डिजिटल मुद्राको परीक्षण गर्ने तयारीमा भारतको केन्द्रीय बैंक



विभिन्न देशका केन्द्रीय बैंकहरुले पछिल्लो समय डिजिटल मुद्राका लागि अध्ययन बढाएका छन् । केन्द्रीय बैंकले व्यवस्थापन गर्ने यस्ता डिजिटल मुद्रालाई ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ (सिबिडिसी) भनिन्छ ।

भारतसँगै चीन, बेलायत तथा युरोपका केन्द्रीय बैंकहरु पनि डिजिटल मुद्राको सम्भाव्यता अध्ययन तथा अनुसन्धानमा लागेका छन् ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले डिजिटल मुद्राको परीक्षण गर्ने तयारी थालेको छ । सन् २०२१ को डिसेम्बरसम्ममा परीक्षण सुरु गर्ने तयारीका लागि हाल अध्ययन भइरहेको जानकारी आरबीआईका गर्भनर शक्तिकान्त दासले दिएका छन् ।

पैसाको कारोबारलाई सहज र सुविधाजनक बनाउनका लागि र कागजको नोटमा निर्भरता घटाउनका लागि रिजर्भ बैंकले डिजिटल मुद्रालाई चलनचल्तीमा ल्याउन लागेको हो ।

२०१८ मा रिजर्भ बैंकले डिजिटल मुद्रामा कारोबार गर्ने बैंक र वित्तीय संस्थाहरुलाई सेवा दिनका लागि रोक लगाएको थियो, जसलाई सर्वोच्चले खारेज गरेको थियो ।

संसारभर बढिरहेको डिजिटल मुद्राको कारोबार भारतका लागि मात्रै नभएर विश्वकै लागि नयाँ प्रविधि हो, यसमा सचेत हुँदै हामीले यो बर्षको अन्त्यसम्ममा यसको परीक्षण शुरु गर्न सफल हुनेछौँ, सिएनबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा शक्तिकान्त दासले बताए ।

भारतले जारी गर्न लागेको डिजिटल मुद्रा भौतिक कागजी मुद्राकै डिजिटल संस्करण हो । यसलाई रिजर्भ बैंकले ‘डिजिटल रुपैँया’ नाम दिने योजना बनाएको छ ।

अघिल्लो महिना आरबीआईका डेपुटी गर्भनर टी रविशंकरले केन्द्रीय बैंकले डिजिटल मुद्रा कार्यान्वयनका लागि अध्ययन भइरहेको बताएका थिए ।

डिजिटल मुद्राको परीक्षण र कार्यान्वयनका लागि सुरक्षा चुनौती, वित्तीय क्षेत्रमा यसले पार्ने प्रभाव, बजारमा मुद्रा परिचालन, समग्र मौद्रिक बजार तथा अर्थतन्त्रमा पार्नसक्ने प्रभावका विषयमा अध्ययन भइरहेको दासले बताए ।

आरबीआईका अनुसार भारतमा मुद्रा र कुल गार्हस्थ्य उत्पादनको अनुपात अत्यन्तै धेरै छ, जसका कारणले पनि डिजिटल मुद्राको प्रचलन ल्याउनु उपयुक्त हुनेछ । ठूलाठूला कारोबारमा कागजी नोटको सट्टामा डिजिटल मुद्राको प्रयोग हुँदा कागजी मुद्राको छपाई, परिवहन, भण्डारण तथा वितरणमा खर्च कम गर्न सकिन्छ ।

सिबिडिसीको धारणा सबैभन्दा पहिला अमेरिकी अर्थशास्त्री एवं नोबेल पुरस्कार विजेता जेम्स टोबिनले ल्याएका थिए । उनले ८० को दशकमा मुद्राको डिजिटल लेनदेनको सम्भावनाको चर्चा गरेका थिए ।

नेपालमा भने डिजिटल मुद्राको कारोबार गर्न पाईँदैन । सन् २०१७ अगस्ट १३ तारिखमा नेपाल राष्ट्र बैंकले डिजिटल मुद्राको कारोबारलाई गैरकानूनी भन्दै बन्द गरेको थियो ।


क्लिकमान्डु