प्राधिकरणको नाराः ‘२ वर्षभित्र सबैलाई बिजुली’ तर उपत्यकाभित्रकै बस्तीमा छैन बिजुली



काठमाडौं । देशभर कूल ९० प्रतिशत जनतामा आधारभूत बिजुली सुविधा पुगेको दावी गरिएको छ । सरकारले आगामी २०८० सालभित्र सबै स्थानमा बिजुली पुर्याउने लक्ष्य राखेको छ ।

तर, गुणस्तरीय बिजुलीको उपलब्धताका लागि भने पछिल्लो समयमा उत्तिकै माग उठेको छ । एकाएक बिजुली काटिने, किन काटियो भन्ने सूचना नपाउने अवस्था पनि छ । त्यस्तो समस्या केही समय अघि असाध्यै धेरै भएपनि पछिल्ला दिनमा केही कमी आएको छ ।

काठमाडौं उपत्यकाभित्रैको जिल्लामा समेत हालसम्म बिजुली पुग्न सकेको छैन । ललितपुरको दक्षिण भेगका केही स्थानमा अझै पनि बिजुलीको सुविधा पुगेको छैन । ती बस्ती कर्णालीभन्दा विकट रहेका छन् ।

ललितपुर र मकावानपुरको उत्तरी सीमा क्षेत्रका बस्ती तथा गाँउमा बिजुली पुग्न नसकेको पाइएको छ । ती स्थानमा बिजुली पुर्याउनका लागि भएका प्रयास पनि सार्थक बन्न सकेको छैन ।

लामो समयदेखि बिजुलीको माग भएपनि काम हुन नसकेको गुनासो आएको छ । यस्तै, उपभोक्ताले सहज रुपमा बिजुलीको महशुल समेत तिर्न सकेका छैनन् । न्यून मात्रामा रहेको बिजुलीको महशुल तिर्न पनि उपभोक्ताले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ ।

सिन्धुपाल्चोकको सीमाना जोडिएका नुवाकोटका बासिन्दाले महशुल तिर्नका लागि त्रिशुली जानुपर्ने बाध्यता रहेको एक उपभोक्ताले सार्वजनिक सुनुवाईमा सुनाएका थिए ।

बिहीबार विद्युत् नियमन आयोगले आयोजना गरेको प्राधिकरणको प्रस्तावित नयाँ महशुलका सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाईमा समेत काठमाडौं उपत्यकाकै जिल्लामा बिजुलीको सुविधा नपुगेको र विद्युत् महशुल तिर्न कठनाई भएको विषयले प्राथमिकता पाएको थियो ।

सरोकारवालाको गुनासोमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्याको उचित सम्बोधन गरिने प्रतिवद्धता जनाएका थिए ।
प्राधिकरणका अनुसार ९० देखि १०० प्रतिशतसम्म विद्युतीकरण भएको जिल्लाको संख्या ४३ पुगेको छ । ती जिल्लामा कही कतै बिजुली पुर्याउन बाँकी रहेको भए चालु आवभित्रै सक्ने गरी काम अगाडि बढाएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, ६५ देखि ९० प्रतिशतसम्म बिजुली पुगेका जिल्लाको संख्या १४ छन् । प्राधिकरणका अनुसार ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएका जिल्लाको संख्या १० छन् ।

त्यस्तै, ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएका जिल्लाको संख्या १० छन् । कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा केही समय पहिले मात्रै केन्द्रीय प्रसारण लाइन जोडिएको छ । सो प्रदेशका केही जिल्ला अझै पनि अन्धकारमा नै रहेको छ ।

प्रसारण लाइन भएपनि सामान्य हावा हुरी आउँदा ११ केभी क्षमताका प्रसारण लानमा समस्या आउने गरेको छ । समस्या समाधानका लागि ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्नुपर्ने देखिन्छ ।

कोहलपुर– सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको क्रममा भएको भएपनि कहिले सकिन्छ भन्ने अवस्था छैन । त्यस्तै ग्रामीण क्षेत्रमा पुगेका अधिकांश वितरण लाइनहरु ११ केभीदेखि ३३ केभीका मात्रै छन् । त्यसमा पनि अधिकांश ११ केभीका नै छन् ।

प्राधिकरणले हालसम्म ३३ केभी क्षमताको ६ हजार १९ सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न भएको जनाएको छ । त्यस्तै, ११ केभीका ४१ हजार ५५० सर्किट किलोमिटर र ०.४ देखि ०.२३ केभी क्षमताका १ लाख २९ हजार ८१ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ । समस्या आउनेमा यी लाइन नै बढी हुन ।

प्राधिकरणले देशभर ३ हजार ६२३ एमभीए क्षमताका ३७ हजार १६३ वटा वितरण ट्रान्सफर्मर जडान भइसकेको जनाएको छ ।


क्लिकमान्डु