बैंकिङ प्रणालीको तरलताले सेयर बजारमा कस्तो प्रभाव पार्छ ?
वित्तीय संस्थाहरुसँग लगानीयोग्य नगद उपलब्धताको अवस्था नै तरलता हो । यो व्यक्ति वा सरकारको हकमा पनि लागू हुन्छ । यसको अर्थ व्यक्ति तथा सरकारको खर्चको अवस्थाको आधारमा पनि तरलताको अवस्था तल वा माथि हुन सक्छ । केही समय अघि राजनीतिक कारणले गर्दा सरकारको ढुकुटी केही समयका लागि बन्द भएर सरकार खर्च गर्न नसक्ने स्थिती थियो (गभर्नमेन्ट सट डाउन) तरलताको अभाव हुने स्थितीको यो एउटा गतिलो उदारहण हुन सक्छ ।
रोजगारी सृजना गर्ने उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ, मेसिनरी आदि भन्दा इतरका दैनिक उपभोग्य वस्तुहरुमा विदेशी मुद्राको बढी प्रयोग सहज तरलताको लागि धेरै घातक हुन्छ।
विप्रेषणमार्फत् भित्रिएको विदेशी मुद्रा क्षय हुँदै जानु अर्थतन्त्रको लागि नकारात्मक असर पर्ने हुन्छ। अत्यधिक वर्षाको कारण यस वर्ष कृषि पैदावारमा ह्रास आउने प्रष्ट देखिन्छ। फलस्वरूप यसले आयत बढ्ने छ। तर यस विषयलाई भाषण इतर संम्बोधन गर्न खोजेको देखिन्दैन।
जसको प्रत्यक्ष प्रभाव तरलतामा पर्छ, र तरलताको कमीको कारण सेयर बजारमा। सायद अर्थतन्त्रमा भोलिका दिनमा धेरै ठूलो जोखिम पर्न सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाको ब्याजदर भन्दा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने भएको छ, जुन स्वागत योग्य कदम हो।
वित्तीय संस्थाहरुले आ–आफ्नो कुल निक्षेपको ३ प्रतिशत रकम सीआरआर (क्यास रिजर्भ रेसियो) वापत अनिवार्य नगद मौज्दात राख्नुपर्ने हुन्छ । जसको हरेक दिन गणना गरेर हिसाब मिलान गर्नुपर्छ । त्यसपछि बाँकी रहेको रकममा मात्र वित्तीय संस्थाले व्यापार बिस्तार गर्न पाउँछ ।
फलस्वरुप दैनिक रुपमा सीआरआरको जिम्मेवारी पूरा गर्न बैंकलाई थप नगदको आवश्यकता पर्छ । त्यसलाइए पूरा गर्न वित्तीय संस्थाहरुले मुद्दतिको ब्याज बढाएर निक्षेपकर्तालाई आकर्षित गर्छन् । अहिलेको अवस्था यही हो । बजारमा तरलताको अभाव हुँदा सेयर बजारको कारोबार संकुचित हुनु स्वभाविक हो ।
तसर्थ बजार घट्नु स्वभाविक नै देखिन्छ । वित्तीय संस्थाहरुबीच लगानीको होडका कारण तथा सेयर कारोबारलगायतका जोखिमयुक्त क्षेत्रमा लगानी बढेको कारण पनि यो अवस्था आएको भन्दा वित्तीय रुपमा अन्यथा नहोला ।
तरलता अत्यधिक हुनु भनेको अर्थतन्त्रको हिसाबले सधै सकारात्मक हुँदैन । तसर्थ तरलता सन्तुलित मात्रमा हुनु नै आर्थिक विकासको पहिलो शर्त हो । अत्यधिक तरलताको अवस्था आउनु भनेको लगानी तथा रोजगारीको हिसाबले प्रतिउत्पादक हुन्छ ।
