नागढुंगा सुरुङमार्गको काम तीव्र गतिमा, दैनिक औसत १२ मिटर खनिँदै



काठमाडौं । काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा र धादिङपट्टीको नौबीसे सिस्ने खोला जोड्ने सुरुङ मार्गको काम तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाका निर्देशक नरेशमान शाक्यकाअनुसार सुरुङमार्गको काम हाल १ हजार ५५२ मिटर सकिएको छ ।

‘दैनिक १२ मिटरका दरले सुरुङ खन्ने काम तीव्रताका साथ अगाडि बढेको छ, हालसम्म २८ प्रतिशत सकिएको छ,’ शाक्यले भने ।

शाक्यका अनुसार सुरुङ खन्ने काम दिन र रात गरी दुई सिफ्टमा काम भइरहेको छ । निर्धारित समयमा आयोजना सम्पन्न हुनका लागि अझै ११ महिना छ । जसमा अझै ७२ प्रतिशत काम बाँकी छ ।

विश्वभरी फैलिएको कोरोना भाइरस महामारीका कारण निर्माणलगायतका विकासका गति सुस्ताएका बेलामा नागढुंगा–सिस्ने खोला खण्डको सुरुङमार्ग निर्माण काम भने चलिरहेको छ ।

‘शुरुका केही दिनमा कारोना महामारीलगायतका केही समस्याका कारण कामले गति लिन सकेको थिएन, तर अहिले त्यस्तो समस्या छैन,’ शाक्यले भने ।

नागढुङ्गा– सिस्ने खोला खण्डको सुरुङमार्ग निर्माणको काम सन् २०२० को डिसेम्बर २३ तारिखदेखि शुरु गरिएको थियो । जापान सरकारको करिब १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ गरी साढे २२ अर्ब रुपैयाँ लागत अनुमान गरी सुरुङ निर्माणको काम शुरु गरिएको थियो ।

धादिङ र काठमाडौंतर्फ पाँच–पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग निर्माण तथा उक्त क्षेत्रमा पर्ने जग्गाको मुआब्जाका लागि आवश्यक रकम सहित आयोजनाको लागत साढे २२ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

जापानिज कम्पनी हाज्मा आन्द्रो जेभीले करिब १३ अर्ब रुपैयाँमा आयोजना निर्माण गर्न सम्झौता गरेको हो । यस्तै नेपाल सरकारले साइट क्लियरेन्स गर्दै सुरुङमार्गका लागि आवश्यक निर्माण सामग्री झिकाउन अर्थमन्त्रालयबाट भन्सार छुटको व्यवस्था समेत मिलाएको थियो । त्यसपछि मात्र सुरुङमार्ग निर्माणको काम शुरु गरिएको हो । सुरुङमार्गको कुल लम्बाई २.६८ किलोमिटर हुनेछ । जसमा २ वटा लेन हुनेछन् ।

हालसम्मको प्रगति
आयोजना कार्यालयका अनुसार सुरुङ खन्ने काम हालसम्म १ हजार ५५२ मिटर भौतिक प्रगति भइसकेको छ । जसमध्ये काठमाडौंतर्फको मुख्य सुरुङमार्गमा २१५ मिटर र धादिङतर्फ २४१ मिटर गरी ४५६ मिटर लम्बाईको काम सम्पन्न भएको छ । त्यस्तै निकासी सुरुङमार्गमा धादिङतर्फ ५४९ मिटर र काठमाडौंतर्फ ३८२ मिटर गरी जम्मा ९३१ मिटर काम सकिएको कार्यालयको तथ्यांक छ ।

धादिङको वर्किङ अडिट क्षेत्रमा मात्र १२६ मिटर काम सम्पन्न भएको कार्यालयको भनाइ छ । काठमाडौंतर्फको क्रस प्यासेज २३ मिटर सकिएको छ भने धादिङतर्फ १५ मिटर क्रस प्यासेजको निर्माण कार्य सकिएको आयोजनाको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

आयोजनाबाट हुने फाइदा
राजधानी काठमाडौं भित्रिने मुख्य नाकाका रुपमा रहेको नागढुंगामा लामो समयदेखि ट्राफिक जामको समस्या हटाउन सरकारले सुरुङ निर्माणको काम अगाडि बढाएको हो । सुरुङ निर्माण भएसँगै यस क्षेत्रमा हुने ट्राफिक जामको समस्या हट्ने अपेक्षा गरिएको छ । जसबाट यो मार्ग भइ राजधानी भित्रिने र बाहिरिने यात्रुले लामो समयदेखि भोग्दै आएको जामको समस्या हट्ने अपेक्षा गरिएको छ ।

