प्राधिकरणको प्रणालीमा ह्वात्तै बढ्यो बिजुलीको माग, पिक आवरमा १७२६ मेगावाट



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक्कासी बिजुलीको माग बढेको छ । सामान्यता १ हजार ४५० मेगावाटको हाराहारीमा रहने बिजुलीको माग पछिल्लो दिनमा ह्वात्तै बढेको छ ।

कोरोनाको कहरपछि उद्योग धन्दाको सञ्चालनमा आएको तिव्रता तथा घरायसी प्रयोगमा समेत आएको बढावाका कारण बिजुलीको माग बढेको हो । यस्तै, प्राधिकरणले भारत निकासी हुने बिजुलीको मात्रामा समेत वृद्धि गरेको छ ।

प्राधिकरणका अनुसार हाल १ हजार ७२६ मेगावाट पुगेको छ । प्रणालीमा बिजुलीको माग बढेको भएपनि अझै २०० मेगावाटको हाराहारीमा बिजुली खेर गइरहेको छ । प्राधिकरणको प्रणालीमा हाल २ हजार मेगावाट बिजुली उपलब्ध छ ।

प्राधिकरणले हाल भारतमा निर्यात हुने बिजुलीको मात्रा बढाएको छ । भारतले निर्यातका लागि स्वीकृति नदिएको भएपनि निर्यातको मात्रामा वृद्धि भएको छ । प्रणालीमा कुनै पनि प्रकारको अवरोध देखिएको छैन ।

प्राधिकरणका आयोजनाबाट मात्रै ११ हजार १८१ मेगावाट घण्टा बिजुली उत्पादन भएको छ । यस्तै, प्राधिकरणका सहायक कम्पनी मार्फत ९ हजार ९२९ मेगावाट घण्टा बिजुली उपलब्ध छ । निजी क्षेत्रका आयोजनाबाट कूल १३ हजार २४८ मेगावाट घण्टा बिजुली उपलब्ध ।

यस्तै, भारतबाट १७२ मेगावाट घण्टा बिजुली आयात हुँदा प्राधिकरणले ३ हजार ३५६ मेगावाट घण्टा बिजुली निर्यात गरेको छ । भारतमा कोइलाबाट उत्पादन हुने बिजुलीको मात्रामा गिरावट आएको छ ।

चीनमा ऊर्जा संकट भयो भनेर असाध्यै ठूलो समाचार सार्वजनिक भएपनि भारतमा त्यो भन्दा ठूलो संकट देखा परेको छ । सोही संकट समाधानका लागि नेपालको बिजुली उपयुक्त हुने अपेक्षा गरिएको छ ।

तर, विद्युत् व्यापार सम्झौता भएपनि भारतले नेपालको बिजुली निर्यातका लागि मार्ग प्रशस्त गरेको छैन । सन् २०१४ मा नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौात भएको थियो । सम्झौता अनुसार नेपालले निर्वाध रुपमा भारतमा बिजुलीको व्यापार गर्न पाउनुपर्ने थियो । तर, त्यस्तो हुन सकेको छैन ।

हाल भारत पठाइएको बिजुलीको नेट मिटरिङ गरिएको छ । त्यस आधारमा हिउँदमा आवश्यक पर्दा सोही परिमाणको बिजुली आयात गर्ने तयारी छ । जे भएपनि किन फेर फाल्ने भन्ने मानसिकताका साथ बिजुली निर्यात गरिएको प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु