नेपाल टेलिकमको डेटाको आम्दानी प्रतिदिन साढे ४ करोडसम्म



काठमाडौं । टेलिकम कम्पनीहरुको आम्दानीको स्रोत क्रमशः डेटातिर सर्दै गएको छ । मुलुकमा मोबाइलको पहुँच तीव्र वृद्धि र फोरजीकाका ग्राहक बढ्दै जाँदा डेटाको खपत बढेको हो ।

मुलुकको अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले डेटाबाट दैनिक साढे ४ करोड रुपैयाँसम्म आम्दानी गरेको छ ।

दशैं तिहारमा डेटाको खपत उच्च भएको बेला डेटाको आम्दनी साढे ४ करोड रुपैयाँसम्म पुगेको नेपाल टेलिकमले जनाएको छ । चाडपर्वको समयमा टेलिकमले ल्याएको विभिन्न अफरलाई प्रयोग गर्दै ग्राहकले डेटा प्रयोग धेरै गरेपछि डेटाको आम्दानी बढेको हो ।

चाडपर्वमा डेटाको आम्दानी उच्च भए पनि औषतमा नेपाल टेलिकमको डेटाबाट हुने आम्दानी दैनिक साढे तीन करोड रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए । त्यसमध्ये ८४ प्रतिशत फोरजीको प्रयोगबाट भइरहेको छ ।

‘टुजी र थ्रीजी चलाउने उपभोक्ता फोरजीमा जानेक्रम बढ्दै गएको छ,’ अधिकारीले भने, ‘यसले फोरजीतिरको आम्दानी बढेको हो ।’

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो रिपोर्टअनुसार टेलिकमका थ्रिजी र फोरजी चलाउने ग्राहकको संख्या १ करोड ६४ लाख ८० हजारभन्दा धेरै छन् । त्यसमध्ये थ्रिजीका १ करोड २ लाख र फोरजीका ६२ लाख ६८ हजारभन्दा धेरै छन् ।

मुलुकमा ब्रोडव्यान्ड इन्टरनेट ११० प्रतिशतमा पुगेको अवस्थामा मोबाइल ब्रोडव्यान्ड चलाउने ८२.५५ प्रतिशत छन् ।

पछिल्लो समय समग्र टेलिकम क्षेत्रको राजश्वमा भने ह्रास आएको छ । ‘ननअपरेटिङ’ क्षेत्रको आम्दानीमा ह्रास आएका कारण समग्र राजश्वमा असर गरेको अधिकारीले बताए । ननअपरेरिङ भन्नले बैंकका ब्याज र अन्य आम्दानी पर्छ ।

कोरोना संक्रमणले मुलुकको वित्तीय अवस्थालाई असर गर्दा बैंकहरुले ब्याजदर घटाएका थिए । जसले गर्दा टेलिकमलाई पनि असर गरेको थियो ।

ओटीटी सेवाका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा पनि ह्रास आएको छ । रोमिङ कलबाट हुने आम्दानी कुल आम्दानीको ३०–३१ प्रतिशतसम्म पुगेको थियो । त्यो अहिले घटेर १४–१५ प्रतिशतमा आएको छ ।

टेलिकमको ग्राहक संख्या बढिरहेको र नेटवर्क विस्तार पनि बढिरहेको बेला भ्वाइसको आम्दानीमा सुधार हुन सकेको छैन । म्यासेन्जर, भाइबर, ह्वासएप, इमोबाट हुने कल बढिरहेका कारण भ्वाइस सेवामा असर गरेको हो ।

यति हुदाहुँदै पनि टेलिकमको ‘कोरा सेवा’बाट हुने आम्दानी बढेको छ । सेवाबाट हुने आम्दानी अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ बढी थियो ।


क्लिकमान्डु