सिक्टाले दिन थाल्यो प्रतिफल, स्थानीय दंग, उत्पादन दोब्बर



काठमाडौं । राप्ति सोनारी गाउपालिकाकी दमकला जैशीको मन आजभोलि प्रफुल्ल छ । आफ्नै खेत नजिकबाट खोलो जस्तै नहर बग्छ । चाहेको बेला पानी हाल्न पाउँछिन्, खेतिपाति राम्रो भएको छ ।

धान उत्पादन दोब्बर बढेको छ । गहुँ, मकै, आलुको उत्पादनले आम्दानीमा वृद्धि गरेको छ ।

सिक्टा सिंचाइको पानी पुगेपछि त्यस क्षेत्रका स्थानीय दमकला जस्तै खुसी छन् । ‘पहिला आकासे पानीमा भरपर्नु पथ्र्यो,’ क्लिकमाण्डुसँग कुरा गर्दै दमकलाले भनिन्, ‘अहिले त आफ्नै जमिनमा खोला जस्तै पानी बग्छ ।’

राप्ति मै हुर्किएकी दमकला खेतिकिसानी गर्न धेरै दुख गर्नुपथ्र्यो । जमिन सुक्का हुथ्यो, बालीले दिने प्रतिफल आकासे पानीमा भरपर्नु पर्थ्यो । कहिले माटोमा गरेको लगानी माटोमै बिलाउँथ्यो ।

३ दशक पहिले बाँके जिल्लाका स्थानियले देखेको सपना सिक्टा सिंचाइले पुरा गर्दैछ । ६८ प्रतिशत काम पूरा भएको आयोजना सम्पन्न हुन अझै केही वर्ष कुर्नुपर्ने छ ।

तर, आयोजनाको पश्चिम क्षेत्रमा पर्ने स्थानीयले भने यसको लाभ लिन शुरु गरिसकेका छन् । पश्चिमतिरको नहरमा पानी बग्न शुरु भइसकेको छ । जसले १५ हजार हेक्टर खेतियोग्य जमिनमा सिंचाइ गर्न सकिन्छ ।

खेतबारीमा पानी पुगेपछि धान उत्पादन वृद्धि दोब्बर भएको छ । गहुँ, मकै, चना लगायतका बाली उत्पादन पनि राम्रो हुन थालेका छन् ।

दमकलाले पहिला वर्षहरुमा भन्दा धान उत्पादन दोब्बर वृद्धि भएको बताइन । ‘पहिला ४/५ क्विन्टल उत्पादन हुने ठाउँ आयोजनाको पानी पुगेपछि हाल ११/१२ क्वीनटल उत्पादन हुन थालेको छ,’ दमकलाले भनिन् । यसो हुनुमा सिक्टा सिंचाइको महत्वपूर्ण योगदान रहेको दमकलाकोे भनाइ छ ।

अहिले सिक्टा आयोजनाले वर्षमा ३ बाली सम्म लगाउन सकिने भएको छ । सिक्टा सिंचाइले कृषि उत्पादन पनि उल्लेख्य रुपमा बढेको सोनारी गाउपालिका वडा नं ३ का अध्यक्ष गंगाराम थारुको भनाइ छ ।

आयोजना निर्माणाधिन रहेपनि अहिले पश्चिम खण्डमा पर्ने जिल्लाको विभिन्न क्षेत्रमा रहेका १५ हजार हेक्टर खेतियोग्य जमिनमा सिंचाइको पानी पुगिसकेको छ । अन्य क्षेत्रमा उपशाखा र शाखा नहरहरुको निर्माण कार्य चलिरहेको छ । काम सकिए पछि त्यस क्षेत्रमा पनि पानी छाडिने आयोजनाका निर्देशक रामप्रसाद अर्यालले बताए ।

दमकला जस्तै सिक्टा सिचाईले खुसी दिएका स्थानीय हुन प्रेमबहादुर थापा । सिंचाइ सुविधा नभएको ठाउँमा सिक्टा पुगेपछि स्थानीयको जीवनस्तरनै परिवर्तन भएको प्रेमबहादुर थारु बताउँछन् । ‘पहिला अन्न उत्पादन कम हुने र भोकमारी झेल्नु परेका किसानहरु सिक्टाको पानी पुगेपछि दङ्ग भएका छन्,’ थारुले भने ।

पूर्वी मूल नहरमा पनि करिब ५० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । यसले पश्चिम तथा पूर्व गरी करिब ७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ ।

दश वर्षमा सक्ने भनेर सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले निर्माण थालेको १७ वर्ष पुगेको छ । आयोजना सम्पन्न गर्न २०८५/८६ सम्मका लागि म्याद थप गरिएको छ ।

