कानूनी प्रक्रिया ढिलाइले अलपत्रमा टेकुको पुल, ठेकेदारको चरम लापरबाही



काठमाडौं । दैनिक लाखौंको संख्यामा यात्रु मानिसहरु आवतजावत गर्ने टेकु पुल विगत ६ वर्षदेखि अलपत्र पारिएको छ । पुलको निर्माणका विषयमा अहिले मुद्दा चलिरहेको छ । मुद्दाको फैसला कहिले हुन्छ र कस्को पक्षमा हुन्छ भन्ने कुराको केही भन्न सक्ने अवस्था छैन ।

सडक विभागले सडक बिस्तार त गर्यो तर पुलको काम समयमा नसकिदा आम नागरिकले घण्टौ सम्म ट्राफिक जामको दुःख खेप्नु परिरहेको छ । त्रिरपुरेश्वरबाट र कलङ्कीबाट टेकु पुलसम्म सडक फराकिलो पारिएको वर्षौ भइसकेको छ । तर बीचमा त्यही पुल उपभोग गर्न नपाउँदा सडक बिस्तार हुन सकेको छैन ।

पुलको संरचाना हेर्दा लाग्छ लगभग बनिसकेको छ । तरः त्यो संरचना फेरि भत्काएर अर्को नयाँ खडा गर्नुपर्ने परिस्थितीमा रहेको सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले बताए ।

‘चाँडोभन्दा चाँडो दुबै पक्ष प्रतिवाद गरेर हामी पुलको काम अगाडि बढाउने तयारीमा छौं । अहिले मुद्दा मध्यस्थतामा छ । कानूनी प्रक्रिया बाँकी छ । छिटो निर्णय आउँछ भन्ने आशामा छौं । कानूनी प्रक्रिया नटुङगेकाले हामी कुरेर बसेका छौं,’ नेपालीले भने ।

मध्यस्थतामा रहेको मुद्दा भनेको जिल्ला अदालत सरह भएको नेपालीको भनाइ छ ।

‘यो आन्तरिक र विभागीय निर्णय होइन, कानूनी प्रक्रियाका कारण ढिलाइ भएको हो । हामी फैसला पर्खिरहेका छौं,’ उनले भने ।
टेकुपुल बनाउन सरकार दुई हिसाबले नै तयार रहेको उनको भनाइ छ ।

‘भत्काएर बनाउनु पर्ने हुनसक्छ भन्ने आधारमा कानूनी पर्खाइमा थियो त्यसका लागि पनि बजेट व्यवस्था गरेर हामी तयार छौं,’ उनले भने, ‘हाम्रो पक्षमा मुद्दा फैसला भयो भनि हामी भत्काएर नयाँ संरचना बनाउछाैं।’

अर्कातिर पुल संरचना पूरा भइसकेको छ । तर, भुक्तानी सबै नभएको अवस्था छ । भुक्तानी गरेको भए पनि सरकारी पक्षले फिर्ता लिने पनि नेपालीले बताए । त्यस्तो स्थिति भएन या सरकारी पक्षमा आएन भनि फेरि कानूनी उपचार खोज्नुपर्ने अवस्था आउने उनको भनाइ छ । त्यो सबै गर्नपनि तयार रहेको उनले बताएका छन् ।

पुलको विवाद के हो ?
पुलको काम २०७५ सालमा नै सकेको थियो । पप्पु कन्स्ट्रक्सनले गरेको लापरबाहीका कारण अहिलेसम्म पनि विवादमा रहेको छ । टेकुको पुल निर्माणको मुख्य विवाद पुल निर्माणका लागि आवश्यक पर्ने केबलमा लचकता नहुनु र ढलानमा प्रयोग भएको कंक्रिट पनि तोकिएको गुणस्तर अनुसार नभएको प्राविधिक जाँचमा पुष्टि भएकाले ठेक्का नै रद्द गर्न परेको नेपालीले बताए ।

पुल निर्माणको माथिल्लो खण्ड (सुपर स्ट्रक्चर) अन्तर्गत बिम (गर्डर) मा राखिएको तन्किने तार (टेनडम केबल) को गुणस्तर र त्यसको साइज तोकिएअनुसार नहुनु नै प्रमुख विवाद हो । पुल डिजाइन गर्दा तन्किने तारको ब्यास (डायमिटर) १५.७ मिलिमिटर हुनुपर्ने उल्लेख थियो । तर, ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले १५.२ मिलिमिटर मात्र भएको तार राखेर बिममा ढलान गरेको सरकारी प्राविधिक टोलिको जाँचले पुष्टि गरेको थियो ।

पप्पुले आवश्यकताअनुसार तन्किन सक्ने तार नराख्दा पुलको दीर्घकालीन सञ्चालनमा समस्या आउन सक्ने प्राविधिक टोलिको भनाइ रहेको छ । टेकु पुलमा कुल ७ वटा बिम निर्माण गर्नुपर्ने थियो । ती प्रत्येक पुलमा ३ वटा गरी कुल २१ वटा तार राख्नु पर्नेमा निर्माणमा प्रयोग भएको तार तोकिएको मापदण्डभन्दा फरक भएको हो ।

