लगानी बोर्डको १० वर्षः ८३२ अर्बका २७ आयोजनामा लगानी स्वीकृत



काठमाडौं । लगानी बोर्डको कार्यालयले भदौ २३ गते आफ्नो स्थापनाको १० वर्ष मनाउँदैछ । १० वर्ष अवधिमा बोर्डले विभिन्न क्षेत्रका २७ वटा आयोजनामा ८ खर्ब ३२ अर्ब बढी लगानी स्वीकृत गरेर कार्यान्वयनमा विभिन्न चरणमा रहेका छन् ।

बोर्डमार्फत् लगानी भित्र्याएर निर्माण सम्पन्न तथा प्रतिफल दिनेगरी सञ्चालनमा आयोजनाको संख्या भने शून्य छ ।

लगानी बोर्ड ऐन २०६८ को प्रस्तावनामा बोर्ड गठन सम्बन्धी आवश्यकताबारे उल्लेख गरिएको छ ।

‘आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वेदशी तथा विदेशी निजी क्षेत्रको लगानी परिचालन गरी व्यवस्थित रुपमा औद्योगिकरणको प्रकृयालाई तीव्र बनाउन बोर्ड गठनको आवश्यकता देखिएको हो,’ प्रस्तावनामा भनिएको छ, ‘अत्यावश्यक पूर्वाधार संरचनाको निर्माण तथा विकास गरी सबल, गतिशील र प्रतिस्पर्धी अर्थतन्त्र विकास गर्न र रोजगारीको अवसर सिर्जना गरी गरिबी निवारणमा अर्थपूर्ण योगदान पुर्याउन एक अधिकार सम्पन्न निकाय आवश्यक छ ।’

लगानी बोर्डको कार्यालयका अनुसार १० वर्ष अवधिमा बोर्डले सबैभन्दा धेरै उर्जा क्षेत्रका १५ आयोजनामा लगानी स्वाीकृत गरेको छ । यी आयोजनाहरुमा ४ अर्ब ६० करोड अमेरिकी डलर बराबर अर्थात् आइतबारको विदेशी विनिमयदर अनुसार ५ खर्ब ४३ अर्ब ७२ करोड नेपाली रुपैयाँ लगानी स्वीकृत भएको छ ।

यो अवधिमा ६ वटा खानीजन्य उद्योग तथा आयोजनामा १ अर्ब ६३ करोड अमेरिकी डलर बराबर लगानी बोर्डमार्फत् नेपाल भित्रिएको छ । यस्ता उद्योग तथा आयोजनामा आएको लगानी १ खर्ब ९२ अर्ब ६६ करोड ६० लाख नेपाली रुपैयाँ बराबर हो ।

त्यस्तै, ३ वटा सहरी पूर्वाधार आयोजनामा ६ करोड ४ लाख अमेरिकी डलर अर्थात् ७ अर्ब १३ करोड ९२ लाख नेपाली रुपैयाँ र औद्योगिक पूर्वाधार क्षेत्रका २ आयोजना ६३ करोड ८० लाख अमेरिकी डलर अर्थात् ७५ अर्ब ४१ करोड १६ लाख नेपाली रुपैयाँ बराबर लगानी स्वीकृत भई ती योजनाहरु कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् ।

बोर्डका अनुसार पर्यटन क्षेत्रको एउटा आयोजना ११ करोड ७५ लाख अमेरिकी डलर बराबर अर्थात् १३ अर्ब ८८ करोड ८५ लाख नेपाली रुपैयाँ गरी १ दश अवधिमा ७ अर्ब ४ करोड ५९ लाख अमेरिकी डलर अर्थात् ८ खर्ब ३२ अर्ब ८२ करोड ५३ लाख रुपैयाँ बराबर भित्रिएको देखिएको हो ।

विभिन्न क्षेत्रका आयोजनामा भित्रिएको वास्तविक लगानी करिब साढे ८ खर्ब रुपैयाँ बराबर देखिए पनि लगानीको प्रतिबद्धता भने निकै बढी छ । सरकारले २०७५ साल चैतमा आयोजना गरेको लगानी सम्मेलनका क्रममा मात्र करिब ३७ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । तर प्रतिवद्धताअनुसार वास्तविक लगानी भने भित्रिएको देखिँदैन ।

