अर्थमन्त्री र बैंकर्सबीच छलफल: ठूला कर्जा रोक्ने र सानालाई प्राथमिकता दिने



काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार नेपाल बैंकर्स संघसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले कर्जा प्रवाह धेरै भएको तर त्यो पैसाको प्रभाव नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले बैंकर्ससँग जुन प्रकारले कर्जा प्रवाह भएको छ सोअनुरुपको आर्थिक विकास नभएको बताएका थिए । उनले कर्जा प्रवाहको कुनै असर नदेखिएको भन्दै अध्ययन गर्नुपर्ने बताएका थिए ।

बैंकरहरुले स्थानीय तहले बैंकमा राखेको निक्षेप सतप्रतिशत नै सीडी रेसियोमा गणना गर्न दिनुपर्ने माग राखेका थिए ।
नेपालले प्रयोग गर्नेभन्दा बढी वस्तुहरु आयात भएको भन्दै त्यस्ता वस्तुको आयात समेत रोक्नुपर्ने धारणा बैंकरहरुको थियो ।

बैठकमा सहभागी बैंकरले महालेखा परीक्षकको कार्यालयले एफपिओ जारी गर्दा आएको प्रिमियम तथा मर्जर तथा एक्विजेशन गर्दा स्वापबाट आएको रकममा कर तिर्नुपर्ने भन्दै निकालेको बेरुजु हटाउन समेत माग गरे । बैंकहरुले सबैभन्दा बढी आयकर ३० प्रतिशत तिनुपरेको र त्यसलाई समेत घटाउन बैंकरहरुले माग गरेका थिए ।

छलफलमा मन्त्री शर्माले आयातमा ठूलो रकम खर्च पनि आर्थिक क्रियाकलापमा भने प्रभाव नदेखिएको बताए ।

छलफलमा बैंकर्ससंघका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले अब बैंकहरुले ठूला भनिने कर्जा प्रवाह रोकेर साना कर्जामा ध्यान दिनुपर्ने अवस्था आएको बताएका थिए ।

‘अर्थमन्त्रीसँग तरलता अभावका सम्बन्धमा छलफल भएको छ, छलफलमा अब साना कर्जालाई प्राथमिकतामा राख्नेमा हामीले आफ्ना भनाइहरु राखेका छौं,’ उपाध्यायले भने ।

उपाध्यायले वैदेशिख ऋण लिने विषयमा पनि छलफल भएको बताए । तर कुन प्रक्रियाबाट लिने भन्ने विषयमा छलफल नभएको उनको भनाइ छ ।


क्लिकमान्डु