीवा लामिछानेको समूहले उक्त अपार्टमेन्ट खरिद गरी आकामा होटल सञ्चालन गरेका हुन् ।

होटल क्राउन इम्पेरियल
काठमाडौंको रवीभवनमा रहेको यो होटल निर्माण गर्दा शुरुमा अपार्टमेन्टका लागि स्वीकृत लिइएको थियो । तर भूकम्पपछि २०७३ साल साउनमा व्यवसायी सुधीरमान मास्केले अर्किड टावरको नामको अपार्टमेन्टको परियोजनालाई होटल बनाउने निर्णय गर्दै प्रयोजन परिवर्तनको निवेदन दिएका थिए । त्यसपछि २०७६ साल जेठबाट होटल क्राउन इम्पेरियल सञ्चालन भइरहेको छ । ४ रोपनी ४ आना क्षेत्रफलमा उभिएको यो ४ तारे होटलको भवन १६ तले छ ।

भिभान्ता होटल
२०६५ सालमा भिबोर विकास बैंकले निर्णण गरेको भिबोर अपार्टमेन्टको भवन खरिद गरी चौधरी ग्रुपले भिभान्ता होटल सञ्चालनमा ल्याएको हो । होटलको भवन शुरुमा अपार्टमेन्ट निर्माण गर्नका लागि अनुमति प्राप्त भएको थियो । तर पछि चौधरी ग्रुपले खरिद गरेपछि भारतीय होटल ताजको व्यवस्थापनमा भिभान्ता निर्माण गरिएको हो ।

गुण अपार्टमेन्ट
ग्वार्कोमा रहेको गुण अपार्टमेन्टमा होटल सञ्चालन गर्ने तयारी गरिएको छ । निर्माणाधीन उक्त अपार्टमेन्टमा अब होटल सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।

एल्लो हाउस होटल
लतिलपुरको सानेपामा निर्माण गरेको अपार्टमेन्टलाई एल्लो हाउस होटल सञ्चालनमा ल्याउने तयार भइरहेको थियो । अपार्टमेन्टलाई होटल बनाएका होटल संघ नेपाल (हान)का पूर्वअध्यक्ष श्यामसुन्दरलाल कक्षपतिको निधन भइसकेको छ ।


क्लिकमान्डु