ओपेकले कोटा नबढाउँदा संसारभर नै बढ्यो तेलको मूल्य, नेपालमा पनि देखिदैछ असर



काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ ।
अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट १ अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ । यस आधारमा मासिक ३ अर्ब बराबरको घाटा लाग्ने भएको छ ।

तर, संसारभर नै यतिबेला इन्धनको मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलरको हाराहारीमा पुगेको छ । जानकारहरुले इन्धनको मूल्य बढेर १०० अमेरिकी डलरको हाराहारीमा पुग्ने तथ्य सार्वजनिक गरेका छन् ।

कोरोनाका कारण सुस्त अवस्थामा रहेको अर्थतन्त्रले गति लिन थालेको तथा अन्य गतिविधिमा समेत तिव्रता आएका कारण इन्धनको माग ह्वात्तै बढेको छ ।

एशियामा बढी इन्धन खपत गर्ने चीन र भारतमा समेत अस्वाभाविक रुपमा इन्धनको मूल्यवृद्धि भएको छ । यसका पछाडि बढ्दो आर्थिक क्रियाकलाप नै रहेको छ ।

चीनमा त बिजुलीका संकट पनि उत्तिकै गहिरिएको छ । पूर्वोत्तर चीनमा बिजुलीको संकट बढेको छ । कोइलाका कारण उत्पादन हुने बिजुलीमा सबैभन्दा बढी समस्या खडा भएको छ । तेल उत्पादक देशहरुको संगठन ओपेकले इन्धन उत्पादनमा वृद्धि गर्ने बारेमा केही बताएका छैनन् । यही बेला अमेरिकाले तेल भण्डारण बढाएको छ ।

प्रमुख तेल उत्पादक देश साउदी अरेबियाले जारी राखेको उत्पादनको कोटामा वृद्धि गरेको छैन । चीन, अमेरिका तथा अष्ट्रेलियालगायतका देशसँग विवाद रहेको छ । प्रमुख तेल उत्पादक देश रसियाले समेत मूल्य बढेपनि बढोस् भन्ने मान्यता राखेको देखिन्छ । सोही काराण पनि इन्धनको मूल्य आकाशिएको हो ।

नेपालमा आयात हुने अधिकांश इन्धन भारतबाटै हुने गरेको छ । भारतमा मूल्य बढ्नासाथ नेपालमा स्वभाविक रुपमा मूल्य बढ्न जान्छ । आइओसीको विवरण अनुसार पेट्रोलको भाऊ प्रतिलिटर १४० रुपैयाँमा बिक्री गर्नुपर्ने देखिएको छ । इन्धनको मूल्य बढ्नासाथ अन्य उपभोग्य वस्तुको मूल्यमा समेत अस्वाभाविक वृद्धि हुन जान्छ ।

संसारका जानकार एवम् बुद्धिजीवीहरुले कोरोनापछिको ठूलो भयावह संकट आउन लागेको टिप्पणी गरेका छन्े । तेल उत्पादक देशले समयमै निणृय नगर्ने हो भने संसारभर नै इन्धनको मूल्य थप आकाशिने उनीहरुको भनाइ छ । अमेरिकी बैंकहरुले समेत इन्धनको मूल्य अझै बढ्न सक्ने प्रक्षेपण गरेका छन् । त्यसो त चिसो मौसम आउन लागेको छ । यो बेलामा थप तेलको माग हुन जान्छ । माग बढी हुने र आपूर्ति कम हुँदा स्वभाविक रुपमा मूल्य वृद्धि हुन जान्छ ।

भारतको आर्थिक राजधानी मुम्बईमा पेट्रोलको मूल्य १०८ भारु पुगेको छ । दिल्लीमा पनि सोही हाराहारीमा पुगेको छ । नेपालमा आउँदा त्यसमा जोडिने अत्यधिक करका कारण पनि मूल्यमा चाप पर्ने गरेको छ । ग्यासको अवस्था उस्तै रहेको छ । ग्यासको मूल्य बढ्दा त्यसको चाप अन्य इन्धनमा पर्न जान्छ ।

नेपाल आयल निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ९६१.८८ लागत पर्ने देखिन्छ ।

निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रु १३०, डिजेल र मट्टितेलको रु ११३, आन्तरिक हवाई इन्धनको रु ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४५० तोकिएको छ । उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७.०१ रुपैयाँ नोक्सान, मट्टितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १.९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानको अवस्था छ ।

निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै १ अर्ब ५० करोड ७३ लाख नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यतिबेला निगमको आलोचना भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक रु ८४ करोडको हाराहारीमा झारेको थियो ।

तर, आइओसीले त्यसपछि दुई पटक मूल्य बढाएर मूल्यसूची पठाएको छ । सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ । डिजेलमा प्रतिलिटर ७.१४ रुपैयाँ मूल्य बढ्दा हवाई इन्धनमा प्रतिलिटर ६.९७ रुपैयाँ, पेट्रोलमा ४.०९ रुपैयाँ र मट्टितेलमा ३.५६ रुपैयाँ मूल्य बढेर आएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५.६९ रुपैयाँले बढेको छ ।

सेप्टेम्बर १६ तारिखका दिन प्राप्त भएको मूल्यसूचीमा सेप्टेम्बर १ तारिखको भन्दा मूल्य बढेर आएको थियो । त्यो मूल्यका आधारमा निगमले १५ दिनमा १ अर्ब पाँच करोड नोक्सानीको प्रक्षेपण गरेको थियो । यद्यपि त्यसपटक निगमले मूल्य समायोजन गरेको छैन ।


क्लिकमान्डु