पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज आम्दानी १३ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज आम्दानी औसतमा बढेको छ । तीन महिनाको अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १३.०४ प्रतिशतले बढेर ४ अर्ब १९ करोड १५ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

२७ वटा वाणिज्य बैंकमध्ये ६ वटा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने बाँकी बैंकको बढेको छ । बैंकको आम्दानीमा सबैभन्दा महत्वपूर्ण आम्दानीको स्रोत भनेको खुद ब्याज आम्दानी हो । बैंकका अन्य प्रकारका आम्दानी पनि हुने गर्दछन् । त्यसमा पनि महत्वपूर्ण आम्दानीको स्रोतको रुपमा खुद ब्याज आम्दानीलाई लिने गरिन्छ ।

असोज मसान्तसम्म ग्लोबल आइएमई बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, प्राइम बैंक र सनराइज बैंकको खुद ब्याज आम्दानी घटेको देखिएको छ । जसमा ग्लोबल आइएमई बैंकको २५ करोड ४६ लाख ३२ हजार रुपैयाँ अर्थात् ९.८२ प्रतिशत बिन्दुले घटेर ९ अर्ब ३ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

यस्तै कुमारी बैंकको खुद ब्याज आम्दानी २ करोड ८७ लाख ६३ हजार रुपैयाँ अर्थात २.१९ प्रतिशत बिन्दुले घटेर १ अर्ब २८ करोड ६९ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

नेपाल बंगलादेश बैंकको पनि खुद ब्याज आम्दानी घटेको छ । बैंकको खुद ब्याज आम्दानी १ करोड ५६ लाख ५६ हजार रुपैयाँ अर्थात २.२६ प्रतिशत बिन्दुले घटेर ६७ करोड ६५ लाख ८९ हजार रुपैयाँमा सिमित भएको छ ।

प्रभु बैंकको पनि खुद ब्याज आम्दानी १६.०३ प्रतिशत बिन्दु अर्थात २७ करोड १५ लाख ६६ हजार रुपैयाँले घटेर १ अर्ब ४२ करोड २३ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी २१.७० प्रतिशत बिन्दुले घटेको छ । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३५ करोड ४४ लाख ८२ हजार रुपैयाँले घटेर १ अर्ब २७ करोड ९० लाख ५७ हजार रुपैयाँ रहेको छ ।

प्राइम बैंकको खुद ब्याज आम्दानी असोज मसान्तसम्म १४ करोड ८९ लाख ५० हजार अर्थात ९.६० प्रतिशत बिन्दुले घटेर १ अर्ब ४० करोड १८ लाख ८७ हजार रुपैयाँ रहेको छ । यता सनराइज बैंकको पनि खुद ब्याज आम्दानीमा संकुचन आएको छ ।

बैंकको खुद ब्याज आम्दानी ०.५१ प्रतिशत बिन्दु अर्थात ४७ लाख १५ हजार रुपैयाँले घटेर ९२ करोड ३२ लाख ६१ हजार रुपैयाँ रहेको छ । अन्य २१ वटा बैंकको भने खुद ब्याज आम्दानी बढेको छ ।

बैंकहरुले प्रकाशित वित्तीय अवस्था अनुसार असोज मसान्तसम्म खुद ब्याज आम्दानी घटेका बैंकहरुको कर्जा र निक्षेपको ब्याजदरअन्तर (स्प्रेडदर) पनि घटेको छ ।

ग्लोबल आइएमई बैंकको स्प्रेड दर १.५४ प्रतिशत बिन्दुले घटेर ३.४९ प्रतिशत बिन्दुमा रहेको छ ।

कुमारी बैंकको १.६५ प्रतिशत बिन्दुले घटेर २.७१ प्रतिशत, नेपाल बंगलादेश बैंकको १.६५ प्रतिशत बिन्दुले घटेर ३.२३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको १.५५ प्रतिशत बिन्दुले घटेर २.५९, प्रभु बैंकको ०.९९ प्रतिशत बिन्दुले ३.३८ प्रतिशत बिन्दुले, प्राइम कमर्शियल बैंकको १.३२ प्रतिशत बिन्दुले घटेर ३.०८ प्रतिशत र सनराइज बैंकको १.८७ प्रतिशत बिन्दुले घटेर २.४६ प्रतिशत रहेको छ ।

चालु आवको असोज मसान्तसम्म बैंकहरुको समग्र स्प्रेडदर १.११ प्रतिशत बिन्दुले घटेको छ । राष्ट्र बैंकले कर्जाको भारित औसत ब्याजदर र निक्षेपको औसत भारित ब्याजदरअन्तर ४.४ प्रतिशतभन्दा नबढाउन भनेको छ ।


क्लिकमान्डु