अलैंचीको निर्यात घट्यो, उत्पादन कम हुँदा माग बढ्न सक्ने



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामै अलैंचीको निर्यात घटेको छ । उत्पादिन वस्तु तथा सेवामध्ये सबैभन्दा धेरै निर्यात हुँदै आएको अलैंची चालु आवको पहिलो महिना साउनमै निर्यात घटेको छ ।

विगतको वर्षहरूमा नेपालबाट निकासा हुने वस्तुमा दोस्रो, तेस्रो स्थान रहेकोमा यो वर्ष भने निर्यात ह्वात्तै घटेको हो । गत वर्ष साउन महिना कोरोनाकै समयमा गुज्रिरहेको थियो । कोरोनाका कारण असहज स्थिति हुँदा पनि एक महिनाको अवधिमा नेपालबाट ४७ करोड ६२ लाख ६४ हजार रुपैयाँको ५ लाख ९५ हजार केजी अलैंची निर्यात गरेको थियो ।

सोही अवधिमा यो वर्षमा भने ३५ करोड ६५ लाख ७८ हजार रुपैयाँ बराबरको ४ लाख ५३ हजार केजी अलैंची निर्यात भएको छ । जुन गत वर्षको तुलनामा २५.१३ प्रतिशतले कमी हो ।

हाल निकासी भएको अलैंची गत वर्ष उत्पादन भएको अलैंची हो । किसानहरूको अलैंची आगामी असोज महिनादेखि धमाधम संकलन गर्न शुरू गर्दछ । उत्पादित अलैंची असोजबाट संकलन तथा प्रशोधन गरी किसानले व्यवसायीमार्फत् बिक्री गरी निर्यात गर्ने गर्दछ ।

उक्त निर्यातित अधिकांश अलैंची भारततर्फ निकासी हुने गर्दछ । भारतमा उत्पादन अलैंचीले नेपाली बजारमा प्रभाव पर्ने गर्दछ । भारतमा उत्पादन कम भयो भने माग बढ्छ भने भारतमा उत्पादन बढ्यो भने माग कम हुने गर्दछ । जसले गर्दा नेपालमा प्रत्यक्ष असर किसानलाई पर्दछ ।

गत वर्ष भारतमा अलैंची उत्पादन कम हुँदा माग बढ्दो थियो । त्यसैले गत वर्षमा हालसम्मकै उच्च अलैंची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७७÷७८ मा हालसम्मकै अलैंची निर्यात भई निर्यातित वस्तुमध्ये तेस्रो स्थानमा थिए ।
नेपालले एक वर्षको अवधिमा ७ अर्ब १ करोड ८ लाख रुपैयाँ बराबरको ८८ लाख ४२ हजार केजी अलैंची निर्यात गरेको थियो ।

नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्कीले गत वर्ष हालसम्मकै उच्च निर्यात भएको स्वीकार्छन । गत वर्ष अलैंची उत्पादन पनि बढी भएको र माग पनि सोही अनुसार आएकाले सकारात्मक हिसाबले निर्यात भएको उनले बताए ।

उत्पादन घट्ने
गत आवमा अलैंची अत्यधिक उत्पादन भए पनि चालु वर्षमा भने उत्पादन घट्ने अनुमान गरेको छ । कार्कीका अनुसार अलैंची उत्पादनका लागि अनुकुल मौसम नभएकाले उत्पादन घट्नेछ ।

‘चालु आवको अलैंची उत्पादनका लागि गत वर्ष समयमै पर्याप्त पानी नपर्दा अधिकांश क्षेत्रमा अलैंचीको उत्पादनमा असर परेको हो,’ उनले भने । चालु आवमा उत्पादान कम भएसँगै आगामी दिनका माग बढ्ने उनले जिकिर गरे ।

सोयाबिन तेल निर्यातको हिसाबले सबैभन्दा अगाडि भए पनि विदेशबाट ल्याएको कच्चा पदार्थले मात्रै बन्ने भएकाले अलैंची नै नेपालको निर्यात वस्तुमा पहिलो अलैंची रहेको उनी दाबी गर्छन । त्यसैले यस क्षेत्रमा सरकारलेसहज वातावरण बनाउन आवश्यक रहेको उनी बताउँछन् ।

सम्पूर्ण अलैंची भारतमा निर्यात
नेपालको अधिकांश उत्पादित अलैंची भारतमा मात्रै निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँदछ । जसमा चालु आवको पहिलो महिनामा ४७ करोड बराबरको करिब ६ लाख केजी अलैंची भारतमा मात्रै निर्यात गरेको पाइन्छ ।

उक्त निर्यातित अलैंची पूर्णरुपमा भारतमा निकासी हुने भएकाले बजारमा कस्तो प्रभाव पर्छ भन्ने भारतीय बजारले तय गर्दछ ।

