भैंसेपाटी सडक ५ वर्षमा पनि अलपत्र, कारबाही गर्नुको साटो म्याद र रकम थप्दै सरकार



काठमाडौं । भैंसेपाटी उकालो सडक खण्ड विगत ५ वर्षदेखि अलपत्र अवस्थामा छ । ठेक्का भएको पाँच वर्ष बित्दा पनि भैंसेपाटी उकालोमा सडक निर्माण अपूरै अवस्थामा अलपत्र छ । सडक हिलाम्मे हुनेगरेको छ । सडकको बीचमा खाल्डाखुल्डी छन् । साइडमा ड्रेनपनि छैन् । पानी सडकमै बगिरहेको अवस्थामा छ ।

बेलाबेलामा निर्माण व्यवसायी नै ५/६ महिना हराउने गरेको स्थानीयको भनाइ छ । आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार काम गर्न निर्माण व्यवसायीहरुलाई शुरुमा बाँधा भएपनि पछिल्लो समय कुनै त्यस्ता समस्याहरु आएका छैनन् ।

नख्खुखोलादेखि भैंसेपाटी गेटसम्म कालोपत्रको काम बाँकी छ । ललितपुरको नख्खु–भैंसेपाटी–बुङमती सडक खण्ड । ठेक्काको म्याद बर्सेनी थपिए पनि सडक निर्माण कहिले पूरा हुन्छ भन्ने टुंगै छैन ।

सडक विस्तार निर्माणको ठेक्का आशीष बिरुवा सीएम जेभी र पप्पु–महालक्ष्मी–वल्र्डवाइड जेभीले लिएका हुन् । सीएम जेभीले ३.५२ किलोमिटर (नख्खुखोला पुल– सोह्रखुट्टे) सम्म बिस्तारको काम जम्मा ६५ प्रतिशत मात्र प्रगति गरेको विभागले जानकारी दिएको छ भने यता वल्र्डवाइडले १.५५ किलोमिटर (सोह्रखुट्टे–बुङमति)सम्म बिस्तारको काम हालसम्म जम्मा ७० प्रतिशत सम्पन्न गरको बिस्तार कार्यालयले जानकारी दिएको छ ।

सरकार म्याद र रकम बढाउन अग्रसर
यस सडक बिस्तारका लागि शुरुको ठेक्का रकम २३ करोड ७२ लाख ४९ हजार रहेको थियो । तर, पछि सरकारले समय मात्र थपेन रकमको पनि बढाएको छ । जसअनुसार हाल त्यस ठेक्काको रकम ३ करोड बढाएर संशोधित ठेक्का रकम २६ करोड ९ लाख ४३ हजार रुपैयाँ रहेको छ । अहिलेसम्म ठेकेदारलाई १८ करोड ८० लाख ६० हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

सडक विभागकाअनुसार यस सडकमा मुआब्जा प्रक्रियादेखि अन्य प्राविधिक पक्षमा भएको विवादका कारण शुरुमा सडक बिस्तारको काम हुन नसकेको थियो । तर, हाल त्यो सबै समस्याहरु समाधान भइनसक्दा निर्माण व्यवसायीले सडक विस्तारको कामलाई निरन्तरता दिएका छैनन् ।
उपत्यका सडक विस्तार कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार ठेक्काको प्रगति हालसम्मको हेर्दा ७० प्रतिशत मात्रै छ ।

‘अहिलेसम्म निर्माण व्यवसायीले दुई पटक म्याद थप गरिसकेको छ । हाल कोरोनाको कारण भन्दै फेरि सरकारले ६ महिना म्याद थपि दिएको छ,’ अधिकारीले भने, ‘सोहीअनुसार अबको समयावधि भनेको २०७८ चैतसम्म हुनेछ ।’

सडक बिस्तारमा भएको समस्या
सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालकाअनुसार शुरुका वर्ष यस क्षेत्रमा घर हटाउनका लागि विवाद भएकाले बिस्तारको काम रोकिएको थियो ।

‘उपत्यका विकास प्रधिकरणले कैयन प्रयास गर्दापनि त्यहाँ भएका घरहरु हटाउन नसकेको अवस्था थियो,’ नेपालले भने, ‘अर्को समस्या भनेको पानीलाई कसरी र कहाँ व्यवस्था गर्ने कुरामा पनि टुङ्गो सम्म पनि लाग्न सकेको छैन् ।’

नेपालका अनुसार यस विषयमा अदालतले पनि स्टेअर्डर दिएको थियो ।

तर, उपत्यका सडक बिस्तार कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार ठेकेदारको लापरवाहीले गर्दा यहाँको सडक बन्न नसकेको बताउँछन् ।

‘सडक बनाउनका लागि जती ठाउँ छोडेका छन् त्यति ठाउँमा सडक कालोपत्रे गर्न बिस्तार कार्यालयले चिठ्ठी गरिसकेको छ,’ अधिकारीले भने, ‘तर, निर्माण व्यवसायीले भने अहिलेसम्म पनि त्यस क्षेत्रको सडक बिस्तारको काम पुरा गर्न सकेको छैन् ।’

डेढ किलोमिटर क्षेत्रमा घरटहरा हटेकै छैनन् । भैंसेपाटी उकालोमा म्यान्मार राजदूतावास र कोरियन चाउचाउ फ्याक्ट्रीको पर्खाल सडकमा परेकाले भत्काउन बाँकी छ । केही घरको पनि पर्खाल भत्काउन पटक–पटक पत्राचार गरिएको अधिकारीले बताए ।

यो खण्डमा कालोपत्रको काम अहिलेसम्म हुन सकेको छैन ।

ठेकेदार पक्षका अनुसार अहिलेसम्म पनि क्षतिपूर्ति र मुअब्जाका कारण काम रोकिएको हो । उपलब्ध चौडाइमा काम गर्ने निर्णय भइसकेको र जति चौडाइ छ, त्यतिमै काम गरेर चैतमा सम्पन्न गरिने निर्माण व्यवसाय कम्पनीले बताएको छ ।

सडक सबैलाई चाहिने तर घर भत्काउन कोही नदिने । सडकमा पर्ने जग्गा कोही नछाड्ने । यो समस्या समाधान गर्न धेरैपटक जिल्ला प्रशासन कार्यालय धाएको तर समस्याको समाधान नभएकाले विभागले भने अनुसार अब उपलब्ध चौडाइमै काम गरेर सक्ने निर्माण व्यवसायीले बताएका छन् ।


क्लिकमान्डु