संसारभर विद्युतीय सवारी साधनको प्रयोगमा आक्रामक हस्तक्षेप, नेपालमा गफै बढी



काठमाडौं । नेपालमा विद्युतीय सवारीको प्रयोगमा खास गरी प्रभावकारी काम नभएपनि संसारभर यसको उपयोगमा रणनीतिक हस्तक्षेप भइरहेको छ ।

एक अध्ययन अनुसार यतिबेला संसारभरका सडकहरुमा १० मिलियनभन्दा बढी विद्युतीय कारहरु गुडिरहेका छन् । यो सन् २०२० को तथ्यांक थियो ।

सन् २०२१ को हालसम्म आइपुग्दा त्यसको संख्या बढेर ११.५० मिलियनको हाराहारीमा पुगेको अनुमान गर्न सकिन्छ ।

बेलायतको स्टकल्याण्डमा हुन लागेको विश्व वातावरण सम्मेलन कोप–२१ काक्रममा विद्युतीय सवारी साधनको प्रयोग र बढवाका बारेमा संसारभर नै चर्चा परिचर्चा भइरहेको छ । तर, नेपालमा भने यसका बारेमा नीतिगत रुपमा खासै काम हुन सकेको छैन ।

मानवजीवनका लागि हानीकारक मानिएको कार्बनडाइअक्साइडका कारण परेको समस्या तथा त्यसले ओजन तहमा पारेको प्रभाव न्यूनीकरणका लागि पनि विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिनुपर्ने माग उठेको छ ।

नेपालका पछिल्ला केही वर्षदेखि मात्रै विद्युतीय सवारी साधनको विषयमा चर्चा शुरु भएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले त विद्युतीय सवारी साधन चढ्न चाहनेको सपनामाथि तातो पानी खन्याइदिएका थिए । उनले करवृद्धि गरेपछि विद्युतीय सवारी साधनको खरिदका लागि तत्पर भएकाहरु समेत हच्किएका थिए ।

सन् २०२० मा मात्रै विद्युतीय कारको दर्ता गर्ने क्रम ४१ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ ।

विश्वव्यापी रुपमा कूल ३ मिलियन विद्युतीय कार बिक्री भएको पाइएको छ । चीन नै खास अर्थमा विद्युतीय कारको खास बजार रहेको छ ।

संसारभरको विवरण हेर्दा ६ लाख वटा विद्युतीय बस र ट्रक दर्ता भएको देखिन्छ । यो संख्या क्रमशः बढ्दै गएको देखिन्छ । ऊर्जाको सहजउपलब्धता हुने बित्तिकै मानिसहरु विद्युतीय सवारीमा आकर्षित हुन सक्छन् र त्यसका लागि सरकारी नीतिमा सहजता र सरलता जरुरी रहेको देखिन्छ ।

संसारभरका प्रमुख २० सवारी साधन उत्पादक कम्पनीले पनि विद्युतीय सवारी सधानको उत्पादनलाई नै जोड दिएका छन् । खनिज तेलमा हुन थालेको अत्याधिक मूल्यवृद्धिका कारण पनि सवारी साधन उत्पादक कम्पनीहरु विद्युतीय सवारी साधन निर्माणमा सक्रिय भएका हुन् ।

प्रमुख २० सवारी साधन उत्पादक कम्पनीले सन् २०२० मा दर्ता गरेको विवरणलाई हेर्ने हो भने ९० प्रतिशत हिस्सा विद्युतीय सवारीको रहेको देखिन्छ ।

खासगरी हल्का तथा मध्यम खालका विद्युतीय सवारी साधन निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । यस्तै, ठूला क्षमताका बस तथा ट्रकहरुको निर्माण तथा उत्पादनमा समेत उनीहरुले ध्यान केन्द्रित गरेको पाइन्छ ।

सन् २०२० को विवरण हेर्ने हो भने उपभोक्ताले विद्युतीय सवारी साधनको खरिदका लागि मात्रै १२० बिलियन डलरले बढोत्तरी गरेको देखिन्छ । यस्तै, संसारभरका सरकारहरुले विद्युतीय सवारी साधनको खरिदका लागि मात्रै १४ बिलियन डलर बराबर खर्च गरेका छन् ।

सन् २०१९ को तुलनामा विद्युतीय कारको खरिददर दर समेत २५ प्रतिशतले वृद्धि भएको पाइएको थियो । खासगरी रणनीतिक रुपमा यूरोपेली देशहरुले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिएका छन् ।

विद्युतीय सवारी साधनको बढावाका लागि गरिएको प्रयास र नीतिगत व्यवस्था बाँकी विश्वका लागि समेत उदाहरणीय बन्न सक्छ ।

सन् २०२१ को विवरण हेर्ने हो भने विश्वव्यापी रुपमा विद्युतीय सवारीका लागि झनै सुखद दिनहरु शुरु भएको देख्न सकिन्छ । सन् २०२१ को पहिलो त्रैमासको विवरण हेर्ने हो भने विद्युतीय कारको विक्रीमा मात्रै १४० प्रतिशतले वृद्धि भएको देख्न सकिन्छ ।

