रेमिट्यान्स घटेपछि साउन महिनामा शोधानान्तर ३८ अर्ब रुपैयाँले घाटामा



काठमाडौं । रेमिटेन्स घटेपछि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा शोधानन्तर ३८ अर्ब रुपैयाँले घाटामा गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिती अनुसार शोधानान्तर ३८ अर्ब रुपैयाँले घाटामा गएको हो । अघिल्लो वर्ष साउन महिनामा ५१ अर्ब ४६ करोड रुपैयाँले शोधानान्तर बचतमा थियो ।

साउनमा उच्च आयात बढेको तथा रेमिटेन्स घटेको कारण बैंकिङ क्षेत्रमा तरलता अभाव समेत देखिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा अघिल्लो वर्षको साउनको तुलनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आएर ७५ अर्ब ९६ करोडको आएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले घटेर ६३ करोड ८२ लाख रुपैयाँको आएको थियो ।


साउन महिनामा बैदेशिक रोजगारीमा जानेको संख्या भने अघिल्लो वर्षको साउन महिनाको तुलनामा बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३, हजार ८ सय पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८०.० प्रतिशतले घटेको थियो ।

साउन महिनामा चालु खाता ४७ अर्ब ९० करोड रुपैयाँले घाटामा गएको छ । अघिल्लो वर्षको साउन महिनामा चालु खाता २४ अबए ८९ करोडले बचतमा थियो ।

समीक्षा अवधिमा चालु खाता रु.४७ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२४ अर्ब ८९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्ष साउन महिनामा व्यापारघाटा २२ प्रतिशतले घटेको थियो ।

ड। आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात ११५.९ प्रतिशतले बढेर २० अर्ब ७६ करोड पुगेको छ । वस्तु आयात ७५.७ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ७३ करोड पुगेको छ ।


क्लिकमान्डु