विश्वव्यापी ऊर्जा संकटबारे युरोपेली देशका उर्जामन्त्रीको बैठक सम्पन्न



एजेन्सी । संसारभर नै ऊर्जाको मूल्य अत्यधिक मात्रामा बढेको छ । त्यसको मारमा विशेष गरी, भारत, चीन, यूरोप र अमेरिकामा परेको छ ।

ऊर्जाको बढ्दो मागकाबीचमा सहज आपूर्ति हुन सकेको छैन । त्यसका पछाडि झण्डै २ वर्षदेखिको कोरोना कहर पनि प्रमुख कारण बनिरहेको छ ।

कोरोनाका कारण सबै आपूर्ति श्रृंखला रोकिँदा त्यसको मार र चाप यतिबेला परिरहेको छ । जानकारहरुका अनुसार विशेष गरी, भारत र चीनमा कोइलाको माग बढेको छ । तर, सो अनुरुप आपूर्ति हुन सकेको छैन । यूरोप पनि त्यस्तै मारमा परेको छ । जर्मनीमा ऊर्जाको मूल्यमा ३६ प्रतिशतको वृद्धि भएको छ भने फ्रान्समा ४६ प्रतिशत मूल्यवृद्धि भएको छ ।

यसै सन्र्दमा युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ । सो बैठकमा उनीहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मूल्यवृद्धिका विषयमा कुराकानी गरेका थिए ।

उनीहरुले हाल विश्वमा उर्जाको मूल्यवृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मूल्यवृद्धि हुन नदिन यसका उपायहरुका बारेमा आवश्यक छलफल गरेको बताइएको छ ।

उनीहरुले सो छलफलका क्रममा जलवायु परिवर्तनसम्बन्धी नीतिहरुको पनि समीक्षा गरेका थिए । साथै विश्वमा जलवायु परिवर्तनको असर कम गर्नका लागि स्वच्छ उर्जाको प्रयोग पनि उर्जाको मूल्यवृद्धि रोक्नका लागि एक उपाय हुन सक्ने विषयमा छलफल गरेका थिए ।

विश्वमा उर्जाको खपत बढिरहेका अवस्थामा वैकल्पिक एवं स्वच्छ उर्जा प्रयोगका सम्भावनाहरुको खोजी गर्नुका साथै जलवायु परिवर्तनको असर के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्महरुका अनुसार बैठकले कुनै ठोस निष्कर्ष भने निकालेको छैन । खास गरी तेल उत्पादक देशहरुको संगठन ओपेकले इन्धन उत्खननमा कोटा प्रणाली कायम गरेका कारण खनिज तेलको मूल्य लगातार बढिरहेको छ ।

जानकारहरुका अनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिव्यारेल १०० अमेरिकी डलरको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य लगातर ओरालो लागेपनि इन्धन उत्खननको कोटा बढाउनेदेखि अन्य काममा भने कुनै पनि शक्ति राष्ट्र लागिपरेका छैनन् । सोही कारण कमजोर अर्थतन्त्र भएका देश सबैभन्दा बढी मारमा परेका छन् ।


क्लिकमान्डु