अन्तर बैंक ब्याजदर ५% पुग्यो, ब्याजदर बढ्ने निश्चित



काठमाडौं । बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुगेको छ । प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएपछि सापटी कारोबारको माग बढेसँगै ब्याजदर बढेको हो ।

बैंक तथा वित्त कम्पनीहरुले भदौ २६ गतेसम्म ४५ खर्ब ३४ अर्ब १३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने बैंकिङ प्रणालीमा २५ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ लगानीयोग्य रकम छ ।

उक्त रकम बैंकहरुले राष्ट्र बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । बैंक तथा वित्त कम्पनीहरुले कुल निक्षेपको ३ प्रतिशत रकम सीआरआरमा राख्नुपर्ने हुन्छ ।

भदौ २६ गतेसम्म संकलित निक्षेपबाट बैंक तथा वित्त कम्पनीले १ खर्ब ३५ अर्ब ५९ करोड रुपैयाँ सीआरआरमा राखेका छन् । सीआरआरमा बैंक तथा वित्त कम्पनीहरुले दैनिक संकलित कुल निक्षेपको ३ प्रतिशत जम्मा गर्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ ।

चालु आर्थिक वर्षको शुरुवातमा बैंकिङ प्रणालीमा १ खर्ब २५ अर्ब रुपैयाँ बढी अधिक तरलता थियो । जुन समयमा बैंकहरुको आपसी सापटी कारोबार ब्याजदर समेत ०.२४ प्रतिशतमात्र थियो ।

यसबीचमा बैंकहरुले निक्षेप समेत १ खर्ब ११ अर्ब २४ करोड ४२ लाख रुपैयाँले घटेको छ । निक्षेप घटेपनि कर्जाको माग भने बढ्दा प्रणालीमा तरलता संकुचन हुँदै जाँदा बैंकहरुले आफ्नो गर्जो अन्तर बैंक सापटी कारोबारबाट टार्न खोज्छन् । यसले यस्तो सापटी कारोबारको माग बढेसँगै ब्याजदर समेत बढाएको हो ।

अन्तर बैंक कारोबार बैंकहरुले आफ्नो संस्थामा आवश्यकता अनुसार रकम नहुँदा अर्को बैंकबाट निश्चित प्रतिशत ब्याज दिएर ७ दिनसम्मको लागि सापटी लिन पाउँछन् । प्रायजसो दैनिक प्राप्त निक्षेप बराबरको रकम कर्जा प्रयोजन वा अन्य स्टेटमेन्टमा प्रयोग भएको अवस्थामा सीआरआरमा राख्नु पर्ने पैसा मौज्दात नहुँदा बैंकहरुले अन्तर बैंक सापटी लिने गर्छन् ।

यस बाहेक बैंकहरुले पास भइसकेको कर्जामा भुक्तानी गर्न समेत अन्तर बैंक सापटी लिने गर्छन् । तर, अन्तर बैंक सापटीबाट प्राप्त रकमबाट भने बैंकहरुले ऋणीलाई नयाँ कर्जा दिन पाउँदैनन् ।

त्यसकारणले गर्दा बैंकहरुले स्रोत ब्यवस्थापमा ध्यान दिँदै निक्षेपको ब्याजदर बढाउन आवश्यक पर्ने जानकारहरु बताउँछन् ।


क्लिकमान्डु