जर्सिङपौवामा १३ करोड लगानीमा रिसोर्टसहित जीपलाइन बन्दै



काठमाडौं । काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा रिसोर्टको सेवासँगै विश्वकै लामो जीपलाइन बन्ने भएको छ । उपत्यकाबासीलाई लक्षित गरी जर्सिङपौवा रिसोर्ट र जर्सिपौवा जीपलाइनको निर्माण गर्ने भएको हो ।

पछिल्लो समय उपत्यका वरिपरिका क्षेत्रमा विभिन्न सेवा सुविधाका जीपलाइन र घुम्नलायक स्थानको विकास गर्दै आएका छन् ।

उपत्यकाबासीलाई एक दिनको रिफ्रेसमेन्टका लागि धुलिखेल, गोदावरीलगायत अन्य स्थानमा जीपलाइन निर्माण शुरु गरिएको कम्पनीको भनाइ छ ।

हालसम्म विश्वकै सबैभन्दा अग्लो र लामो जीपलाइन पोखरामा छ । उक्त जीपलाइन १८ सय ५० मिटरको लामो रहेको छ । हालसम्म अग्लो र लामो जीपलाइनपछि पार्दै जर्सिपौवा जीपलाइन प्रालिले रिसोर्टको व्यवस्थासँगै हालसम्मकै लामो जिपलाइन बनाउने भएको छ ।

कम्पनीले जर्सिङपौवामा मणिचुटदेखि जर्सिपौवासम्म २ हजार ८ सय मिटर लामो जिपलाइन हुनेछ । कम्पनीले उक्त निर्माण कार्य आगामी ६ महिनामा सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

काठमाडौंबाट १९ किलोमिटरको दुरीमा रहेको उक्त क्षेत्रमा कम्पनीले विभिन्न सेवा सुविधाको साथ जीपलाइन निर्माण गर्ने तयारी गरेको हो ।
ओम क्वालिटी एण्ड फाइबर ग्रिल मेटल कम्पनीले निर्माण कार्यको जिम्मा पाएको उक्त जीपलाइन नेपालको हालसम्मकै लामो बन्ने भएको जर्सिङपौवा रिसोर्टका अध्यक्ष नविन हुमागाईंले जानकारी दिए ।

करिब दुई वर्षदेखि जर्सिपौवामा रिसार्ट बनाउँदै आएको सोही व्यवसायीहरूको संयुक्त लगानीमा जीपलाइन आउने भएको हो । कम्पनीले बिहीबार मात्रै निर्माण कार्य अगाडि बढाउनको लागि जीपलाइनको उद्घाटन गरेको छ ।

हाल शंखरापुर नगरपालिकाकाको मणिचुटमा बन्दै गरेको रिसोर्टमा ५ करोड लगानीमा बनिरहेको छ । उक्त रिसोर्टको ८० प्रतिशत कार्य सम्पन्न भएको अर्यालले बताए ।

कम्पनीले रिसोर्टमा बगैँचा, बालबालिकाको लागि खेल्ने ठाउँ, सौनाको सुविधा, मिनी जिमखाना, ब्याडमिन्टन र खुल्ला स्थानको व्यवास्था रहेको छ । साथै, कम्पनीले २६ वटा कोठासहित कन्फरेन्स हल र भ्यू टावरसहित रिसोर्टको निर्माण गरिरहेको छ ।

कम्पनीले उक्त रिसोर्ट र जर्सिङपौवा जिलाइनको एकैपटक उद्घाटन गरी सञ्चालन ल्याउने भएको छ ।

जिपलाइनले मणिचुट धार्मिक र जर्सिङपौवा रमणिय क्षेत्र भएकाले धार्मिक र अन्य पर्यटकलाई जोड्न सघाउ पुर्याउने उनको भनाइ छ ।

जिपलाइन सञ्चालनमा आएमा जर्सिङपौवा क्षेत्रको आर्थिक र व्यवसायिक पक्षले स्तरन्नती हुने उनको अपेक्षा छ ।

‘हालसम्म जर्सिङपौवा क्षेत्रमा सडकलगायत विभिन्न विकास पूर्वाधारको विकास हुन सकेको छैन,’ उनले भने, ‘आगामी दिनमा नगरपालिकाको सहयोगको सो क्षेत्रलाई विकास गर्नको लागि कम्पनीले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको हो ।’

यो जीपलाइनले यस क्षेत्रका नागरिकको आर्थिक स्थितिमा समेत सुधार आउने उनको विश्वास छ ।

‘जीपलाइन पछिल्लो समय पर्यटकलाई आकर्षण गर्ने प्रमुख माध्यम भएपनि उपकरणलगायत दक्ष जनशक्तिको भने अभाव रहेको छ ।

सियाकै लामो जीपलाइन बनाउनु आफैमा चुनौतिपूर्ण रहेको छ । तर, कम्पनीले विभिन्न क्षेत्रसँग समन्वय गरेर उपयुक्त ढङ्गबाट सञ्चालनमा ल्याउनेछ,’ उनले भने ।

जर्सिङपौवा उपत्यकाबासीका लागि विगतको दिनमा उपयुक्त पिकनिक स्पट थियो । तर, सडकलगायत विविध समस्याले गर्दा अहिले जर्सिङपौवामा मानिस जानेको क्रम घट्दो रहेको छ । हालसम्म उक्त क्षेत्रमा होटल र चिया पसल समेत भेट्न मुस्किल छ ।

‘२०७२ सालको भुकम्पपश्चात सडकको कारणले जर्सिपौवामा मानिसहरू जान छोडेका छन्,’ उनले भने, ‘त्यहाँका नगरपालिकाले पनि सो स्थानमा जाने सडकको विकास गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैले आगामी दिनमा पर्यटन गन्तव्य बन्ने हामीले विश्वास लिएका छौं ।’


क्लिकमान्डु