चीनमा मात्रै ५ लाख विद्युतीय कार सो अवधिमा बिक्री भएको थियो । यस्तै यूरोपमा ४ लाख ५० हजार बिक्री भएको विवरण छ । अमेरिकामा पनि उल्लेख्य रुपमा विद्युतीय सवारीको प्रयोग बढेको छ । तर अध्ययनमा अमेरिकामा के कति मात्रामा विद्युतीय कार बिक्री भयो भनेर उल्लेख गरिएको छैन ।

सन् २०३० सम्म संसारभर नै कूल सवारी साधनमध्ये ७ प्रतिशत बराबरको हिस्सा विद्युतीय सवारी साधनको पुग्ने अनुमान गरिएको छ । सबै प्रकारका विद्युतीय सवारी साधन करिब १४५ मिलियन पुग्ने अनुमान छ ।

तेल उत्पादक देशहरुको संगठन (ओपेक)ले खनिज तेल उत्खनन्मा कोटा कायम गरेपछि संसारभर नै मूल्यमा चाप परेको छ । सोही कारण पनि विद्युतीय सवारी साधनको प्रयोग र बढवा अझै हुने सहजै प्रक्षेपण गर्न सकिन्छ ।

चीनमा सन् २०१४ मा मात्रै २ लाखले विद्युतीय सवारी साधन प्रयोग गर्ने गरेकामा सन् २०२० मा पुग्दा ५.४ मिलियन पुगेको छ । यस्तै, यूरोपमा ३.३ मिलियन, अमेरिकामा १.८ मिलियन पुगेको छ ।

त्यस्तै, चीनमा साना तथा मझौला सवारी साधनको प्रयोगकर्ता १०.२ मिलियन बराबर पुगेको छ । अमेरिकामा मात्रै ०.६ मिलियनले विद्युतीय सवारीको प्रयोग गरिरहेको देखिन्छ ।

व्यवसायीक सवारी साधनको हकमा हेर्दा चीनमा उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ ।

भारतको हकमा हेर्दा सन् २०२१ को विवरण अनुसार १ लाख ४३ हजार ८३७ वटा दुई पांग्रे सवारी साधन बिक्री भएको छ । यस्तै, ८८ हजार ३७८ वटा तीन पांग्रे र ५ हजार ९०५ वटा विद्युतीय कार बिक्री भएको छ ।

भारतको विद्युतीय सवारी साधन उत्पादकहरुको संस्था एसएमइभीका अनुसार कोरोनाका कारण सन् २०२० को तुलनामा सन् २०२१ को हालसम्म विद्युतीय सवारी साधनको बिक्रीमा १४ प्रतिशतको गिरावट आएको छ । कूल रुपमा सन् २०२१ को हालसम्म २ लाख ३८ हजार १२० वटा विद्युतीय सवारी साधन बिक्री भएको छ ।

सन् २०२० मा कूल २ लाख ९५ हजार ४९७ वटा विद्युतीय सवारी साधन विक्री भएका थिए । १ लाख ३ हजार बराबरको दुई पांग्रे सवारी साधन भने उपभोक्ताले यस वर्ष बुक गरेका छन् । यस्तै ४० हजार ८३६ वटा उच्च गतिका कारहरु समेत बुक भएका छन् ।

भारतमा विशेषगरी, टाटाको नेक्सन इभी मात्रै ३ हजार ८०५ वटा बिक्री भएको छ । यस्तै, एमजी, जेएस पनि १ हजार ४९९ वटा बिक्री भएका छन् । भारतमा हालसम्म १३०० वटा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण भइसकेका छन् । भारतमा रणनीतिक रुपमा नै चार्जिङ स्टेशनहरु निर्माण भइरहेका छन् ।

विद्युतीय सवारी साधन उत्पादक कम्पनी टेस्ला यसैको आडमा चौथो धनी बन्न पुगेको छ । सेयर मूल्यमा भएको वृद्धिका कारण टेस्ला १० खर्ब डलर बराबरको बजार पूँजीकरण भएको कम्पनी भएको छ ।

रेन्टल कार कम्पनी हर्जले २०२२ को अन्त्यसम्म भाडामा चलाउने गरी १ लाख विद्युतीय सवारी साधन अर्डर गर्ने समाचार सार्वजनिक भएपनि टेस्लाको बजार मूल्य १० खर्ब डलरमाथि पुगेको हो ।

एक विवरण अनुसार सन् २०२१ को ८ महिनामा चीनमा १.७९ मिलियन विद्युतीय सवारी साधन खरिद गरेको देखिन्छ । संसारभरको विवरण हेर्दा कूल ४४ प्रतिशत विद्युतीय सवारी साधनको हिस्सा चीनले नै ओगटेको छ । चिनियाँ विद्युतीय सवारी साधन संसारभर नै फैलिइरहेको छ ।

तर, नेपालमा भने विद्युतीय सवारी साधनको प्रयोगको विषय भाषणका लागि मात्रै योग्य हुने गरेको छ । यसको खास प्रयोगका सन्दर्भमा कुनै पनि सकारात्मक प्रयास हुन सकेको छैन ।


क्लिकमान्डु