जग्गाको मूल्य बढाउनका लागि पूर्वाधारको विकास



city kathmandu clickmandu

काठमाडौं । कोरोना महामारीले अस्तव्यस्त बनाएको अर्थतन्त्र विस्तारै तंग्रिदै गएको छ । करिब डेढ वर्षदेखि कोरोनाले अस्तव्यस्त बनाएको अवस्थामा शेयर बजार र घरजग्गा कारोबारमा उछाल आएको छ ।

सामान्य अवस्थामा व्यापार, व्यवसाय पूर्णसञ्चालन भएको अवस्थामा घरजग्गा र शेयर कारोबारको खासै चर्चा हुन सकेको थिएन । तर, कोरोना महामारीका कारण लामो समयको बन्दाबन्दीमा पूर्णरुपमा व्यापार, व्यवसाय सञ्चालन हुन नसक्दा अधिकांश मानिस सेयर बजार र घरजग्गा लगानीमा झुम्मिएको पाइन्छ ।

अधिकांश व्यापार, व्यवसाय सञ्चालन गर्न नसक्दा मानिसहरूले लगानी गर्ने बाटो खोज्दै शेयर बजार र घरजग्गामा बढी लगानी गर्नेको संख्या अधिक रहेको व्यवसायीहरू बताउँछन् । अन्य लगानीको तुलनामा सुरक्षित र कहिले घाटा नहुने प्रवृत्तिले गर्दा कोरोना महामारीका घरजग्गा कारोबार गर्नेको संख्या अधिक रहेको घरजग्गा व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरूका अनुसार कोरोनामा उद्योगधन्दा बन्द अवस्थामा धेरैले जग्गामा लगानी गरेर आफ्नो लगानी सुनिश्चित गरेको पाइएको छ । एकातिर जग्गाको लगानी गरेर आफ्नो लगानी सुनिश्चित गरेको छ भने अर्कोतर्फ शेयरमा लगानी गरी कमाएको नाफाले समेत घरजग्गा जोड्नेमा जोड दिएको व्यवसायीहरूको अनुभव छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले संकलन गरेको घरजग्गा किनबेचको तथ्याङ्कले पनि घरजग्गा कारोबारमा उछाल आएको देखिन्छ ।

आर्थिक वर्ष २०७५÷७६ मा ३ लाख ९६ हजार घरजग्गाको किनबेच भएको थियो । आव २०७६÷७७ को अन्तिमतिर कोरोना नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको थियो । तर, लकडाउन खुकुलो भएसँगै घरजग्गा कोरोबार उच्च भएको थियो । सोही अनुसार सो वर्ष घरजग्गाको कारोबार बढेर ५ लाख ६९ हजार घरजग्गा किनबेच भएको पाइन्छ ।

आव २०७७÷७८ मा भने हालसम्मकै उच्च घरजग्गा कारोबार भएको विभागले जनाएको छ । गत वर्ष देशभरका मालपोत कार्यालयबाट ६ लाख २२ हजार घरजग्गा किनबेच भएको छ । सो वर्ष ६ लाख बढी घरजग्गा किनबेच हुँदा करिब साढे ५७ अर्ब बढी राजश्व संकलन गरेको थियो । उक्त संकलित राजश्व हालसम्मकै उच्च हो ।

कोरोनाकै समयले घरजग्गामा उछाल आएसँगै व्यवसायीहरूमा उत्साह छाएको छ । व्यवसायीहरूको अनुसार सामान्य अवस्थाको तुलनामा पछिल्लो समयमा घरजग्गाको मूल्य करिब ३० देखि ४० प्रतिशतसम्म बढेको बताउँछन् ।

नेपालमा मात्रै नभएर विश्वका जुनसुकै मुलुकमा घरजग्गाको मूल्य कहिले नघट्ने प्रचलन रही आएको छ । त्यसमा पनि पूर्वाधारको विकाससँगै जग्गाको मूल्य बढ्नु स्वाभाविक रहेको व्यवसायीहरू बताउँछन् ।

नेपाल भूमि रियल स्टेटका प्रबन्धक सुरेश तामाङ्ले कोरोनाका समयमा कारोबार उच्च भएको बताए । पछिल्लो समय गाउँबाट शहरमा बसोबास गर्नेको लर्को देखिएसँगै उपत्यकाका जग्गा बिनबेचमा वृद्धि भएको उनको भनाइ छ । उनका अनुसार जग्गाको मूल्यमा पूर्वाधारको विकासको आधारमा मूल्य तय हुने सोही अनुसार बढ्ने हो ।

‘घरजग्गाको मुल्य भनेको नेपालमा मात्रै नभएर विश्वमै नाफा मूलक क्षेत्र हो,’ उनले भने, ‘जग्गाको मूल्य हरेक वर्ष बढ्ने गर्दछ । त्यसैले यो वर्ष पनि करिब ४० प्रतिशतले बढेको पाइन्छ ।’

