खाद्यान्नबाट सिफ्ट हुन डोलराजले देखेको सपना, डाइपरमा बहुराष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्दै ‘सगुन’



काठमाडौं । बालबालिकाका लागि डाइपर लगाउनु अहिले नौलो होइन । डाइपर नलगाई हुर्केकाहरु पनि सन्तानका लागि डाइपर अत्यावश्यक सामग्रीको सूचीमा राख्दै आएका छन् ।

स्वास्थ्यका लागि राम्रो हुनुका साथै प्रयोग र उपयोगितामा सहज हुँदा डाइपरको बजार यतिबेला सहरमा मात्रै सीमित नभई दूरदराजसम्म पुगेको छ ।

स्वास्थ्यको जोखिम बढ्दै जाँदा डाइपरको महत्वपनि बढेको पाइन्छ । तर, जसरी डाइपरको प्रयोग बढिरहेको छ, उसैगरी विदेशी डाइपरको आयातको ग्राफ पनि उकालो लागिरहेको छ ।

गत वर्षमात्रै १ अर्ब ६५ करोड रुपैयाँ बराबरको डाइपर भारतलगायतका देशबाट नेपाल भित्रिएको छ । अहिले पनि करिब आधा उपभोक्ताहरु विदेशी डाइपर नै खरिद गर्छन भने त्यसबाट अर्बौं रुपैयाँ विदेश गइरहेको अवस्था छ ।

केही वर्षअघिसम्म विदेशी डाइपरको बोलबाला भइरहेको नेपाली बजारमा बिस्तारै स्वदेशी उत्पादनका सेनिटरी प्याड र डाइपरले हिस्सा लिन थालेका छन् ।

डाइपर र सेनिटरी प्याडभित्रको यही व्यापारको अवसर ‘क्याच’ गर्ने उद्देश्यले तीन जना अधिकारी दाजुभाइले रुपन्देहीको मधौलियामा उद्योग स्थापना गरेका हुन् । कूल २ बिगाह रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट दैनिक १ लाख ५० हजार डाइपर र प्रतिमिनेट ७०० थान सेनिटरी प्याड उत्पादन भइरहेको छ ।

कैलालीमा आफ्नै व्यवसाय चलाइरहेका तीन दाजुभाइमध्येका माइला डोलराज अधिकारीले केही वर्षअघि भैरहवा नजिकै डाइपर र सेनिटरी प्याड उत्पादन गर्ने उद्योग स्थापना गर्ने सोच बनाएका थिए । त्यसमा दाजु तुलसीप्रसाद अधिकारी र भाइ गंगाधर अधिकारीले साथ दिए ।
उनीहरुले तत्कालीन समयमा २ अर्ब रुपैयाँ लगानीमा शुरु गरेको उद्योगमा यतिबेला ३०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

उद्योगबाट उत्पादिन प्रडक्टहरु देशभर रहेका ११५ वटा डिलरमार्फत् हरेक जिल्ला र गाउँसम्म पुगेको छ । र, बिस्तारै बजार हिस्सा बढाउँदै लगेको छ ।

‘अहिले मास प्रडक्सनमा डाइपर उत्पादन गर्ने २ वटा कम्पनीमात्रै छौं, बाँकी डाइपर विदेशबाट आयात गर्नुपर्छ,’ एजी हेल्थ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक डोलराज अधिकारीले क्लिकमाण्डूसँग भने, ‘प्रत्येक वर्ष व्यवसाय ३० देखि ३५ प्रतिशतले बढाइरहेका छौं । जसले गर्दा बजारमा बलियो उपस्थिती बन्दै गएको छ ।’

अध्ययनका सिलसिलामा राजधानी आएका अधिकारी दाजुभाइले व्यवसायको पहिलो विउ उपत्यकामै गरेका थिए । तत्कालीन समयमा किरानाको होलसेल पसल सञ्चालन गरेको केही वर्षपछि उनीहरु कैलाली पुगेका थिए । त्यहाँ केही डिस्ट्रिब्यूसन कम्पनी सञ्चालन गरेपछि उनीहरुले कैलालीमै २ रोपनी क्षेत्रफलमा खाद्यान्न सम्बन्धी उद्योग शुरु गरे ।

