बाढी पहिरोको मारमा अधिकांश जलविद्युत् आयोजना



काठमाडौं । गत असारको पहिलो दिन नै देशभर परेको अविरल बर्षाका काुरण जनधनको ठूलो क्षति भयो । त्यसमा ऊर्जा सम्वद्ध आयोजना पनि उत्तिकै प्रभावित भए ।

नेपाल विद्युत् प्राधिकरणका आयोजना समस्यामा नपरेको भएपनि निजी क्षेत्रका आयोजना नराम्ररी प्रभावित भए । प्रणालीबाट झण्डै ५०० मेगावाट बिजुली बिच्छेद भयो ।

विशेष गरी दोर्दी करिडोरका आयोजना सबैभन्दा बढी मारमा परेका थिए । यस्तै कास्कीमा निर्माण सम्पन्न हुन लागेको सुपर मादी खोला जलविद्युत् आयोजना नराम्ररी समस्यामा पर्यो ।

झण्डै १ अर्ब बराबरको उपकरण समेत बाढीले बगाएको सो आयोजनाका प्रमुख समेत रहेका पुष्पज्योति ढ्ंगानाले जानकारी दिएका थिए । सो आयोजना अझै राम्रोसँग तंग्रिन सकेको छैन ।

बाढी पहिरो नेपालको हरेक वर्षको रोग जस्तै बनेको छ । बेमौसमा पर्ने मुसलधारे पानीका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । त्यसको मारमा झण्डै दर्जन बढी आयोजना समस्यामा परे । स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था इपानलले गत असारको बाढीका कारण दर्जन बढी आयोजना समस्यामा परेको जनाएको छ । विद्युत् विकास विभागको विवरणमा समेत यस्तै तथ्यांक देख्न सकिन्छ ।

यस्तै मनसुन बाहिरिएको भनेर समाचार आएको ७ दिन पनि नपुग्दै पुन यसै साता देशभर ठूलो वर्षा भयो । वर्षाका कारण ७० बढी नागरिकले अकालमा ज्यान गुमाए । विवरण अझै आउन बाँकी नै छ ।

बाढी पहिरोका कारण पूर्वाञ्चलको बिजुली प्रणालीमा ठूलो क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा पर्यो । सो सवस्टेशन निर्माणको अन्तिम चरणमा रहेको छ ।

सो सबस्टेसनको कम्पाउण्डवाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरु डुवेका छन् । बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवनसमेत डुवानमा परेको प्राधिकरणले जनाएको छ ।

कूल ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै, ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुवानमा परेकाले उपकरणहरुमा क्षति पुगेको छ ।

वर्षाका कारण प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुवान पर्यो । मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द हुँदा ठूलो आर्थिक नोक्सानी भएको छ ।

बाढीका कारण समस्यामा परेको सवस्टेशनको मर्मत सम्भार गरेर केही स्थानमा बिजुली पुन पठाइएको छ । सबै स्थानमा बिजुली उपलब्ध गराउन अझै जटिलता रहेको छ ।

दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको थियो । त्यसबाट करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको थियो ।

वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको थियो । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ । सुदूरपश्चिमका डडेल्धुरा, वैतडी, बझाङ, अछामलगायतका पहाडी जिल्लाको विद्युत आपूर्तिसमेत बन्द भएको थियो ।

वर्षाको मार अन्य क्षेत्रमा परेपनि सबैभन्दा ठूलो मार भने जलविद्युत् आयोजनामा परेको उद्यमीहरुको भनाइ छ । खोला नै हुने संरचनामा समस्या आउँदा जटिलता पैदा भएको उनीहरुको भनाइ छ । असाध्यै ठूलो बर्षाका कारण प्रणालीमा समेत समस्या देखिएको छ ।

प्राधिकरणका अनुसार प्रणालीमा अझै केही स्थानमा समस्या रहेको छ । बाढी पहिरो र वर्षाका कारण बुधबार राति ९.३० देखि १०.०० बजेसम्म राजधानी काठमाडौंलगायत देशका केही स्थानमा बिजुली प्रवाहमा अवरोध देखिएको थियो ।


क्लिकमान्डु