ग्रीन रियल स्टेटका डिबी क्षेत्रले कोरोना महामारीमा ३० प्रतिशतभन्दा बढीले बढेको बताए । उनका अनुसार कोरोना महामारीमा अन्य व्यवसायमा लगानी गर्दा नाफा कमाउन नसकेपछि लगानी सुनिश्चित र नाफा कमाउनकै लागि रकम भएका व्यक्तिहरूले जग्गालाई प्लटिङ्मा रुपान्तर गरेर किनबेचको संख्या अधिक रहेको छ ।

‘बजारमा जग्गाको स्तर हेरेर बढ्ने गर्दछ,’ उनले क्लिकमान्डूसँग भने, ‘विगतको वर्षहरूमापनि निरन्तर जग्गाको मूल्य बढ्दै आएको छ । तर, कोरोनाकै समय भएपनि लगानी गर्ने व्यक्ति अत्याधिक हुँदा ३० प्रतिशत जग्गाको मूल्य बढेको पाइन्छ ।’
अहिले मानिसहरूले हचुवाको भरमा जग्गाको मूल्य बढाउने गरेको उनले जिकिर गरे । कुनै पनि जग्गाको मूल्य पूर्वाधारको विकासको आधारमा बढ्ने हुनाले सडक, यातायातको सुविधा हुने वित्तिकै स्वतः बढ्ने गर्दछ ।

मानिसले आफ्नो लगानी सुनिश्चित गर्न सकिने क्षेत्र भनेकै घर, जग्गा र सुन हो । त्यसैले मानिससँग पैसा हुने वित्तिकै घरजग्गा र सुचन जोड्ने प्रचलन रहिआएको छ । कोरोनाकै समयमा अन्य व्यवसाय बन्द भएकाले मानिसहरूको लगानी शेयर बजार र घरजग्गामा थुप्रिएको देखिन्छ । जसले गर्दा यी दुबै क्षेत्रको कारोबारमा उछाल आएको छ ।

हरेक वर्ष जुनसुकै वस्तु तथा सेवाको मूल्य बढ्छ भने जग्गाको मूल्य पनि स्वः सोही अनुसार बढ्ने उनको भनाइ छ ।
तर, कोरोना महामारीकै समयमा कारोबार बढ्दा मूल्य बढेको छ । उनका अनुसार जग्गाको पूर्वाधार विकासको आधारमा सामान्यतया प्रतिआना ५ देखि १० लाखसम्म बढेको जानकारी दिए ।

जग्गाको मूल्य बढाउनकै लागि पूर्वाधारको विकास

पछिल्लो समय देशभरका मुख्य शहरहरूमा जग्गाको मूल्य अत्याधिक बढेसँगै व्यवसायीलगायत स्थानीय तहले स्मार्ट सिटी बनाउनमा जोड दिएका छन् । यस्तै उपत्यकाका तीन जिल्लाले सडक र पूर्वाधार व्यवस्था नभएको स्थानहरूमा स्मार्ट सिटी घोषणा गरी पूर्वाधारको विकास गर्न शुरू गरेका छन् ।

सरकारले पनि स्मार्ट सिटीलाई जोड दिँदै आएका छन् । काठमाडौं उपत्यमा विकास प्राधिकरणले तीन वटै जिल्लामा स्याटालाईट सिटीको रुपमा विकास गर्ने जनाएको थियो । प्राधिकरणले सो क्षेत्रमा पूर्वाधारको विकास गरी त्यहाँका स्थानीयबासीसँग भएको जग्गा खरिद गरी बिक्री गर्ने योजना बनाएको छ ।

करिब ४ वर्षदेखि लागिपरेको उक्त योजना हालसम्म सफल हुन सकेको छैन । त्यसमा प्राधिकरणले सो आयोजना शुरू भएमा प्रतिआना ३० लाख पुग्ने दाबी गरेका छन् ।

त्यस्तै काठमाडौं पूर्वी नगरपालिकाले पनि करिब ४६ अर्ब खर्चेर नयाँ शहर बनाउने भएको छ । त्यसमा मनोहरा, गोकर्णेश्वर र शंकरापुर नगरपालिकाले संयुक्तरुपमा शहरको विकास गर्ने जनाएको छ । जसले गर्दा उक्त क्षेत्रमा जग्गाको मूल्य स्वः बढ्ने देखिन्छ । उक्त क्षेत्रमा सम्पूर्ण पूर्वाधारको विकास गरी जग्गा प्लटिङ गरेर बिक्री गर्ने योजना रहेको छ ।

साथै, पछिल्ला समय व्यवसायीहरू पनि आफ्नै खर्चमा सडक तथा पूर्वाधार विकासमा लगानी गरी प्लटिङ बनाई महंगो मूल्यमा बिक्री गर्दै आएका छन् । जसले गर्दा बजारमा सडक र पूर्वाधारको विकास भएको जग्गाको मूल्य अत्याधिक बढेको पाइन्छ ।


क्लिकमान्डु