तर, हालको अवस्था भनेको तरलताको अभाव हो, जसको मुख्य कारण बैंकहरुको अदुरदर्शीता नै हो । सेयर कर्जामा बैंकको होड, सेयर कारोबार गर्न प्रायः सबैजसो बैंकहरुको आ–आफ्नै सहायक कम्पनी हुनु र यसको अनुमति बैंक भन्ने ‘थर’ झुण्डिने वित्तिकै सबैलाई आँखा बन्द गरेर लाइसेन्स दिनु, त्यस्तै म्यूचुअल फण्डको नाममा सेयर बजारमा संस्थागत खेलाडीहरु थप्दै जानु प्रमुख कारण हो ।
नेपालका बैंकहरु बंगलादेशका गार्मेन्ट कम्पनी जस्ता भए । विश्व बजारबाट आफ्नो क्षमताभन्दा धेरै जति पनि अर्डर लिने तर पूरा गर्न नसक्ने अवस्थामा बाल मजदुर (बाल मजदुरलाई यहाँ प्रतिकात्मक रुपमा आलाकाँचो नीति लिने भन्ने रुपमा प्रयोग गर्न खोजिएको हो) प्रयोग गनेर अर्डर पूरा गर्ने र आरोप पनि खेप्दै जाने । त्यस्तै नेपाली बैंक पनि दीर्घकालीन बचतलाई लगानीयोग्य योजनामा परिचालन गर्ने नीति नबनाउने जुन बेला चाहिन्छ त्यही बेला ब्याज बढाउने । हुन त यस्तो छुट केन्द्रीय बैंकले नै दिएको छ क्यारे । सेयर बजारमा बैंकहरुको आकर्षण देख्दा उदेक लाग्छ । नेपाली बैंकहरुले सेयर बजारमा गरेको लगानीलाई सुरक्षित मान्नुले यसको जोखिमको तहको मूल्यांकन गर्न सकिन्छ ।
सायद यही असुरक्षालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयरधितो कर्जाको सीमा प्रतिव्यक्ति प्रतिबैंक ४ करोड र कुल संस्था प्रतिव्यक्ति १२ करोडको सीमा हालै तोकेको छ । सायद तरलताको अवस्थालाई ध्यानमा राखेर गरेको निर्णय हुनुपर्छ । तथापि बैंक तथा वित्तीय संस्थाहरुले सेयर कारोबार गर्न भनेर ऋण दिने भन्ने अवधारणा नै गलत हो ।
यसले बैंक तथा वित्तीय संस्थाको तरलताको अवस्थालाई सधै जोखिममा पार्छ । यसको सट्टा मार्जिन ट्रेडिङको अवधारणाको शुरुवात गर्न आवश्यक गृहकार्य गर्नुपर्यो । धितोमा राखेको सेयरबाट लिएको ऋणबाट पुनः सेयर किन्ने र यो प्रक्रिया लगातार दोहोर्याउने कुराको अन्त्य गर्न पनि मार्जिन ट्रेडिङको पूर्ण लागू हुनु आवश्यक छ । यसले निश्चित व्यक्ति वा संस्थाले मात्रै सेयर धितोको प्रयोग गर्ने अवसर पायो भन्ने गुनासोको पनि सम्बोधन हुन्छ । फलस्वरुप बैंकहरुको तरलतामा समस्या आउने एउटा कारकको पनि अन्त्य हुन्छ । यो सँगै रोजगारी सिर्जना हुने अन्य उद्योग तथा व्यवसायमा बैंकको ऋण केन्द्रित हुन पाउँछ ।
उत्तोलकको अवधारणा अनुरुप मार्जिन ट्रेडिङले कार्य सम्पादन गर्ने हुँदा तरलताको लयलाई यसले बिग्रन दिँदैन । सेयर बजारमा उभार ल्याउन मार्जिन ट्रेडिङको माध्यमबाट लगानीकर्ताले न्यून पुँजीबाट धेरै ठूलो लगानीको अवसर प्राप्त गर्न सक्छन् ।