आयोजना हेर्ने कार्यालयले पप्पुलाई बिममा मापदण्डअनुसार तोकिएको तार राखेर कंक्रिट गर्न पटक–पटक निर्देशन दिएको थियो । तर, कम्पनीले अस्वीकार गर्दै आएको कुरा पनि नेपालीको भनाइ छ । तर पप्पुले सरकारी निर्देशनको अवज्ञा गर्दै बिममाथि स्ल्याब राखेर ढलान गरिसकेको छ । अहिले पुलको काम सम्पन्न भइसकेको पप्पुको दाबी छ । सोहीअनुसार पुल अलपत्रमा परेको छ ।

हाल पुलको मुद्दा मध्यस्थतामा
टेकु पुलबारे अझै भत्काउने या यथावत अवस्थामै संचालन गर्ने भन्ने प्रक्रिया अघि बढेको छैन । ‘चाँडै नै मुद्दाको फैसला होस् भन्ने पक्षमा छौं,’ सडक विभागका महानिर्देशक थापाले भने ।

पुल निर्माणमा चरम लापरबाही देखिएपछि ठेक्का रद्द गर्न लाग्दा निर्माण व्यवसायी आर्बिट्रेसन मध्यस्थतामा गएको थियो ।

आर्बिटेसन कमिटीले पुलमा ‘लोड टेस्ट’ गरेर तोकिएको भार थाम्ने देखिए निर्माण गरेको पुल स्वीकार्न र नभए अस्वीकार गरी भत्काउनुपर्ने निर्णय गरेको थियो । तर, सडक विभागले आर्बिटेसन कमिटीको निर्णय अस्वीकार गरेको थियो । पुल निर्माण गर्दा नै ठेकेदारले प्राविधिक कमजोरी गरेकाले भार परीक्षण गर्न आवश्यक नै नभएको, बरु भत्काएर नयाँ ठेक्कामा जाने विभागको तयारी रहेको नेपालीले बताए ।

टेकु पुल भत्काएर नयाँ ठेक्का लगाउँदा अहिलेसम्म निर्माण भएकामध्ये मापदण्डमा रहेर निर्माण भएको संरचनासम्म यथावत् राखिने पनि नेपालीको भनाइ छ ।

‘जुन संरचना मापदण्डअनुसार छैन, त्यस्ता संरचनालाई भने भत्काइनेछ । त्यसपछि निर्माण गर्न बाँकी संरचनाका लागि नयाँ ठेक्का लगाइनेछ । त्यस्तै, मापदण्डअनुसार सम्पन्न भइसकेका संरचनाको भने ठेकेदारलाई भुक्तानी उपलब्ध गराइनेछ,’ नेपालीले भने ।

अर्कोतर्फ ठेकेदार कम्पनी पप्पुले पनि पुल निर्माण गर्दा सबै प्रक्रिया पूरा गरेको र सडक विभागले निर्माण भएको पुललाई स्वीकार गर्नुपर्ने बताउँदै आएको छ ।

तर पछिल्लो समय पप्पुले पनि अदालतको फैसलालाई कुरेर बसेको नेपालीको भनाइ छ ।

पुल भत्काउनुका विकल्प केहो?
२०७५मा डिभिजन कार्यालय काठमाडौंले पुलमा कमजोरी भएको भाग भत्काएर नयाँ बनाउन निर्देशन दिएको थियो । पप्पु कन्स्ट्रक्सनले भने यही ठीक छ, यही तपाईंहरूले स्वीकार गर्नुपर्छ भनेर दबाब दिँदै आएको थियो । पप्पुले पुल सम्पन्न भइसकेकाले पूरै भुक्तानी दिन दाबी समेत त्यस समय गरिरहेको थियो ।

डिभिजन कार्यालय काठमाडौंका प्रमुख नेपालीका अनुसार भने ६८ प्रतिशत मात्र काम भएको पुष्टि हुन्छ ।

डिभिजन काठमाडौंको अबको योजना
सडक डिभिजन काठमाडौंका प्रमुख नेपालीकाअनुसार २ महिनाभित्र टेकु पुलको टुङ्गो लाग्न सक्ने र यो हिउँदलाई उपयोग गर्ने पक्षमा रहेका छौँ । कानूनी कुरामा आफूहरु बोल्न न मिल्ने पनि उनले बताए ।

‘गलत भएको प्रमाणकै आधारमा ठेक्का तोडिएको र सरकारले त्यसको मुद्दा लडिरहेको छ,’ नेपालीले भने, ‘प्राविधिक कुरा कहिले पनि शतप्रतिशत गलत र ठीक हुन्छ भन्ने कुरा हुँदैन ।’

पप्पुले टेकुमा गरेको लापरबाहीे गाडी कुद्ने (सुपरस्टक्चर) मा हुनाले प्राविधिक जाँच अन्तिममा हुने कारण संरचना बनेपछि विवाद आएको नेपालीले बताए ।


क्लिकमान्डु