आगलागीको डेढ महिनामै नेबिकोको उत्पादन शुरु, १ अर्ब लगानी थप्दै



काठमाडौं । आगलागीबाट ध्वस्त भएको नेबिकोले फेरि उत्पादन शुरु गरेको छ । जसलाई कम्पनीले ‘नेबिको इक ब्याक फ्रम एसेस’ भनेको छ ।

गत साउन २३ गते राति २ बजे शुरु भएको आगलागी निभाउनका लागि दिउँसो २ बजेसम्म कुर्नुपरेको थियो । जसबाट मेसिन, भवन र गोदाम ध्वस्त भएका थिए । कार्यरत १ हजार कर्मचारी कामबिहीन भए भने उद्योगले पुनर्जीवन कहिले पाउँछ भन्ने अन्यौलता छायो ।

गोदाममा रहेका १० करोड बराबरका सामानसहित भवन र मेसिन १२ करोड गरी २२ करोड रुपैयाँ बराबरको क्षति आगलागीका कारण भइसकेको छ । यदि मेसिन फेर्नु पर्ने अवस्था आयो भने यो क्षति ७० करोड रुपैयाँसम्म पुग्न सक्ने कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले भने ।

कम्पनीका अनुसार कम्पनीमा यसअघि एउटा विद्युत् र अर्को डिजलबाट सञ्चालन हुने मेसिन थिए, आगलागीबाट विद्युत्बाट चल्ने मेसिन क्षतिग्रस्त भएको छ । जसका कारण हाल डिजलबाट सञ्चालन हुने मेसिन मात्रै चलाइएको छ ।

तर यसबीचमा करिब डेढ महिनामा कम्पनीको टीम एक ढिक्का भयो र फेरि उसैगरी उत्पादन शुरु गर्न थालिसकेको छ । यद्यपि आगलागीका कारण सिर्जित घाउहरु पूर्णरुपमा निको भइसक्न भने कम्पनीलाई केही समय भने पक्कै लाग्नेछ ।

रौनियारका अनुसार कम्पनीका कर्मचारीले यसबीचमा दैनिक १८ घण्टासम्म निरन्तर काम गरेका छन् ।

‘आगलागीबाट ध्वस्त भएको उद्योग सामान्यतयाः यति छिट्टै सञ्चालनमा ल्याउनु सानो विषय होइन, हाम्रो टीमले १८ घण्टासम्म काम गरेको प्रतिफल आज उद्योग फेरि सञ्चालन हुन सकेको छ,’ रौनियारले भने ।

नेबिकोसँग बिस्कुट उत्पादन गर्ने कम्पनी मात्रैको पहिचान छैन । २०२१ सालमा स्थापना भएको यो नेपालको पहिलो बिस्कुट कम्पनी हो । यसबीच कम्पनीले विभिन्न राजनीतिक र आर्थिक अभावसँगै व्यवस्थापन समेत परिवर्तन गरेको छ ।

‘दुई वटा मेसिनमध्ये एउटा मेसिन चलाउन सकिएको छैन, एउटा भवन हरियो पर्दापछाडि कोमामा छ,’ कम्पनीका महाप्रबन्धक केशब भट्टराईले क्लिकमाण्डूसँग भने, ‘आशा छ यो घाउ पनि छिट्टै निको हुनेछ ।’

५८ वर्षको इतिहास बोकेको कम्पनीबाट उत्पादित बिस्कुट र अन्य उत्पादनहरु नेपाली बजारमा ठूलो हिस्सा ओगटिरहेको अवस्थामा आगलागीबाट बजार हिस्सा गुम्ने मात्रै नभइ उपभोक्ताको ब्राण्डमाथिको विश्वास पनि छुट्ने अवस्थामा पुगेको थियो ।

तर यसबीच कम्पनीले तीव्र गतिमा काम गर्न सक्यो र ४४ दिन नपुग्दै फेरि उत्पादन शुरु गरिसकेको छ ।

‘आगलागीबाट हाम्रो टीम विक्षिप्त बनेको थियो, अब के गर्ने भन्ने थाहा थिएन । तर संयमताका साथ काम गर्यौ । पुनर्जीवन दिन ४ वटा टीममा विभाजित भएर काम शुरु गर्यौ । नभन्दै अपेक्षाकृत समयमै फेरि पुरानै लयमा फर्काउने प्रयासमा सफल भएका छौं,’ महाप्रबन्धक भट्टराईले भने ।

काठमाडौं बालाजुको औद्योगिक क्षेत्रको उद्योगमा आगलागी भए पनि ४ वर्षअघि भैरहवामा शुरु गरेको कम्पनीबाट नेबिको ब्राण्डमै बिस्कुट उत्पादन जारी थियो । त्यहाँ दैनिक १६ घण्टा चल्ने मेसिनलाई कम्पनीले आगलागी लगत्तै २४ घण्टा पुर्यायो । यसले कम्पनीका उपभोक्तामाझ बिस्कुटको आपूर्ती कम हुन दिएन ।