जसका कारण सेयर बजारको कारोबार रकम र संख्या दुबैको वृद्धि गर्न सहयोग पुर्याउँछ । तर यसको प्रयोग भविष्यमा आवश्यक परेको बेलामा मार्जिन कल (थप पुँजी) व्यवस्था गर्न नसक्ने लगानीकर्ताहरुले प्रयोग नगर्नु राम्रो हुन्छ । यसले बैंक तथा वित्तीय संस्थाहरुको जोखिमलाई धेरै हदसम्म न्यून गर्न सहयोग गर्छ ।
अर्थतन्त्रमा आर्थिक क्रियाकलाप बढ्दा तरलताको माग बढी हुन्छ । यो कुरा सिद्दान्तः सही हो । तर अहिलेको अवस्थामा यही भनेर पूर्णरुपले आश्वस्त हुने स्थिती छैन । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको लगानी अत्यधिक वृद्धि भएर यस्तो अवस्था आएको हो वा होइन यसको प्रष्ट उत्तर खोज्नुपर्छ । अन्यथा सधै यसै विषयको दुहाही दिँदै सेयर बजारमा खेल्न चाहनेहरु खेलिरहनेछन् ।
वैश्विक महामारीका बीच उपभोक्ता आत्मविश्वास र व्यवसाय बिस्तार भएको देखिन्छ, फलस्वरुप तरलताको अभाव भएको आँकलन गर्न सकिन्छ । जसले गर्दा निक्षेपको ब्याज बढेको र कर्जाको माग बिस्तारै घटेर तरलता सुधार हुन्छ भनेर ढुक्क हुने स्थिती अर्थतन्त्र र सेयर बजार दुबैका लागि प्रतिउत्पादक हुन्छ ।
रोजगारी सृजना गर्ने उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ, मेसिनरी आदि भन्दा इतरका दैनिक उपभोग्य वस्तुहरुमा विदेशी मुद्राको बढी प्रयोग सहज तरलताको लागि धेरै घातक हुन्छ। विप्रेषण मार्फत भित्रिएको विदेशी मुद्रा क्षय हुँदै जानु अर्थतन्त्रको लागि नकारात्मक असर पर्ने हुन्छ। अत्याधिक वर्षाको कारण यस वर्ष कृषि पैदावारमा ह्रास आउने प्रष्ट देखिन्छ। फलस्वरूप यसले आयत बढ्ने छ। तर यस विषयलाई भाषण इतर संम्बोधन गर्न खोजेको देखिन्दैन। जसको प्रत्यक्ष प्रभाव तरलतामा पर्छ, र तरलताको कमीको कारण सेयर बजारमा। सायद अर्थतन्त्रमा भोलिका दिनमा धेरै ठूलो जोखिम पर्न सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाको ब्याजदर भन्दा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने भएको छ, जुन स्वागत योग्य कदम हो।
हिजोआज सेयर बजारलाई दिगो आम्दानीको स्रोतका रुपमा रोजगारीको नयाँ आवसरको रुपमा लिने परिपाटीको विकास भएको देखिन्छ । तर यो धेरै घातक हुन्छ भनेर बुझ्न जरुरी छ ।
अचेल मानिसहरु सेयर बजारलाई राम्रो व्यवसाय वा रोजगारीको अवसरका रुपमा लिन थालेको देखिन्छ । आफूसँग भएको प्रयोज्य आय मात्र होइन मासिक आय पनि सेयर बजारमा लगाउनु, व्यवसाय गरे बराबरको रुपमा लिन थालेको देखिन्छ । तर, यो अनुत्पादक सोच हो भन्दा गलन नहोइएला । हिजोआज हाम्रोमा दशैं तिहारको दक्षिणादेखि पेन्सन र उपदानको नगदसम्म सेयर बजारमा लगाउने होड चलेको छ ।
तर सेयर बजारमा हरेक पल र क्षणक्षणमा जोखिम छ र यो सँधै रहन्छ भन्ने विषयलाई आत्मसाथ गरौं । र, आ–आफ्नो जोखिम बहन क्षमताका आधारमा कारोबार गरौं ।