अहिलेसम्म आयोजनामा १७ अर्ब ९ करोड खर्च भएको आयोजनाले बताएको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कुल १६ अर्ब ६९ करोड खर्च भएको महालेखापरीक्षकको अन्ठाउन्नाै‌ वार्षिक प्रतिवेदन २०७८ मा उल्लेख गरिएको छ ।

म्याद थप र बजेट विनियोजन उस्तै
यस आयोजना आव २०६१/६२ मा शुरु भई आव २०७१/७२ मा सम्पन्न हुने लक्ष्य राखिएकोमा सो अवधिमा सम्पन्न हुन नसकेकाले आव २०७६/७७ मा सम्पन्न हुने गरी म्याद थप गरिएको थियो । तर त्यो समयावधिमा पनि आयोजनाको काम सकिएन । फेरि आयोजनाको म्याद २०८६ सम्म पुर्याइएको छ ।

आयोजनाको शुरु वर्ष २०६१/६२ को लागत अनुमान १२ अर्ब ८० करोड रहेकोमा आव २०७१÷०७२ को संशोधित लागत अनुमान २५ अर्ब २ करोड रहेको थियो ।

यस आयोजनाका लागि आव २०७४/७५ मा कूल १२३.७१ करोड विनियोजन गरिएको थियो भने २०७५/७६ मा १४९.४३ करोड विनियोजन भएको छ ।

चालू आर्थिक वर्ष ०७७/७८ मा निर्माण सक्ने पहिलो संशोधित लक्ष्य पूरा नभएपछि पुनः दोस्रोपटक संशोधन गरेर आर्थिक वर्ष २०८४/८५ को नया लक्ष्य तोकिएको छ ।

दोस्रोपटक संशोधन गरिएको लक्ष्यमा काम पूरा भएमा आयोजना सम्पन्न गर्न २५ वर्ष लाग्ने देखिएको छ ।

आयोजनाको समय र लागत दुबै बढ्यो
आयोजनाको समय बढ्दै जाँदा लागत पनि बढ्न थालेको छ ।

आयोजनामा नहर तथा एलाइनमेन्टमा जग्गा विवाद, ठेक्काको न्यून प्रगति, आयोजना तथा सम्बद्ध पदाधिकारीको पटक पटकको फेरबदल लगायतका कारण समयमा प्रगति हासिल हुन नसकि समय र लागत दुवै वृद्धि भएको महालेखापरीक्षकको अन्ठान्नौँ प्रतिवेदन २०७८ मा उल्लेख गरिएको छ ।

आयोजनाको शुरुवात आर्थिक वर्ष २०६१/६२ मा कुल लागत १२ अर्ब ८० करोड अनुमान गरिएको थियो । तर, अहिले करिब दोब्बर २५ अर्ब २ करोड लाग्ने नयाँ संशोधित अनुमान गरिएको छ ।

लागत वृद्धि हुनुमा मुद्रास्फीति, आयोजनाको गुरुयोजनामा गरिएको परिवर्तन नै मुख्य कारण रहेको सिक्टा सिँचाइ आयोजना निर्देशक रामप्रसाद अर्यालले बताए ।

‘आयोजनाको समयावधि बढेर ७–८ वर्ष पुग्नेबित्तिकै मुद्रास्फीतिले लागतलाई दोब्बर पुर्याउँछ, त्यसमा थप कारण विस्तृत आयोजना प्रतिवेदनमा भएको संशोधन पनि हो,’ अर्यालले भने ।

ढिलाइ हुनुमा दक्ष प्राविधिक कर्मचारीको अभाव
काम ढिलाइ हुनुमा दक्ष प्राविधिक कर्मचारीको अभाव मानिएको छ । आयोजनामा राजपत्रांकित दोस्रो श्रेणीका ४ जना अधिकृत हुनुपर्नेमा १ जना मात्र रहेको र १० जना इन्जिनियर हुनुपर्नेमा ५ जना मात्र रहेको आयोजना निर्देशक अर्यालले बताए ।

पूर्ण रूपमा प्राविधिक जनशक्ति र अन्य आवश्यकता पूरा गर्ने हो भने आगामी ३ वर्षमै काम सक्ने आयोजना निर्देशक अर्यालको दाबी छ ।

‘तर, पश्चिम मूल नहरको माटो घुलनशील देखिएको र नहर सञ्चालन गर्दा भत्किने गरेकाले ‘ड्रेनेज’ व्यवस्थापनमा समस्या देखिएकाले ढिलाइ भएको थियो,’ अर्यालले भने, ‘अहिले यो समस्याको समाधान भइरहेकोे छ ।’

