जग्गा कारोबारमा ‘हटस्पट’ बन्दै झापा



काठमाडौं । कोभिड-१९ ले देशभर घरजग्गा कारोबार उच्च भएको छ । देशभर उच्च कारोबारसँगै मूल्य पनि वर्षदिनमै जग्गाको मूल्य ५० प्रतिशत बढीले बढेको छ ।

कोभिडअघि सामान्यरुपमा कारोबार हुँदै आएकोमा कोभिडपछि भने अधिकांश व्यवसायीहरूले जग्गामा लगानी गरेको पाइन्छ । कोभिडको समयमा अधिकांश उद्योग तथा व्यवसाय बन्द भएपछि आफ्नो लगानी सुनिश्चित गर्न र सुरक्षित राख्नको लागि जग्गामा लगानी गरेको जग्गा व्यवसायीहरू बताउँछन् ।

कोभिडकै समय भएपनि देशभरका मालपोत कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार सबैमा कारोबार बढेको देखाउँदछ । त्यस्तै, पछिल्लो समय कारोबारको संख्या हेर्दा झापा जग्गाको कारोबारको ‘हटस्पट’ बनेको छ ।

विगतको दिनमा सामान्यरुपमा कारोबार हुँदै आएको झापामा कोभिडपश्चात झन् बढी कारोबार हुन थालेको दमक झापाका मालपोत कार्यालय प्रमुख तारानाथ दंगाल बताउँछन् ।

उनकाअनुसार कोभिडकै समयमा झन् बढी कारोबार हुँदा राजश्व पनि बढी नै उठेको छ । जग्गा कारोबारमा ‘हटपस्ट’ बन्दै गरेको झापामा आर्थिक वर्ष २०७७/७८ मा मात्रै ३५ हजार २१ घरजग्गाको लिखित पारित भएको छ । जुन हालसम्मकै उच्च हो । जसमा मालपोत कार्यालय भद्रपुर झापाबाट ६८ हजार ८ सय ४७ सेवा प्रवाह गर्दा २२ हजार ८ सय ५६ लिखित पारित भएको छ ।

साथै, २२ हजार २७१ रोक्का र १६ हजार २६६ फुकुवा भएको भूमि व्यवस्थापन तथा अभिलेअ विभागले जनाएको छ ।

त्यस्तै, मालपोत कार्यालय दमक झापाबाट ३३ हजार ६४२ सेवा प्रवाह हुँदा १२ हजार १६५ घरजग्गाको लिखित पारित भएको छ । साथै, करिब ११ हजारमा रोक्का र ७ हजार १५ घरजग्गाको फुकुवा भएको छ ।

सामान्य अवस्थामा १५ हजारभन्दा बढी घरजग्गा कारोबार नहुने क्षेत्रमा २२ हजार कारोबार हुनु भनेको उच्च रहेको दमक झापा कार्यालय प्रमुख दंगालले जानकारी दिए ।

उनकाअनुसार दमकमा कारोबार बढ्नुको मुख्य कारण आयोजना केन्द्रित रहेको छ ।

‘दमकमा माईदेखि पश्चिमतर्फ कार्यक्षेत्र पर्दछ । त्यसमा दमक क्षेत्रमा बढी कारोबार भएको छ,’ दंगालले क्लिकमान्डूसँग भने, ‘धेरै आयोजना केन्द्रित हुँदा जग्गाको कारोबारसँगै मूल्य बढेको छ ।’

पछिल्लो समय दमकमा भ्यू टावर, विश्वकै सबैभन्दा अग्लो बुद्धको मुर्ति निर्माण गर्ने र दमकमै रंगलशाला ल्याउने भएको आयोजना हुँदा त्यो वरिपरीका जग्गाको उच्च कारोबार भएको उनले बताए ।

त्यसैगरी, भद्रपुर झापाका कार्यालय प्रमुख योगेन्द्र प्रसाद दुलालले पछिल्लो समय जग्गाको कारोबार उच्च रुपमा बढ्दै गएको बताए । उनकाअनुसार कोभिडको समयमा अन्य व्यवसाय चलायमान नहुँदा लगानी सुनिश्चित गर्नको लागि जग्गामा लगानी गरेको देखिन्छ ।

त्यसैले, झापामा विभिन्न व्यवसायी तथा विदेशमा कमाएको व्यक्तिहरूले झापाको आयोजना केन्द्रित जग्गामा लगानी गर्दा कारोबार बढेको उनले बताए ।

दुलालले आयोजनाले पनि धेरै प्रभाव परेको र पहाडका मानिसहरू तराई झर्ने प्रवृत्ति हुँदा झापामा जग्गा कारोबार उच्च भएको बताए । त्यसमा पनि अधिकांश व्यक्तिहरू विदेशमा कमाएर जग्गामा लगानी गर्ने रहेको उनको भनाई छ ।

चालु आर्थिक वर्ष असोजको तथ्याङ्कअनुसार पनि झापाका दुइमालपोत कार्यालयबाट ३४ सय ९४ घरजग्गाको लिखित पारित भएको छ । झापामा जग्गाको कारोबार उच्च हुन थालेसँगै मूल्य पनि उच्च रुपमा बढेको कार्यालय प्रमुखहरूले बताएका छन् ।


क्लिकमान्डु