व्यावसायिक घराना विशाल ग्रुपको नियम विपरीत ३ बीमा कम्पनीमा लगानी, घटाउन समितिको निर्देशन



काठमाडौं । व्यवसायिक घराना विशाल ग्रुपले नियम विपरित ३ वटा जीवन बीमा कम्पनीमा लगानी गरेको भेटिएको छ ।

खुकुलो नियमको फाइदा उठाएर विशाल ग्रुपले ३ वटा जीवन बीमा कम्पनीमा लगानी गरेको भेटिएको हो ।

बीमा कम्पनीमा क्रस होल्डिङ हटाउन लागेको बीमा समितिले व्यवसायिक घराना विशाल ग्रुपलाई ३ वटा बीमा कम्पनीमा गरेको लगानी घटाउन निर्देशन दिएको छ ।

बीमा समितिले गरेको अध्ययनमा व्यवसायिक घराना विशाल ग्रुपले तीनवटा जीवन बीमा कम्पनीमा सबैभन्दा बढी लगानी गरेको भेटिएको थियो ।

समितिले गरेको अध्ययनमा विशाल ग्रुपले एलआईसी नेपाल,नेपाल लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्समा लगानी गरेको छ । समितिले एलआईसी नेपालमा २५ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्समा १४ प्रतिशत तथा सूर्या लाइफ इन्स्योरेन्समा ३० प्रतिशत लगानी गरेको भेटेको हो ।

बीमा समितिले बनाएको निर्देशिकाअनुसार बीमा कम्पनीमा कुनैपनि एक व्यक्ति, घर परिवार तथा व्यवसायिक घरानाले एउटा बीमा कम्पनीमा न्यूनतम १५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । सो व्यक्ति, घर परिवार तथा व्यवसायिक घरानाले एउटा कम्पनीमा १५ प्रतिशत लगानी गरेपछि अर्को उस्तै कम्पनीमा १ प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था छ । विशाल ग्रुपले १५ प्रतिशतभन्दा कम लगानी गरेको नेपाल लाइफ इन्स्योरेन्समा मात्रै हो ।

बीमा समितिले तीनवटै बीमा कम्पनीलाई पत्र लेखेर विशाल ग्रुपको लगानी तोकिएको सिमाभित्र झार्न तथ्यांक सहित ७ दिनभित्रमा समितिमा पठाउन पत्र काटेको छ । बीमा समितिको अध्ययनमा जीवन बीमा कम्पनीमा एउटै समूहको सबैभन्दा ठूलो क्रश होल्डिङ भेटिएको विशाल ग्रुपको हो ।

एलआईसी नेपालको सञ्चालकमा विशाल ग्रुपका प्रवन्ध निर्देशक अशोक अग्रवाल सञ्चालक छन् । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा विशाल ग्रुपका सञ्चालक विवेक अग्रवाल सञ्चालक रहेका छन् ।

बीमा समितिले संस्थागत शुसासन निर्देशिका विपरित विशाल ग्रुपले ३ वटा जीवन बीमा कम्पनीमा लगानी गरेको उल्लेख गरेको छ । यसबाहेक व्यवसायिक संस्था व्यक्तिहरुमा क्रश होल्डिङ हुने समूहमा आइएमई ग्रुप रहेको छ । आइएमई ग्रुपको जीवन बीमा कम्पनीमा आइएमई लाइफ र रिलायवल लाइफ इन्स्योरेन्समा क्रस होल्डिङ भेटिएको छ । आइएमई ग्रुपको आइएमई जनरल नेपाल इन्स्योरेन्समा क्रस होल्डिङ छ ।

त्यसैगरी, व्यवसायी शशिकान्त अग्रवालको शिखर इन्स्योरन्समा १६ प्रतिशत र युनाइटेडमा ३ प्रतिशत क्रश होल्डिङ भेटिएको छ ।

यसरी क्रश होल्डिङ भएका संस्थाहरुलाई आपसमा मर्जरमा लैजाने बीमा समितिको नीति रहेको छ ।


क्लिकमान्डु