कुन-कुन आयोजनामा आयो बोर्डमार्फत् लगानी ?
डाङ्गोटे सिमेन्टमा ५५ करोड ५० लाख अमेरिकी डलर, रिलायन्स सिमेन्टमा ४० करोड डलर, होङ्सी शिवम् सिमेन्टमा ३५ करोड ९१ लाख ८० हजार डलर, सम्राट सिमेन्टमा १५ करोड ६ लाख डलर, र दाङ सिमेन्टमा ३२ करोड ५० लाख डलर लगानी स्वीकृत भएको छ ।

पश्चिम सेती जलविद्युत् आयोजनाका लागि २०१५ अप्रिल १३ मा १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको लगानी स्वीकृत भएकोमा अहिले विकासकर्ता कम्पनी चाइना थ्री गोर्जेज कर्पोरेसनले हात झिकिसकेको छ । यो आयोजनामा अर्को विकासकर्ता कम्पनी लगानी बोर्डले खोज्न सकेको छैन । तीन वर्षअघिको लगानी सम्मेलनका क्रममा पश्चिम सेतीसँगै सेती रिभर–६ (एसआर–६) आयोजनालाई जोडिएको थियो । तर पनि आयोजना विकासमा हालसम्म कुनै पनि कम्पनी छनौट हुन सकेको छैन ।

बोर्डमार्फत् नै माथिल्लो त्रिशुली–१ का लागि ६४ करोड ७४ लाख अमेरिकी डलर, माथिल्लो त्रिशुली–३बी का लागि ८ करोड २२ लाख डलर, मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ११ करोड ७७ लाख ५० हजार डलर, र माथिल्लो मस्र्यांङ्दी–२ आयोजनाका लागि ६४ करोड ७१ लाख ६० हजार डलर लगानी स्वीकृती भएको छ ।

कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि २८ कराृड ६ लाख ८० हजार डलर, इसुवा खोला जलविद्युत्का लागि १३ करोड ५७ लाख १ हजार डलर, म्याग्दीखोला जलविद्युत्का लागि १० करोड ३१ लाख ७० हजार डलर, आँखुखोला जलविद्युत्का लागि ६ करोड ३० लाख ९० हजार डलर, घुन्सा खोला जलविद्युत्का लागि १५ करोड २० लाख डलर, दूधखोला जलविद्युत्का लागि ८ करो ९९ लाख डलर र हिमचुली दोर्दी हाइड्रोपावरका लागि ९ करोड १५ लाख अमेरिकी डलर लगानी स्वीकृत भएको छ ।

झापा जिल्लाको दमकमा बन्ने चीन-नेपाली मैत्री औद्योगिक पार्कका लाेिग ५८ करोड ६० लाख ९० हजार डलर, रेलवे लिंक्ड फ्राइट टर्मिनल आयोजनाका लागि ६ करोड २० लाख र प्राइभेट फ्राइट टर्मिनल एन्ड बल्क हान्डलिङ टर्मिनलका लागि ६ करोड ५१ लाख डलर लगानी स्वीकृत भएको छ ।

विश्व वुद्धिस्ट प्रदर्शनी पार्कका निर्माणका लागि २ अर्ब ३० करोड डलर, मुक्तिनाथ केबल कारका लागि ३५ करोड डलर र एउटा ५ तारे होटलका लागि १३ करोड ९० लाख अमेरिकी डलर भित्रिएको छ ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि २ वटा परियोजनामा क्रमशः ४ करोड ९० लाख र ८० लाख तथा धरानको फोहोर व्यवस्थापनका लागि २० लाख ४० हजार अमेरिकी डलर बराबरको लगानी हालसम्म लगानी बोर्डले स्वीकृत गरेको छ ।

त्यस्तै, ५५० मेगावाट सौर्य उर्जा उत्पादनका लागि लगानी बोर्डको कार्यालयबाट ४२ करोड ४७ लाख ७० हजार रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।


क्लिकमान्डु