नबिल बैंकले कति देला लाभांश ?



काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म २७ मध्ये १३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । अन्य बैंकले पनि तिहार अगाडि नै लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।अहिलेसम्म धेरै

लाभांश दिनेमा हिमालयन बैंक रहेको छ । लाभांश घोषणा गर्न बाँकी रहेका बैंक र अहिलेसम्म लाभांश घोषणा गरेका बैंक हेर्दा सबैभन्दा बढी लाभांश दिने बैंकमा नबिल नै हुने देखिएको छ ।

सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये नबिलले निरन्तररुपमा आकर्षक लाभांश दिँदै आएको छ ।

बैंकले पछिल्लो १० वर्षमा दिएको लाभांश हेर्ने हो भने ६५ प्रतिशतसम्म दिएको छ । बैंकले आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा ६५/६५ प्रतिशत लाभांश दिएको थियो ।

आव २०६९/७० मा बोनस २५ र नगद ४० प्रतिशत दिएको थियो भने आव २०७०/७१ मा बोनस २० र नगद ४५ प्रतिशत दिएको थियो ।

आर्थिक वर्ष २०६८/६९ मा ६० प्रतिशत लाभांश दिएकोमा बोनस २० र नगद ४० प्रतिशत दिएको थियो । गत आव २०७६/७७ मा ३५.२६ प्रतिशत लाभांश दिएकोमा बोनस ३३.५ र नगद १.७६ प्रतिशत दिएको थियो । बैंकले सबैभन्दा बढी बोनस गत आवमा दिएको हो । यस्तै आव २०६७/६८ मा नगद मात्रै ३० प्रतिशत दिएको थियो ।

लामो समयसम्म नम्बर वान बैंकका रुपमा स्थापित यस बैंकले अबको केही दिनमै लाभांश घोषणा गर्ने तयारी गरेको छ ।

बैंकले राष्ट्र बैंकमा लाभांश स्वीकृतिका लागि पठाइसकेको छ । र, अब स्वीकृत भइसकेपछि बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि लाभांश घोषणा गर्नेछ ।

बैंकले आर्थिक वर्षमा २०७७/७८ को नाफाबाट सेयरधनीलाई कति लाभांश दिन्छ भन्ने धेरैको चासोको विषय बनेको छ ।


राष्ट्र बैंक स्रोतका अनुसार बैंकले ३५ देखि ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा ३५ प्रतिशतभन्दा बढी बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसरी नबिल बैंकका सेयरधीले ३५ प्रतिशतभन्दा बढी लाभांश पाउने देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले ४ अर्ब ६४ करोड ६ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

यो हेर्दा बैंकको लाभांश दिन सक्ने क्षमता २९.९४ प्रतिशत रहेको देखिएको छ । गत आवको चौथो त्रैमासम्ममा बैंकको जगेडा कोष निकै बलियो छ ।

युनाइेड फाइनान्सलाई प्राप्तिगरेपछि बैंकको १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ३ करोड ३१ लाख ७७ हजार रुपैयाँ छ । जगेडा कोष निकै बलियो रहेको बैंकले ३५ देखि ४० प्रतिशतभन्दा लाभांश दिने देखिएको हो ।

प्रकाशित वित्तीय अवस्था हेर्दा फाइनान्सको गत आवको तेस्रो मसान्तसम्म १ अर्ब ४ करोड ८ लाख ३४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको थियो भने जगेडा कोषमा २९ करोड ३६ लाख ३९ हजार रुपैयाँ थियो ।

उक्त अवधिमा फाइनान्सको नाफा भने ८ करोड १६ लाख ५९ हजार रुपैयाँ रहेको थियो । फाइनान्सलाई प्राप्ति गरेपछि कम्पनीको लाभांश दिन सक्ने क्षमता बढेको हो ।

आकर्षक लाभांशको आशाले सेयर बजारमा सकारात्मक प्रभाव
पछिल्लो समयमा सेयर बजारमा निकै उतार चढाव देखिएको छ । बजार उतारचढाव भएपनि नबिल बैंकको सेयर मूल्यमा भने धेरै असर परेको छैन ।

किनभने नेप्सेमा भएको कारोबार विवरणअनुसार वाणिज्य बैंकहरुमध्ये सबैभन्दा उच्च मूल्य भएको नबिल बैंकनै हो । नेप्सेले उच्च विन्दु छोएर करिब ८ अंकले अंकले घट्दा अन्य बैंकहरुको सेयर मूल्यमा गिरावट आयो । तर, नबिल बैंकको सेयर मूल्यमा भने सामान्य उतारचढावमा मात्रै भएको छ । समग्रमा नबिल बैंकको सेयर मूल्य बढ्दो ट्रेन्डमै छ ।

पछिल्ला २ दिनमा नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँभन्दा बढीले बढेको छ । नबिलले आकर्षक लाभांश दिने अपेक्षामा खरिद चाप बढ्दा सेयर मूल्य बढेको हो ।

बिहीबार कारोबार बन्द हुँदा बैंकको प्रतिकित्ता सेयर मूल्य १५ सय ९८ रुपैयाँ छ । पछिल्लो १८० दिनको औसत सेयर मूल्य प्रतिकित्ता १३ सय ८६ रुपैयाँ ६८ पैसा छ ।


क्लिकमान्डु