नेपालबाट उत्पादित अलैंचीमा भारतीय बजारको हाबी भएकाले अन्य देशहरूमा पनि निर्यात गर्नुपर्ने व्यवसायीहरूले भन्दै आएका छन् । तर, हालसम्म पूरा हुन सकेको छैन ।

नेपालले उत्पादन गरेको अलैंची भारतबाहेक अन्य देशमा उल्लेख्य रुपमा अलैंची पठाउन नसक्दा समस्या देखिएको उनले बताए । व्यवसायीले भारतमा मात्रै नभएर बंगलादेश र भुटानतर्फ निर्यात गर्नुपर्ने भन्दै विगत तीन वर्षदेखि निरन्तर सरकारसमक्ष ध्यानाकर्षण गरेको बताउँछन् ।

बंगलादेशतर्फ निर्यात गर्दा ३५ प्रतिशत कर लाग्ने भएकाले मूल्य पाउने र उक्त देशबाट तेस्रो मुलुकमा निर्यात गर्न सहज हुने भएकाले सरकारले यसतर्फ विशेष ध्यान दिई निर्यात गर्नुपर्ने उनको भनाइ छ । तर, सरकारले वेवास्ता गर्दा व्यवसायी र कृषक मारमा परेको उनले जिकिर गरे ।

मूल्य घट्दो क्रममा
वार्षिक रुपमा करिब नेपालले करिब ९० करोड केजीको हाराहारीमा अलैंची उत्पादन गर्दै आएका छन् । देशभरका विभिन्न ४३ वटा जिल्लामा अत्यधिक उत्पादन गर्न सकिने अलैंची कृषकहरूले उत्पादन गरे पनि उचित मूल्य पाउन सकेको छैन ।

व्यवसायीले उत्पादित कृषकलाई उचित मूल्य दिन नसकेको उनले दुखेसो पोखे । अध्यक्ष कार्कीले २०७० देखि अलैंचीको मूल्यमा निरन्तर ओरालो रहेको बताए ।

विगतको दिनमा प्रति केजी २५ सय रुपैयाँमा बिक्री हुने अलैंची अहिले भने ८ सय रुपैयाँमा झरेको पाइन्छ ।
‘विगतको दिनमा २५ रुपैयाँमा बिक्यो त्यस पश्चात विस्तारै घटेर १५ सय, १ हजार, ८ सयसम्म र गत वर्ष ७ सयसम्ममा प्रतिकेजी बिक्री गर्न बाध्य भए,’ उनले भने ।

उनका अनुसार मूल्य निरन्तर ओरालो लाग्नुको कारणमा पनि सरकार जिम्मेवार रहेको छ । नेपालले भारतबाहेक तेस्रो राष्ट्रमा व्यवसायी आफैले सहज ढङ्गबाट निर्यात गर्न सकेको छैन । करिब ७ वर्ष अगाडि विश्वमा सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश नेपाल थियो । तर, पछिल्लो समयमा भारतले आफ्नो उत्पादन बढाइरहेको हुनाले नेपाल प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले गर्दा मूल्य घटेको छ ।

नेपालबाट अत्यधिक निर्यात हुने अलैंचीका लागि सरकारले तर्फबाट १,२ वटा गतिविधिलाई अर्थात यस पक्षमा काम गरिदिने हो भने उचित मूल्य मूल्य पाउने उनको दावी छ । जसमा सिचाईको सुविधा, कृषकलाई कर्जा प्रदान गरेको अवस्थामा मूल्य समायोजन हुँदै बढ्न सक्ने उनले बताए ।

नेपालबाट अत्यधिक निर्यात हुने वस्तु भनिरहँदा यस क्षेत्रको विकासका लागि भने खासै काम हुन नसकेको उनले जिकिर गरे । जसले गर्दा मूल्य निरन्तर ओरालो लागे पनि अन्य कृषकहरूले सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।

४४ प्रतिशत हिस्सा ताप्लेजुङको
नेपालमा अलैंची खेतीको शुरुवात इलामबाट भएको हो । त्यसपश्चात देशका पूर्वी ९ जिल्लामा उत्पादन गर्न शुरु गरेको थियो । हाल देशमा विभिन्न ४३ वटा जिल्लमा अलैंची उत्पादनको सम्भावना रहेकाले विस्तारै यसतर्फ आकर्षित हुँदै गएको छ ।

नेपालमा उत्पादन भएका जिल्लामध्ये ताप्लेजुङ्ले मात्रै ४४ प्रतिशत ओगटेको छ । त्यसपछि संखुवासभा, इलाम, पाँचथर, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम जिल्ला पहिलेदेखिनै मूख्य उत्पादन गर्ने जिल्ला रहेका छन् । तर, पछिल्लो समय लमजुङ, गोर्खा, दोलखा, रामेछाप, काभ्रे, कास्कीलगायका जिल्लामा पनि राम्रोसँग अलैंची उत्पादन हुन थालेको छ ।


क्लिकमान्डु