एयर इन्डिया खरिदमा टाटाको रुचि, ६८ वर्षपछि फेरि फर्कन सक्छ स्वामित्व



करिब ६८ वर्षपछि भारतीय विमान कम्पनी एयर इन्डिया फेरि पुरानै स्वामित्वमा फर्कने संकेत देखिएको छ । टाटा ग्रुप तथा स्पाइसजेटका अध्यक्ष अजय सिंहले एयर इन्डिया खरिद गर्नका लागि बोली लगाएका छन् । बोली लगाउनका लागि आज अन्तिम दिन थियो ।

एयर इन्डिया शुरुमा टाटा ग्रुपको स्वामित्वमा नै थियो । बोली लगाउने कम्पनीमध्ये एकले आगामी डिसेम्बरसम्म एयर इन्डियाको स्वामित्व ग्रहण गर्नेछ ।

सन् १९३२ मा टाटाले शुरु गरेको थियो एयर इन्डिया
एयर इन्डिया सन् १९३२ मा टाटा ग्रुपले नै खरिद गरेको थियो । टाटा समूहका जे आर डी टाटा यो विमानको संस्थापक थिए । उनी आफै पनि पाइलट थिए । तत्कालीन समयमा विमानको नाम टाटा एयर सर्भिस थियो । सन् १९३८ सम्म कम्पनीले आन्तरिक उडान शुरु गरिसकेको थियो ।
दोस्रो विश्वयुद्धपछि कम्पनीलाई सरकारले खरिद गरेको थियो । भारत स्वतन्त्र भएपछि कम्पनीको ४९ प्रतिशत सेयर खरिद गरेको थियो ।

यो डिल अन्तर्गत एयर इन्डियाको मुम्बईस्थित मुख्य कार्यालय तथा दिल्लीको एयरलाइन्स हाउस पनि छ । मुम्बईको कार्यालयको मार्केट भ्यालु १५ सय करोड भारु भन्दा बढी छ । वर्तमान समयमा एयर इन्डियासँग देशमा ४४ सय तथा विदेशमा १८ सय ल्यान्डिङ तथा पार्किङ स्लट छ ।

ठूलो कर्जामा डुबेको छ कम्पनी
यसअघि ठूलो कर्जा बोकेको कम्पनीलाई बिक्री गर्ने योजनामा सरकार फेल भएको थियो । सरकारले सन् २०१८ मा ७६ प्रतिशत हिस्सेदारी बिक्री गर्नका लागि बोली लगाएको थियो । तर तत्कालीन समयमा सरकारले व्यवस्थापन आफैसँग राख्ने निर्णय गरेको थियो । तत्कालीन समयमा कुनै पनि कम्पनीले विमान खरिदका लागि रुचि देखाएका थिएनन् । सरकारले पछि व्यवस्थापन आफैसँगै राखेर शतप्रतिशत बिक्री गर्ने फैसउला गरेको थियो । अहिले त्यहाँका विमानमन्त्री ज्योतिरादित्य सिन्धियाले १५ सेप्टेम्बरपछि बोली लगाउने समय नबढाउने बताएका थिए ।

एयर इन्डिया सन् २००७ मा इन्डियन एयरलाइन्समा विलयपछि नाफा कमाउन छाडेको थियो । कम्पनीले सन् २०२१ को मार्चसम्म ९५००–१०००० करोड भारु घाटामा हुने आंशका व्यक्त गरेको थियो । एयर इन्डियामाथि सन् २०१९ मार्च ३१ सम्ममा कुल ६० हजार ७४ करोड भारु कर्जा थियो । एयरलाइन्स खरिद गर्नेले त्यसमध्ये २३ हजार २८६.५ करोड भारुको कर्जा बोझ लिनुपर्ने छ ।

ओभरसाइट कमिटिले १६ प्रोपर्टीको रिजर्भको मूल्य १० प्रतिशत कम गर्नका लागि स्वीकृति दिएको छ । किनभने कैयन पटक प्रोपर्टी लिलामी गरिएको थियो । तर मूल्य धेरै भएकाले खरिदार आएका थिएनन् । सन् २०२० को अक्टोबरमा सरकारले एयर इन्डियाको बिक्री यसको इन्टरप्राइज भ्यालुमा हुने बताएको थियो ।


क्लिकमान्डु