नाफा बढाउने दवावले केही बैंकहरु संयमित हुन सकेनन्: ज्योति पाण्डे
अहिले बैंकिङ प्रणालीमा तरलता अभाव छ । यसका केही कारक छन् । लकडाउनको समयमा उद्योग व्यवसाय ठप्प भएका कारण अघिल्लो वर्ष आयात भएन । बजारमा त्यसको मागपनि थिएन । अहिले माग अत्यधिक छ । माग र आपूर्तिको सन्तुलन नमिलेपछि अहिले तरलता अभाव भएको हो ।
तरलता बढाउनका लागि महत्वपूर्ण भूमिका रेमिट्यान्सले गरेको हुन्छ । जुन अहिले घटिरहेको छ । गत वर्षभन्दा १५ प्रतिशतले यो वर्ष रेमिट्यान्स घटेको छ । दशैंको समयमा पनि अघिल्लो वर्षजस्तो रेमिट्यान्स आएको छैन ।
यसबाहेक यो पटक सरकारको बजेट पास नहुने यो वर्षको लागि दुई खाले बजेट आयो । तरलता अभाव हुनका लागि बजारमा भिन्न कारण छन् । बैंकहरुमा कर्जाको माग अत्यधिक छ । बजेट पासपनि ढिलो भयो ।
सरकारी खर्च नभएको हुँदा बजारमा पैसा आएको छैन । यो बेलामा बजारमा माग भने अत्यधिक छ । कर्जाको मागपनि बढी भयो । आयातपनि बढी भयो । भदौ मसान्तसम्ममा ३ खर्ब १८ अर्ब रुपैयाँको आयात भयो । आयात अत्यधिक भएपछि पैसा बाहिर गयो । जसले शोधानान्तर घाटामा गयो ।
नेपालमा तरलताको अवस्थाको बारेमा अनुमान गर्न निकै कठिन छ । हामीले ५ वर्षको एउटा योजना बनाएर चलेका हुन्छौ । तर ३ महिनामा नै अवस्था फरक हुन्छ । असार मसान्तमा तरलता सहज थियो ।
दुई महिनामा नै अवस्था परिवर्तन भयो । तर,गतवर्षजस्तो तरलता सहज हुने स्थिती भने अहिले देखिएको छैन । सरकारको विकास खर्च बढ्दै गएमा भने तरलता सहज हुने छ ।
अघिल्ला वर्षहरुमा मंसिरदेखि तरलता असहजको स्थिती हुने थियो । यो पटक भने भदौदेखि नै तरलता अभाव भयो । यसको कारण नै लकडाउनको कारण रोकिएको आयात बढ्दा भएको हो । अघिल्ला वर्षहरुमा मंसिरदेखि नै तरलता असहज हुने थियो । यो पटक साउन र भदौमा नै बढी आयात भयो । जसले गर्दा प्रणालीमा पैसा अभाव हो । अब यो सातापनि तरलतामा दबाब पर्छ ।
औद्योगिक कच्चा पदार्थको आयात बढेको छ । ब्याजदर बिस्तारै बढेको स्थिती छ । ब्याजदर बढ्ने सम्भावना छ । ठूलो अंकमा ब्याजदर बढ्ने कुरा हुँदैन ।
तरलता व्यवस्थापनको दीर्घकालिन समस्या समाधानको लागि विभिन्न उपाय हुनसक्छन् । सबैभन्दा पहिला बैंकहरु संयम हुनुपर्यो । नाफा बढाउनको लागि बैंकहरुले मनपरी कर्जा दिनु भएन ।
बैंकले नाफा गर्नुपर्छ तर नाफाका लागि जिम्मेवारी नै बहन नगर्ने गरेर कर्जा बढाउनु भएन । क्रेडिट ग्रोथ नगर्ने भन्ने होइन ।
अहिले साना तथा मझौला तथा कृषिमा गाउँसम्म ग्रोथ बढेको छ । सानो आकारको ऋण बढेको देखिन्छ । सानो आकारको अनुदानमा जाने ऋण बढेको छ । कागती खेती होला कुखुरा पालन होला त्यो क्षेत्रमा ऋण बढेको छ । हामीहरुको कुरा गर्दा कर्पोरेट सेक्टरमा फोकस थियौ । हामीले अहिले एसएमईमा फोकस गरेका छौ । सानोमा राम्रो ग्रोथ छ । ठूलो एउटालाई दिँदा एउटालाई ४० करोड जान्छ । सानोमा जाँदा १५ लाख हुन्छ ।
केही समय तरलता असहज भएपनि धेरै लामो समय नजानसक्छ । पछिल्ला महिना विदेश जानेको संख्या बढ्दो क्रममा छ । रेमिट्यान्स बढ्न सक्ने सम्भावना छ । अर्को उच्च आयात अत्यधिक छ । केही वस्तुहरु हामीले उपयोग नगरेपनि आयात गरिरहेका छौ । त्यस्ता वस्तुको आयातको बारेमा सोच्ने बेला भने आएको छ । केही वस्तुको अनावश्यक आयात बढेको हो । त्यसलाई रोक्नु नै पर्ने हुन्छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेसँगको कुराकानीमा आधारित