सुरुङ निर्माण सञ्चलानमा आएसँगै हाल उक्त सडक खण्डको दूरी तय गर्न १ घन्टा ४० मिनेट लाग्दै आएकोमा यो घटेर १० मिनेटमा सीमित हुनेछ । साथै दुरी पनि ३ किलोमिटर छोटो हुनेछ ।

यो सुरुङमार्ग निर्माण जति महत्वपूर्ण र त्यती नै आवश्यक पनि छ । हाम्रो जस्तो पहाडी बाटोमा सडक यातायात सहज नभइरहेको समयमा सहजताका लागि सुरुङ निर्माण पहिलो विकल्प बनेको छ । यो सुरुङमार्ग निर्माण भइसकेपछि नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराउने विज्ञहरुको तर्क छ । यो नेपालको गाडी गुडाउन मिल्ने पहिलो सुरूङमार्ग हुनेछ ।

साथै सुरुङमार्ग आयोजनाबाट प्रविधि हस्तान्तरणको शुरुवात पनि हुनेछ । जस्ले गर्दा हाम्रै देशका इञ्जिनियरहरुले सिक्ने मौका पाउने विज्ञहरुको भनाइ छ । साथै यो सुरुङमार्ग निर्माणभएपछि अन्य संरचना निर्माणका लागि पनि सिकाइ हुने उनीहरुको बुझाइ छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि सबै खाले सवारी साधन गुड्न भने पाउने छैनन् । मोटरसाइकल, धेरै लोड बोक्ने र इन्धनका सवारी साधनले हालकै सडक प्रयोग गर्नुपर्नेछ ।

मुआब्जा अझै दिन बाँकी
आयोजना प्रभावित क्षेत्रमा भएको जग्गा प्रयोग गरे वापत जग्गाधनीलाई सरकारले अझै मुअब्जा वितरणको काम सकेको छैन । हालसम्म धादिङतर्फका जग्गाधनीले मुआब्जा पाए लपनि काठमाडौंतर्फ बलम्बु क्षेत्रका जग्गाधनीलाई भने अझै मुआब्जा वितरणको काम नसकिएको आयोजना प्रमुख शाक्यको भनाइ छ ।

‘मुआब्जा वितरणको काम निरन्तर छ, तर जग्गाधनीहरुले भने मुआब्जा वितरण नहुँदासम्म फ्लाइओभरको काम अघि बढ्न नदिने बताउँदै आएका छन् । यो समस्या छिट्टै समाधान हुन्छ,’ शाक्यले भने ।

सरकारले आवश्यक रकम उपलब्ध गराउन ढिलाइ गरेकाले मुआब्जा वितरणको काम रोकिएको उनको भनाइ छ । उनका अनुसार १२ रोपनीक्षेत्रफलका लागि करिब १ अर्ब १० करोड रुपैयाँ मुआब्जा भुक्तानी गर्न अझै बाँकी छ ।

तर यसका लागि सरकारी तवरबाट गर्नुपर्ने काम अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिए । तर फ्लाइओभरको मुनीपट्टीको काम भने जारी छ । धादिङतर्फ पर्ने सुरुङमार्गको राइट अफ वेका ५ वटा घर र टहराको विषयमा अख्तियारमा मुद्दा चलिरहेको छ ।

‘मुद्दाको फैसलामा भइको ढिलाइका कारण उक्त क्षेत्रमा निर्माण हुनुपर्ने सर्भिस सेन्टर र यान्त्रिक स्टोरको काम हुन सकेको छैन,’ उनले भने ।
आयोजनाका निर्देशक शाक्यका अनुसार नेपाल आयल निगमको डिपो नजिकै, धादिङतर्फ रहेको आयोजनाको मुख्य सुरुङमार्गतर्फ फ्लाइओभरको संरचना निर्माणको काम शुरु भइसकेको छ ।

‘आयोजनाको मुख्य सुरुङमार्ग धादिङमा हुनेछ र नेपाल आयल निगमको डिपो नजिकै एउटा फ्लाइओभर निर्माण गरिनेछ । फ्लाइओभर र पहुँच सडकको निर्माणको कामले पनि चाँडै गति लिनेछ,’ शाक्यले भने ।


क्लिकमान्डु