शोधानान्तर ८३ अर्ब ४१ करोडले घाटामा, रेमिटेन्स ६.३ प्रतिशतले घट्यो
काठमाडौं । उच्च आयातको कारण शोधानान्तर घाटा ८३ अर्ब ४१ करोडमा पुगेको छ । देशमा भित्रने भन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटामा गएको हो । जसले बैंकिङ प्रणालीमा पैसाको अभाव गराएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २ महिनाको आर्थिक स्थितीको तथ्यांक अनुसार
शोधानान्नर ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको छ ।
भदौ मसान्तसम्ममा ३ खर्ब १४ अर्ब रुपैयाँको आयात भएको छ । निर्यात भने ४४ अर्ब ४ करोड रुपैयाँको भएको छ । २ महिनाको शोधानान्तर घाटा हेर्दा अहिले १ खर्बभन्दा बढीको शोधानान्तर घाटा भएको देखिएको छ । असोज मसान्तसम्म ४ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ । सो आधारमा हेर्दा शोधानान्तर तत्काल सुधार हुने देखिएको छैन ।
उच्च आयात तथा रेमिटेन्स घटेको कारण शोधानान्तर घाटा बढेको हो । २ महिना अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले कमी आई .१५५ अर्ब ३७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विपे्रषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८,४९२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२,९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।
२०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा रु.१३०६ अर्ब ९५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बंैकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब
६३ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ७.७ प्रतिशतले कमी आई रु.११४८ अर्ब ६९ करोड कायम
भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ भदौ मसान्तमा २.५ प्रतिशतले वृद्धि भई रु.१५८ अर्ब २७ करोड पुगेको छ ।
२०७८ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७८÷७९ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.६ प्रतिशत, ६४.७ प्रतिशत र २५.३ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थियो ।