नागढुंगा-मुग्लिङ सडक ४ लेनको, बिस्तारको काम यसै वर्षभित्र थाल्ने



काठमाडौं । उपत्यका भित्रिने र बाहिरिने मूख्य सडक नागढुंगा–मुग्लिङ सडक खण्डको स्तरोन्नतिमा सडक विभागले चासो देखाएको छ ।

डक विभागले साँघुरो नागढुंगा–मुग्लिङ सडक खण्डलाई नारायणघाट–मुग्लिङ सडक खण्ड जस्तै फराकिलो बनाउन लागिएको बताएको छ ।
मुग्लिङ–नारायणघाट सडक २०७५ जेठमा बिस्तार भइसकेको छ । यो सडक विश्व बैंकको ऋण सहयोगमा दुई लेनमा विस्तार गरिएको छ ।

हाल अत्यधिक वर्षाका कारण आएको बाढीपहिरोका कारण नारायणघाट–मुग्लिङ सडक खण्डको अवस्था नाजुक भएको पनि विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिएका छन् । यस सडक खण्डको मर्मत सम्भारको काम चलिरहेको पनि नेपालको भनाइ छ ।

काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली स्ट्यान्डर्डअनुसार विकास गर्न खोजिएको पनि नेपालको भनाइ छ ।

यता मुग्लिङ–नागढुंगा क्षेत्रमा पर्ने करिब ९६ किलोमिटर लामो सडक खण्डलाई ३ वटा चरणमा विभाजन गरेर स्तरोन्नति गर्न लागिएको नेपालले बताएका छन् । जसमा नौबिसे–मलेखु ४३.५२ किलोमिटर बिस्तार गरिने छ । त्यस्तै नागढुंगा–नौबिसे १२.६२ किलोमिटर र मलेखु–मुग्लिङ ४० किलोमिटर बिस्तारको योजना रहेको नेपालको भनाइ छ ।

नागढुंगा–नौबिसे सडक खण्ड ३ लेनको हुनेछ । मालबहाक सवारीसाधनलाई ठाडो उकालोमा सहजता होस् भनेर एउटा थप डेडिकेटेड लेन बिस्तार गरिने नेपालले बताए ।

‘बस्ती तथा बजार भएका स्थानमा सडक ४ लेनको हुनेछ । साथै सर्भिस लेन निर्माण गरिनेछ, ताकि सर्वसाधरणलाई आफ्नो साधानहरु आवतजावत गर्न सजिलो होस्,’ नेपालले भने ।

तीन वटा योजनामध्ये नौबिसे–मलेखु र नागढुंगा–नौबिसे खण्ड निर्माणका लागि प्रारम्भिक सूचिमा परेका छन् । यस २ वटा योजनासँग सम्बन्धित कम्पनीसँग आर्थिक प्रस्ताव माग गरिएको नेपालले जानकारी दिए ।

नौबिसे–मलेखु र नागढुंगा–नौबिसेका लागि ३२ वटा कम्पनी प्रारम्भिक सूचिमा परेका थिए । २ चरणको योजनामा जम्मा १४ वटा कम्पनीहरु छनोटमा परेका थिए । छनोटमा परेका कम्पनीहरु कार्य मूल्यांकनका आधारमा प्रारम्भिक रुपमा सूचिकृत भएका योजना प्रमखु अमृतमणि रिमालले जानकारी दिए ।

‘छनोटमा परेका १४ वटै कम्पनीहरुसँग असोज ७ गते आर्थिक प्रस्ताव माग गरिएको हो । यी कम्पनीहरुले कात्तिक २५ गतेसम्म आर्थिक प्रस्ताव बुझाउनु पर्नेछ,’ रिमालले भने, ‘सबैभन्दा कम रकममा सडक विस्तारको प्रस्ताव पेश गर्ने कम्पनीले निर्माणको जिम्मा पाउँनेछ ।’

२०७८ पुस महिनाभित्रमा सडक विस्तार गर्ने कम्पनी छनोट गरेर निर्माण कार्य अघि बढाउने योजनाको लक्ष्य रहेको रिमालले बताए । योजनाको चरण तीनमा हुने मलेखु–मुग्लिङको पनि सडक विस्तार निर्माणका लागि आवेदन दिएकाहरुको प्रारम्भिक मूल्यांकन भइरहेको रिमालले जानकारी दिएका छन् ।

‘दोस्रो चरणका लागि मूल्यांकन कात्तिक महिनाको अन्तिम सम्म सम्पन्न गर्ने गरी प्रारम्भिक रुपमा छनोट हुने कम्पनीसँग आर्थिक प्रस्ताव माग गर्ने तयारीमा योजना छ,’ रिमालले भने ।

२१ वटा पुल बन्ने
विभागले गर्न लागेको मुग्लिङ–नागढुङ्गा सडक खण्डमा २१ ओटा पुल बन्ने योजना प्रमुख रिमालले बताए ।

‘पुल सबै चार लेनको हुनेछन् । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाई अनुसार नै छेउमा पुल निर्माण गरिनेछ । बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहजता प्रदान गर्न १० वटा आकाशेपुल पनि निर्माण गरिनेछ,’ रिमाले भने ।

अनुमानित लागत कति
यो सडक स्तरोन्नति गर्न करिब १९ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अब हुने मुग्लिङ–नागढुंगा सडक बिस्तारको काम पनि विश्व बैंकको ऋण सहयोगमा गर्न लागिएको नेपालले जानकारी दिए । सडक विस्तार गर्न विश्व बैंकले ऋण दिने सहमति भइसकेको पनि नेपालले बताएका छन् ।

‘यसका लागि नपुग रकम नेपाल सरकारले खर्च गर्नुपर्नेछ । सडक स्तरोन्नति गर्न डिजाइन तयार पारिसकेको छ । परामर्शदाता आईसीटीले सडकको डिजाइन २०१८ मा नै तयार गरेको हो’ नेपालले भने ।

‘मुग्लिन–नागढुंगा सडकको चौडा एक नासको छैन, कतै दुई लेन र केही साढे एक लेनको छ,’ रिमालले भने, ‘विपरीत दिशाबाट गुडेका सवारीसाधन सहज रुपमा पास हुनेगरी सडक विस्तार गर्न खोजिएको हो ।’

यस सडक विस्तारको काम कहिलेसम्म सकिन्छ भन्ने टुङ्गो भने ठेक्कोको व्यवस्था भएपछि मात्रै थाहा हुने रिमालले बताए ।


क्लिकमान्डु