आयोजनामा आएका समस्या
आयोजना कार्यालयको प्रतिवेदनअनुसार गुरुयोजनामा संशोधन भइरहँदा निर्माण लागत र समय लम्बिरहेको छ । अर्कोतर्फ प्राविधिक जनशक्तिको कमी देखिएको छ ।

पर्याप्त बजेट विनियोजन नहुँदासमेत समस्या भोग्नुपरेको छ । त्यस्तै, कतिपय अदालतमा गएका विषय टुंगो नलाग्दा पनि आयोजनालाई कठिनाइ भएको छ । त्यस्तै, वर्षाको समयमा नदीजन्य सामग्री निकाल्न नपाउँदा नहर पुरिने र पानीको सतह माथि आउने समस्या कायम रहेको आयोजना निर्देशक अर्यालको भनाइ छ ।

सिक्टा सिँचाइ आयोजना बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ ।

‘वन र निकुञ्ज क्षेत्रभित्र नदीजन्य निर्माण सामग्री आपूर्तिमा बन्देज छ । यसले पनि आयोजनालाई समस्या भइरहेको छ,’ अर्यालले भने ।

निर्देशक अर्यालका अनुसार अन्य आयोजनामा जस्तै स्थानीयले बेला–बेलामा बाटाघाटा ग्राभेल गरिदिनुपर्ने, कल्भर्ट बनाइदिनुपर्ने जस्ता माग राखी अवरोध गर्ने गरेका छन् ।

‘त्यस्ता मागलाई समयमा सम्बोधन गर्न नसक्दा अवरोध भोग्नुपरेको छ,’ अर्यालले भने ।

त्यस्तै, विशेषगरी मुआब्जा वितरण कार्यमा विवाद रहेको छ । आयोजनाको नहर क्षेत्रभित्र पर्ने जग्गा, घरटहरा आदिको मुआब्जा र क्षतिपूर्ति सम्बन्धमा पनि समस्या रहेको अर्यालले बताए  ।

नेपाल सरकारले घोषना गरेको लक डाउनका कारण निर्माण कार्य प्रतक्ष्य रुपमा प्रभावित भएको पनि अर्यालले बताए । साथै, डुन्डु नहरको ठेक्का सम्बन्धी काममा विवाद भै आर्विटेसनमा रहेको र साउदी कोषसंगको अण सम्झौताको अवधि थप भै नआएको नहर संचालनको लागी न्यूनतम मर्मतको काम मात्रै गरिएको अर्यालको भनाइ छ ।

‘बोलपत्र आव्हान गर्नुपर्ने शाखाहरुको मुआव्जा वितरणको कार्य कोरोनाको कारणले अवरुद्ध भएकोले काम बाँकी रहेको छ,’ अर्यालले भने, ‘नदीजन्य निर्माण सामग्री समयमा उपलब्ध गराउन स्थानीय निकायसंग समन्वय गर्ने गरिएको छ ।’

नहर जोखिमयुक्त
यो आयाजनाले निर्माण गरेको नहरमा स्थानीयले जाखिम देखेका छन् । केहि अतिनै जोखिम क्षेत्रमा आयोजनाले नहर छोपेको भए पनि धेरै ठाउँमा त्यस्तो छैन ।

यसका लागि लागत खर्च धेरै लाग्ने भएकाले सबै नहर तत्काल छोप्न नसकिने आयोजनाका निर्देशक अर्यालले बताए । यसले पछि ठूलो समस्या ल्याउने स्थानीयहरुको भनाइ छ ।

स्थानीय प्रेम बहादुर थारुको भनाइअनुसार पानी बहावले बाटोमा पानी जम्ने, खाल्डो हुने, हिलो हुने लगायतका नहर नजिकै भएका बस्ती क्षेत्रमा अन्य केही समस्या आउने बताए ।

‘वर्षाको समय नहरमा बहाव बढ्ने हुन्छ । यसो हुँदा बालबच्चाहरु नहरमा पौडी खेल्न जाने देखिन्छ,’ स्थानीय थारुले भने ।

पौडी खेल्न जाँदा बच्चाहरुको ज्यान जाने वा बगाउने जोखिम रहेको राप्ति सोनारी गाउपालिका वडा नं ३ का अध्यक्ष गंगाराम थारुले बताए ।
खास गरी स्थानीयले वर्षाको समयमा बढी सजक हुनुपर्ने देखिन्छ ।


क्लिकमान्डु