पोखरा विमानस्थल बैशाखदेखि सञ्चालन गर्ने तयारी



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बैशाखमा सञ्चालन हुने भएको छ । विमानस्थल प्रमुख बिक्रमराज गौतमकाअनुसार अहिले विमानस्थलको काम लगभग सकिएकाले आगामी वैशाख महिनादेखि अन्तर्राष्ट्रिय उडान गर्न सकिने भएको छ । त्यसका लागि क्यानमा सिफरिस गर्न लागिएको पनि गौतमले जानकारी दिए ।

‘यसका लागि नागरिक उड्डयन प्रधिकरणले वैशाखमा खोल्ने प्रतिबद्धता गर्नुपर्छ, विमानस्थलको निर्माण कार्य सहज ढंगले चलिरहेको छ । वैशाखमा उडान शुरु गर्न समस्या छैन, गौतमले भने ।

२२ अर्ब लगानीमा २०७४ असारबाट निर्माण शुरु गरिएको हो ।

‘कोरोनाका कारण केही समय समानहरु आउन सहज नहुँदा काममा ढिलाइ भएको थियो । तर हाल त्यो अवस्था नरहेकाले विमानस्थलको काम लगभग सकिएको अवस्थामा छ । बाँकी थोरै काम पुस सम्ममा सक्नेछौं,’ गौतमले भने ।

विमानस्थल वैशाखदेखि सञ्चालन गर्न पूर्णरुपमा तयार रहेको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मी बताउँछन् ।

‘तोकिएभन्दा ६ महिना अघि नै निर्माण गरिसक्ने लक्ष्यका साथ काम गरेका थियौं,’ उनले भने, ‘तर, कोरोना भाइरसका कारण जनशक्ति र सामान ढुवानीमा समस्या हुँदा समय सीमाभित्र सक्न मुस्किल भयो । तर अब भने हामी आउदो पुससम्म सबै काम सक्छौँ ।’
२०७८ भित्रै परीक्षण उडान गर्ने लक्ष्य भएको पनि मुनकर्मीले बताए ।

कोरोनाको पहिलो लहरमै चीनबाट आउने कामदार र सामान अड्किए । भारतमा कोरोना महामारी फैलिएपछि सीमानाका बन्द भएका कारण सामान ल्याउन कठिन भएकाले समयमै काम सक्न कठिन भएको मुनकर्मी बताउँछन् ।

तीन हजार ७ सय ९९ सय रोपनी क्षेत्रफलमा बन्दै गरेको यस विमानस्थलमा टर्मिनलसहित ९ वटा भवन छन् । ‘यी सबै भवनको काम सकिएको छ,’ उनले भने, ‘४ वटा भवनको केही तलामा फिनिसिङको काम भइरहेको छ ।’

१० हजार वर्गमिटरको टर्मिनल भवनको लम्बाई करिव एक सय ९५ मिटर छ । त्यस्तै, ल्याण्ड साइडतर्फ एक्सेस रोड र टर्मिनल सर्भिस रोडहरुको पनि मूख्य काम सम्पन्न भइसकेको मुनकर्मीले बताए ।

विमानस्थलको २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग रहेको छ । यसैगरी, ट्याक्सी वे करिव ९ सय मिटर लम्बाई, २३ मिटर चौडाईको छ । पार्किङको पनि सबै काम सकिएको मुनकर्मीले जानकारी दिए ।

यस विमानस्थालमा एक सयदेखि २ सय सिट क्षमता भएका विमानहरु अवतरण हुने मुनकर्मीले बताए ।

‘यहाँ धेरै ठूला जहाजहरु ल्याण्ड गर्न मिल्दैन,’ मुनकर्मीले भने, ‘यहाँ नजिकै डाँँडाहरु रहेकाले मध्यम साइजका विमानहरुमात्र अवतरण गर्न मिल्छन् भने ११ वटासम्म विमान पार्किङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।’

हाल रिठ्ठेपानी डाँडाँ काट्ने कामको अनुमति पनि अन्तिम चरणमा पुगेको पनि गौतमले जानकारी दिए ।

‘डाँडाँ काट्ने काम सञ्चालन गर्न नगरपालिका र स्थानीय सरकारबाट कुनै बाधा छैन् । यसको लागि इआईए एसिस्ट मन्त्रिपरिषदको बैठकमा रिर्पोट तयार पारेर बुझाइ सकेको अवस्था छ,’ गौतमले भने ।

ल्याण्डफिल्डको कामका लागि पनि आवश्यक पर्ने सबै खाले काम भइसकेको गौतम बताउँछन् । यसका लागि अप्रेशन रेडिनेस एण्ड एरर्पोट ट्रान्सर्पोटसँग आवश्यक पर्ने कुराहरु बारे छलफल भइ काम भइरहेको छ । त्यसबाहेकको प्याराग्लाईडिङलाई वैकल्पिक स्थानमा सार्नुपर्ने छ । यस कामको पनि चाँडैनै टुङ्गो लाग्ने गौतमले बताए ।


क्लिकमान्डु