उसो त अहिले पनि बालाजु औद्योगिक क्षेत्रभित्रको उद्योगबाट १६ टन मात्रै उत्पादन भइरहेको छ । आगलागी हुनुअघि यस उद्योगबाट दैनिक औसतमा २२ टन उत्पादन हुन्थ्यो । अब कम्पनीको उत्पादन पूर्ण क्षमतामा बढाउनका लागि केही समय लाग्ने महाप्रबन्धक भट्टराईको भनाइ छ ।

१ अर्ब लगानी थप्दै

आगलानीपछि कम्पनीले आफूलाई खरानीबाट उठ्न सफ भएको बताएको छ । कम्पनीले पुनर्जीवन मात्रै पाएको छैन, आक्रामक रणनीतिका साथ बजारमा उत्रने योजना बनाएको छ । महाप्रबन्धक भट्टराईका अनुसार कम्पनीले काठमाडौं बाहिर, भैरहवासँगै दाङ, हेटौंडा र बिराटनगरमा पनि उद्योग शुरु गर्न लागेको छ । जसका लागि आगामी २ वर्षभित्रमा थप १ अर्ब रुपैयाँ लगानी हुने भट्टराईको भनाइ छ ।

हेटौंडामा ५० करोडमा नयाँ उद्योग

कम्पनीले काठमाडौं बाहिर भैरहवाबाहेक हेटौंडामा नयाँ बिस्कुट उद्योग स्थापना गर्ने तयारी गरेको छ । जसका लागि कम्पनीले शुरुमा ३५ करोड र पछि १५ करोड गरी ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

‘उद्योगबाट बिस्कुट र कन्फेसनरीहरु उत्पादन हुनेछन्, ५४ इञ्जको प्लेट भएको मेसिन जडान गरिनेछ । आगामी माघ १ गतेदेखि उत्पादन गर्ने गरी काम अगाडि बढाएका छौं,’ महाप्रबन्धक भट्टराईले भने । उक्त उद्योगबाट दैनिक १ हजार टन उत्पादन हुनेछ ।

दाङमा प्रशोधित पानी

कम्पनीले दाङको राम्रीमा पानी प्रशोधन कम्पनी स्थापना गर्ने तयारी गरेको छ । १ बिघा क्षेफलमा फैलिने उक्त उद्योगबाट प्रत्येक घण्टा १६ हजार वटा बोतलमा पानी प्रशोधन भएर तयार हुनेछ । यसका लागि कम्पनीले शुरुवातमा ५ करोड रुपैयाँ लगानी गर्नेछ । कम्पनीले भविष्यमा उक्त स्थानबाट इनर्जी ड्रिग्स समेत उत्पादन गर्ने तयारी गरेको छ ।

बिराटनगर

कम्पनीले भविष्यमा बिराटनगरमा पनि उद्योग खोल्ने योजना बनाएको छ । महाप्रबन्धक भट्टराईका अनुसार कम्पनीले पूर्वको बजारलाई लक्षित गरी बिराटनगरमै उद्योग खोल्ने योजना बनाएको हो । यसका लागि अहिले योजना बनाइरहेको उनको भनाइ छ ।

५८ वर्षको इतिहास

२०२१ सालमा स्थापना भएको कम्पनीले शुरुमा २४ इञ्च र ३९ इञ्जका प्लेटहरु जडान गरिएको थियो । कम्पनीले २०६१ सालमा विभिन्न कारणले बन्द हुने अवस्थामा पुगेको कम्पनीमा २०६४ सालमा नयाँ व्यवस्थापन भित्रिएको थियो ।

जसले २०६५ सालदेखि व्यवस्थापक टेक ओभर गरेको थियो । कम्पनीले २०६९ सालदेखि बन्द हुन लागेको र कालोसूचीमा परेको मैदा मिल पनि सञ्चालन शुरु गरेको थियो । कम्पनीले तत्कालीन समयमा उक्त कम्पनीले भुक्तानी गर्न बाँकी रहेको सम्पूर्ण रकम भुक्तानी गरेपछि हाल राम्रोसँग सञ्चालन भइरहेको छ ।

कम्पनीको उद्योगबाट २०७३ सालदेखि नेबिको कन्फेसनरी उत्पादन शुरु गरेको थियो । त्यसैगरी २०७४ सालमा भैरहवामा रहेको अरुको बन्द हुन लागेको कम्पनी खरिद गरी कम्पनीले नेबिको ब्राण्डमा बिस्कुट उत्पादन शुरु गरेको थियो ।

कम्पनीले २०७६ सालमा तेस्रो प्रडक्टका रुपमा कुकिज उत्पादन शुरु गर्ने तयारी गरेपछि कोभिडका कारण सञ्चालनमा केही ढिलाइ भएसँगै २०७७ सालमा उत्पादन शुरु गरेको थियो ।

तत्कालीन समयमा ललिपप उत्पादनको तयारी भए पनि चीनबाट मेसिन ल्याउन ढिलाइभएका कारण केही समय अघि मात्रै उत्पादन शुरु गरेको छ । साथै कम्पनीले सिरियल्स उत्पादन शुरु गरेको छ । जसमा ओट्स, चोकोस र कर्नफ्लेक्स उत्पादन शुरु गरिसकेको छ । कम्पनीले केही समयभित्र चिउरा र सोयाबिन समेत उत्पादन शुरु गर्ने तयारी गरेको छ ।


कमलकुमार बस्नेत