पेट्रोल, डिजेलको होम डेलिभरीबाट एक बर्षमै ५ करोडको आम्दानी
एजेन्सी । कुनै यात्राको क्रममा गन्तव्यमा नपुग्दै बाइकको या कारको डिजेल/पेट्रोल सकिएर हामी धेरैले दुःख पाएका छौं होला । यस्तै दुःख परेको बेला एक कल फोन गरेपछि तपाईं भएकै ठाउँमा डिजेल/पेट्रोल ल्याइदिने काम गरेर भारतका ४ युवाले करोडौँ आम्दानी गरेका छन् ।
भारत गुजरातका सपनले राजस्थान घुम्न जाँदा बिचबाटोमा कारको पेट्रोल सकिदाँ अलपत्र परेर गाउँमा दुईगुणा मुल्य तिरेर पेट्रोल किन्नुपरेपछि यो बिजनेस आइडिया निकालेका हुन् ।
सपनसहित उनका अन्य तीनजना साथी मिलेर भारतको गुजरात र आसपासका गाउँ तथा सहरमा फोन कल, ह्वाटसएप मेसेज या वेभसाइटबाट अर्डर गरेको ३० मिनेटभित्रमा पेट्रोल तथा डिजेल बजारमूल्यमा नै होम डेलिभरी गर्छन् ।
सपनले अमेरिकामा पढेका हुन् । उनले त्यहाँको जागिर छोडेर यही काम गर्नका लागि भारत आए । उनले पूर्वम् , अलय र व्योमलाई यो आइडिया सुनाए । मान्छेहरुले अन डिमान्ड पेट्रोल या डिजेल पाउन सकुन् हामीले त्यस्तो काम गर्नुपर्छ, सपनले साथीहरुलाई हौस्याए ।
यो क्षेत्रमा थोरै व्यक्ति भएको र यो आइडियापनि नयाँ भएको हुँदा व्यापारको वृद्धि छिटो हुने अनि स्कोपपनि भएको हुँदा उनीहरुले व्यवसायीक रुपमा नै यो काम सुरु गरे ।
यो काम उनीहरुले ५० लाख भारुमा सुरु गरेका थिए । सन् २०२० को अगस्टमा फूली नामक कम्पनी दर्ता गरेर नोभेम्बरबाट काम थालेका उनीहरुले एकवर्षमा ३ करोड भारुको कारोबार गरेका छन् ।
सुरुमा उनीहरुले गुजरातको वडोदरा शहरका अस्पताल, होटल, मल एवं साना यूनिटमा डिजेल÷पेट्रोल पुर्याउँथे । बिस्तारै अरुले पनि उनीहरुका बारेमा थाहापाउन थाले । त्यसपछि उनीहरुको नेटवर्क बढ्नथालेसँगै वडोदरा, भरुच र पञ्चमहल जिल्लाका ग्रामीण भेगका सानासाना कम्पनीलाई उनीहरुले पेट्रोल र डिजेल दिन थाले ।
उनीहरुले बजारबाट पेट्रोल खरीद गर्दैनन् । ३ वटा ट्यांकरमा डिजेल/पेट्रोल राख्छन् र त्यसैबाट मागअनुसार आपूर्ति गर्छन् । गाउँमा डेलिभरी गर्नका लागि सहज होस् भनेर उनीहरुले एउटा ट्यांकर गाउँमा पनि राखेका छन् । ट्यांकरमा सेक्युरिटी फिचर्स (सुरक्षा व्यवस्था) पनि राखिएको छ । यसमा सिसिटीभी पनि जडान गरेका छन् ।
किसानलाई खेतीका लागि डिजेलको आवश्यकता हुन्छ र उनीहरु डिजेल किन्नकै लागि बजारसम्म पुग्दा धेरै समय खर्च हुन्छ । कहिलेकाहीँ त बजारमा डिजेलको अभावपनि हुन्छ, जसले खेतीपनि प्रभावित भइरहेको हुन्छ । हाम्रो यो कामले किसानलाई पनि सहज हुनेछ, सपनले बताए ।
उनीहरुलाई फोन या ह्वाटसएपमा मेसेज गरेर फ्युल मगाउन सकिन्छ । साथै वेभसाइटबाट पनि अर्डर गर्न सकिन्छ । भुक्तानी पैसा र अनलाईन दुवै तरीकाबाट गर्न सकिन्छ ।
उनीहरुको यो आइडियामा भारत पेट्रोलियमले पनि फ्युलकार्ट नामबाट ६० वटा मोबाइल पेट्रोल पम्प राखेर फ्युल होम डेलिभरीको काम थालेको छ । यही आइडियामा रिलायन्स इन्डस्ट्रीज, रेपोस इनर्जी, माई पेट्रोल पम्प, पेप फ्युल्स, हमसफर र फ्युलबडी जस्ता स्टार्टअप कम्पनीले भारतमा फ्युलको होम डेलिभरी गरिरहेका छन् ।