उच्च आयातले झस्कियो राष्ट्र बैंक, आयातमा सीमा तोक्ने र डलर साट्न कडाइ



काठमाडौं । लकडाउनमा हटेसँगै आर्थिक गतिविधि बढेसँगै बढेको उच्च आयातले समग्र वित्तीय प्रणालीमा असर देखिन थालेको छ ।

२०७६ साल चैतमा सरकारले कोरोना भाइरस नियन्त्रण गर्नको लागि लकडाउन लगाएको थियो । नेपालीहरु बैदेशिक रोजगारीमा गएका देशमा पनि कोरोना भाइरसको कारण लकडाउन भएको हुँदा रेमिटेन्स घट्ने हुँदा अर्थतन्त्रमा प्रभाव पार्ने अनुमान थियो ।

तर,रेमिटेन्स भने बढ्यो । यद्यपी कोरोना भाइरसको कारण अर्थतन्त्र नेगेटिभमा गएपनि रेमिटेन्सको बढेको तथा आयात कम भएको कारण शोधानान्तर बचतमा गयो । लकडाउनको कारण ऋणको माग नभएको तथा रेमिटेन्सको बढ्दो आप्रवाहले बैंकिङ प्रणालीमा तरलता सहज भयो ।

तर,लकडाउन हटेसँगै आर्थिक क्रियाकलाप बढेपछि भएको उच्च आयातले शोधानान्तर घाटामा गयो । अनौपचारिक माध्यमबाट रेमिटेन्स आएको कारण रेमिटेन्स घट्दा बैंकिङ प्रणालीमा तरलताको अभाव भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको आयात भएको छ । निर्यात ४४ अर्ब रुपैयाँको भएको छ । ४४ अर्ब रुपैयाँको निर्यातमा भट्मासको तेलको हिस्सा बढी छ । व्यवसायीहरुले अर्जेन्टिनाबाट भट्मासको तेल आयात गरेर भारत निर्यात गरेका छन् ।

उच्च आयातको कारण साउन महिनामा शोधानान्तर ३८ अर्ब रुपैयाँले घाटामा गएको छ । भदौ महिनाको आयात हेर्दा भदौमा शोधानान्तर घाटा ६० अर्ब रुपैयाँ हुने अनुमान गर्न सकिन्छ । साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँको रेमिटेन्स आएको छ । अघिल्लो वर्षको साउन महिनाभन्दा १८.१ प्रतिशतले कमी हो ।

आर्थिक गतिविधि पुनः सञ्चालनमा आउन थालेपनि अनौपचारिक माध्यमबाट रेमिटेन्स आएको कारण औपचारिक माध्यमबाट आउने रेमिटेन्स घटेको हो । उच्च व्यापारघाटाले शोधानान्तर घाटामा लगेपछि विदेशी सन्चिती समेत घटेको छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आएर साउन मसान्तमा १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ साउन मसान्तमा २.८ प्रतिशतले कमी आर्ई ११ अर्ब ४२ करोड रहेकोे छ ।

राष्ट्र बैंकले विदेशी सन्चितीमा कमी आएपछि विदेश जाने नेपालीलाई दिने अमेरिकी डलर कम दिन अनौपचारिक रुपमा परिपत्र जारी गरेको छ । राष्ट्र बैंकले डलर कार्ड जारी गर्न दिएपनि नगद बोक्नको लागि निरुत्साहन गरेको जनाएको छ ।

हाल कायम व्यवस्थाअनुसार विदेशमा रोजगारीका लागि जाने कामदारले प्रतिव्यक्ति बढीमा २ सय अमेरिकी डलर र घुम्न (पर्यटक भिसामा) जानेले प्रतिव्यक्ति बढीमा १ हजार ५ सय अमेरिकी डलर सटही गन गर्न पाउने व्यवस्था छ ।

पर्यटक भिसामा गएका व्यक्तिले तोकिएको सिमाभन्दा बढी डलर सटही गरेको हुँदा केन्द्रिय बैंकले यसमा कडाई गरेको हो । राष्ट्र बैंकले विदेश जादा सटही गर्न पाउने डलरको सिमालाई घटाउन सक्ने संकेत दिएको छ । यसबाहेक उच्च आयात भइरहेका केही वस्तुको आयातमा कडाई गर्ने सुझाव केन्द्रिय बैंकले दिएको छ ।


क्लिकमान्डु