डेढ अर्ब बढी लगानीमा दमकमा हालसम्मकै अग्लो भ्यू टावर बन्ने, यस्ता हुनेछन् सुविधा



काठमाडौं । झापा जिल्लाको दमक नगरपालिका–३ को दापगाछीमा हालसम्म कै अग्लो दमक भ्यू टावर निर्माण हुने भएको छ । यो भ्यू टावरको उचाइ १ सय मिटरको हुने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

दमक एक पर्यटकीय क्षेत्रमा सम्भावना भएकाले विभागले उक्त भ्यू टावर आयोजना निर्माण भएमा थुप्रै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरू आकर्षित हुने उद्देश्यका सो भ्यू टावर निर्माण गर्ने भएको विभागले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गबाट उत्तरमा शान्त वातावरणमा बन्ने भएको भ्यू टावरमा सहज पहुँचमार्ग, दमकबाट नियमित बस सेवा, पानीका स्रोतहरूको सहज उपलब्धता सेवा भएकाले सो क्षेत्रमा निर्माण गर्ने भएको विभागले भनाइ छ ।

विभागले भ्यू टावर निर्माण गर्नको लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिसकेको छ । जसमा भ्यू टावर निर्माण तथा सञ्चालनले नकारात्मक वातावरणीय प्रभाव न्यूनीकरणका उपायहरूका कार्यान्वयनका लागि ४९ लाख रुपैयाँ खर्च हुने उल्लेख गरेको छ ।

सो भ्यू टावरलाई वातावरणमैत्री बनाउन र वातावरणीय दिगोपन कायम राख्न आवश्यक पर्न सक्ने कार्यहरूका लागि पनि आयोजनाले समय र आवश्यकता अनुसार बजेट व्यवस्था गर्नेछ । विभागले वातावरणीय व्यवस्थापन योजनाको कार्यान्वयनका अनुगमनका लागि १९ लाख रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ ।

दमकमा सो भ्यू टावर ३२ हजार ७ सय ११ वर्गमिटरको क्षेत्रफलमा निर्माण हुने भएको छ । जसमा विभागले भ्यू टावर निर्माणका लागि १ अर्ब ५६ करोड १४ लाख ३९ हजार लागत लाग्ने गरी प्रतिवेदनमा प्रस्ताव गरेको छ ।

यस्ता हुनेछन् सुविधा ?
भ्यू टावर १०० मिटर उचाईको हुने विभागले जनाएको छ । उक्त भ्यू टावर १८ तल्लाको हुनेछ । जसमा टावरभित्र भाडामा प्रयोग गर्न मिल्ने व्यवस्था हुनेछ । विभागकाअनुसार सो भ्यू टावरमा पसल, अफिस, रेष्टुराँ र क्याफेका लागि पनि व्यवस्था हुनेछ ।

फराकिलो खाली स्थानको तल्लो तल्लामा पसलका लागि मुख्य स्थानहरू हुनेछन् । त्यसैगरी, बीचको तल्लाहरू कार्यालय र रेष्टुराँका लागि उपयुक्त हुने विभागको भनाइ छ । साथै, माथिल्लो तल्लाहरू साना क्याफेहरू र अवलोकनका लागि प्रयोग गर्न सकिनेछ । विभागले तल्लो भुँई तल्ला कर्पोरेट पार्किङ स्थलको रुपमा निर्माण गर्ने भएको हो ।

तल्लो भूईं तल्लाका कर्पोरेट पार्किङ, भूँई तल्लादेखि तेस्रो तल्ला पसलहरू, ४ देखि ९ तल्ला कर्पोरेट कार्यालय, १० देखि १३ तल्ला ग्यालरी तथा प्रदर्शनी, १४ देखि १५ तल्ला रेष्टुरेन्ट क्याफे, १६ देखि १७ तल्ला अवलोकन भ्यू डेक र १८ तल्लाका कौसीको व्यवस्था हुनेछ ।

सो टावरमा एकै पटक करिब १ हजार संख्या अवलोकन गर्न सक्ने विभागको दाबी छ । भ्यू टावरमा बेसमेन्ट पार्किङको क्षेत्रफल २३ सय ४७ वर्गमिटर रहेको छ भने भूईं तल्ला साझा हलको क्षेत्रफल ९ सय २७ वर्गमिटर क्षेत्रफल रहनेछ ।

निर्माणको चरणमा रहेको भ्यू टावरको तल्लाअनुसार निर्माण क्षेत्रफल फरक तोकेको छ । जसमा ४ सय ५४ वर्गमिटरदेखि ९ सय २७ वर्गमिटर क्षेत्रफल तोकेको छ । त्यसैगरी भ्यू टावरमा ९० प्रतिशत खुल्ला क्षेत्र, ६७ वटा चार पाङग्रे र ७५ वटा दुई पाङ्ग्रे सवारी साधन अट्ने पार्किङको व्यवस्था हुनेछ ।

भ्यू टावर साढे २ वर्षमा निर्माण गरिसक्ने लक्ष्य लिएको छ । उक्त निर्माण गर्नको लागि ९७ जना जनशक्तिको आवश्कता रहेको छ ।

२७ हजार बोरा सिमेन्ट आवश्यक
प्रस्तावित मूल्याङ्कनअनुसार भ्यू टावर निर्माणका लागि २७ हजार बोरा सिमेन्ट आवश्यक पर्नेछ । त्यसैगरी, भ्यू टावर निर्माण गर्न आवश्यक पर्ने १९ घन मिटर बालुवा, २८ सय घनमिटर गिट्टी, ४६ हजार वटा ईट्टा, ४४० मेट्रिक टन डण्डी र १२ सय मेट्रिक टन स्टील आवश्यक पर्ने भएको छ ।

उक्त भ्यू टावर निर्णालयलाई आवश्यक पर्ने निर्माण सामग्री आपूर्तिका लागि स्थानीयलाई बढी प्राथमिकतामा राखेको विभागले जनाएको छ ।


क्लिकमान्डु