उनीहरुले उक्त उद्योगबाट चामल, चिउरा, भुजा, न्यूट्रेला जस्ता दैनिक उपभोग्य खाद्यान्नको उत्पादन शुरु गरे । त्यहाँबाट उनीहरुले पश्चिममा महेन्द्रनगरदेखि पूर्वमा काठमाडौंसम्म उत्पादन पुर्याए । उत्तरतर्फ सुर्खेत, हुम्ला, जुम्ला, डडेलधुला, कालिकोट र मुगुसम्म प्रडक्टको बजार फैलाउन सफल भए ।

तिलकप्रसाद र डोलराज अधिकारी

केही वर्ष उक्त उद्योग सञ्चालन गरेपछि तीनैजना दाजुभाइले व्यवसाय बिस्तार गर्ने योजना अनुसार केही वर्षअघि डाइपर र सेनिटरी प्याड उत्पादन गर्न शुरु गरेका हुन् । हाल कम्पनीमा मास्क र ट्वाइलेट पेपर पनि उत्पादन हुँदै आएको छ ।

उद्योगका लागि आवश्यक कपास क्यानडाबाट आयात गर्छन् । उनका अनुसार अन्य कच्चा पदार्थ अमेरिका, सिंगापुर, चीन र केही मात्रामा भारतबाट पनि आयात हुँदै आएको छ ।

विदेशी नाम चलेका ब्राण्डसँग प्रतिष्पर्धा गर्नु आफैंमा चुनौतीपूर्णमा उनीहरु जानकार छन् । त्यसैले सेल्सको तथ्यांकभन्दा पनि गुणस्तरको मापनमा बढी ध्यान दिएको कम्पनीका अध्यक्ष तिलकप्रसाद अधिकारी बताउँछन् ।

‘नेपाली उत्पादनको प्रयोग कम हुनुको कारण गुणस्तर नै हो, त्यसैले हाम्रो सबैभन्दा महत्वपूर्ण प्राथमिकता नै गुणस्तर हो । यसमा आजका दिनसम्म सफल भएका छौं र यसैलाई कायम राख्दै बजार हिस्सा बढाउनु चुनौतीपूर्ण छ,’ उनले भने ।

उनले नीतिगतरुपमा सहज बनाइदिने हो भने वर्षेनी डाइपर र सेनिटाइजर आयातबाट बाहिरिने अर्बौ रुपैयाँ रोक्न सकिने बताए ।

तीन दाजुभाइले कैलाली र रुपन्देहीको व्यावसायमा बाँडफाँट गरिसकेका छन् । उत्पादन कान्छो भाइले हेर्छन् भने माइलो भाइले बैंक तथा खरिदको कारोबार सम्हाल्छन् । जेठो दाजु तिलकले डाइपर र सेनिटरी प्याडको बिक्रीका साथै कैलालीको उद्योगको खरिदको जिम्मेवारी सम्हालेका छन् ।

उनीहरुले अबको एक वर्षभित्रमा बालबालिका तथा महिलाहरुले प्रयोग गर्ने कस्मेटिक प्रडक्टको उत्पादन शुरु गर्ने योजना बनाएका छन् ।
‘कोरोना महामारीका कारण यो व्यवसाय शुरु गर्न केही ढिलाइ भएको छ । तर अब हामी १ वर्षभित्र नयाँ प्रडक्ट पनि उत्पादन गर्नेछौं,’ कम्पनीका अध्यक्ष तिलकप्रसाद अधिकारीले भने ।

उनका अनुसार नयाँ कम्पनीमा १ अर्ब ५० करोडको हाराहारीमा लगानी हुनेछ भने उद्योग रुपन्देहीमै रहनेछ ।


कमलकुमार बस्नेत