शक्तिशाली देशले खोप भण्डारण गर्दा गरिब देशले पाएनन्, संयुक्त राष्ट्र संघमा उठ्यो कुरा



एजेन्सी । संसारका शक्तिसम्पन्न देशले अत्यधिक मात्रामा खोपको भण्डारण गरेका कारण गरिब तथा कम आय भएका देशले अझैसम्म पनि कोरोनाको खोप पाउन सकेका छैनन् । खोप नपाएपछि उनीहरुले संयुक्त राष्ट्र संघसँग गुहार मागेमा छन् ।

विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका हुन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाले विश्वका सबै देशहरुलाई नै महामारीबाट बच्ने अधिकार रहेको र यसका लागि खोपको उपलब्धता हुनुपर्ने बताएका हुन् ।

महासभामा आयोजना गरिएको एक बैठकमा विश्वका ती देशले कोरोना भाइरस महामारीको कुनै सीमा नरहेको र विश्वका देशहरुमा पनि एकनासले यसले प्रवेश गरेको भन्दै उनीहरुले सो आवाज उठाएका हुन् ।

उक्त बैठकमा चीन पनि सहभागी रहेको थियो । चीन कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने ठूला देशहरु मध्येको एक हो । सो बैठकमा चीनले पनि विश्वमा खोपमा समानता हुनुपर्ने बताएको थियो । राष्ट्रसंघमा चिनियाँ प्रतिनिधिले सो धारणा राखेका थिए ।

सो बैठकमा सहभागी भएपछि ती देशका प्रतिनिधिहरुले कोरोना भाइरसलाई विश्वकै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रुपमा लिँदै त्यसका विरुद्धमा लड्न सबैको आवश्यक सहयोग रहेको बताएका थिए ।

खासगरी अफ्रिकी मुलुकमा हालसम्म पनि खोप पाउन मुस्किल रहेको छ । विशेषगरी अमेरिका, म्यानडा, बेलायतलगायतका देशले खोपको ठूलो भण्डारण गरेका छन् । यसतै दक्षिण अमेरिकी मुलुकले भने खोप पाएका छैनन् । चीनले पनि के कति मात्रामा खोप उत्पादन गरेको र कति वितरण गरेको भन्नेमा केही स्पष्ट जानकारी दिएको छैन । मानवअधिकारको विषयमा चर्को वकालत हुने गरी पनि गरिब तथा अल्पविकसित देशले खोप नपाएका कारण समस्या झनै बढ्ने देखिन्छ ।


क्लिकमान्डु