सेयर बजारको उत्तार चढावमा राष्ट्र बैंक कति जिम्मेवार ?



काठमाडौं । सेयर बजार र बैंकिङ क्षेत्र एक आपसमा अन्तरसम्बन्धित हुन्छन् । बैंक तथा वित्तीय संस्थामा हुने नियमनको प्रभाव सेयर बजारमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्छ ।

नियामक निकाय राष्ट्र बैंकले जारी गर्ने नीति निर्देशनबारे बैंकिङ क्षेत्रसँगै सेयर लगानीकर्तालाई धेरै नै चासो हुन्छ । पछिल्लो समय राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति र सोको कार्यान्वयनका लागि जारी निर्देशनका केही व्यवस्थाले सेयर बजारलाई प्रभावित पारेको स्पष्ट देखिन्छ । विषेशगरी सेयर धितो कर्जाको कडाइले बजारमा तरंग चलेको हो ।

सेयर धितामा बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था हालसम्म कायमै छ । तर त्यसमा केन्द्रीय बैंकले एक बैंकबाट ४ करोड रुपैयाँ र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँ मात्र एक ऋणीले उपयोग गर्न पाउने व्यवस्था गरिसकेको छ । साथै, यसअघिसम्म तोकिएको सीमाभन्दा बढी कर्जा उपयोग गर्ने ऋणीसँग एक वर्षभित्र कर्जा फिर्ता लिन समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको अवस्था छ ।

सो निर्देशनले विषेश गरी ठूला लगानीकर्ताबीच तनाव सिर्जना भएको छ । सेयर धितो राखेर बैंकबाट ७२० जान लगानीकर्ताले ४ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् । साथै, १४० जना लगानीकर्ताले १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिएर बजारमा लगानी गरेका छन् ।

यी लगानीकर्ताले एक वषभित्रै सीमाभन्दा बढी भएको कर्जा सेयर बेचेर भएपनि बैंकलाई फिर्ता गर्नुपर्छ । जसले गर्दा बजारपुँजीकरणका साथै समग्र बजारमा गिरावट देखिने लगानीकर्ताहरु बताउँछन् । बजारलाई प्रभाव पार्ने उक्त नीतिको कार्यान्वयनबाट पछि हट्न राष्ट्र बैंकलाई दबाब दिइएको नेपाल पुँजी बजार लगानीकार्ता संघको अध्यक्ष राधा पोख्ररेलले बताइन ।

‘हामीले निरन्तर दबाब दिइरहेका छौं, राष्ट्र बैंकले लगानीकर्तालाई हात खुट्टा बाँधेर पोखरीमा हालेर पौडी खेल र बाहिर आउ भन्ने भावले सेयर धितो कर्जा सम्बन्धी नीतिगत व्यवस्था गरेको छ,’ अध्यक्ष पोख्ररेलले क्लिकमाण्डूसँग भनिन्, ‘कतिपय लगानीकर्तासँग ४०/५० करोडको सेयर कर्जा हुन्छ, एक वर्षभित्रमा उसले कुनै हालतमा पनि १२ करोड रुपैयाँमा सेटल गर्न सक्दैन ।’

उनले राष्ट्र बैंकले सेयर धितो कर्जामा गरेको नीतिलाई उनले बेमौसमी बाजाको नाम दिएकी छिन् । उक्त नीति ल्याएर राष्ट्र बैंक नै सेयर बजार घटाउन लागेको प्रष्ट हुने उनको दावी छ ।

‘जसरी धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेर बजार घटायो त्यसैगरी दोस्रो चरणमा राष्ट्र बैंक नै सेयर घटाउन लागेको भन्ने स्पष्टसँग देखिएको छ,’ उनले थपिन् ‘बजारमा ४/५ सय बढी ठूला लगानीकर्ता छन्, जसले बैंकबाट अर्र्बौ रुपैयाँसम्म बैंकबाट कर्जा लिएर बजारमा लगानी गरेका छन् । उनीहरुलाई प्रत्यक्ष असर गर्यो ।’

ठूला लगानीकर्ताहरुले नै बजार चलायमान बनाउने हुँदा ती लगानीकर्ताले बजारबाट आफ्नो लगानी झिकेर बैंकमा तिर्दा बजारमा नकारात्मक असर पर्ने उनको भनाइ छ ।

यता लगानीकर्ता अर्को समूहले भने राष्ट्र बैंकको नीतिले बजारलाई खासै प्रभाव नपार्ने बताउँछन् । बैंकबाट सेयरधितोमा कर्जा लिएका लगानीकर्ताले चलाखी गरेर कारोबार गरेमा बजारलाई कुनै प्रभाव नपर्ने नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल छौनियारको भनाइ छ ।

‘झट्ट हेर्दा अहिले बजार घट्नुमा राष्ट्र बैंककै नीतिको कारण हो जस्तो छ, तर यसको प्रभाव धेरै रहँदैन,’ फोरमका अध्यक्ष रौनियारले क्लिकमाण्डूसँग भने, ‘केही लगानीकर्तालाई मात्र सेयर धितो कर्जामा लगाएको लगामले असर गर्छ तर समग्र बजार घट्नुमा यसको कुनै भूमिका छैन ।’

सीमाभन्दा बढी कर्जा लिएर बजारमा लगानी गरेको भएपनि सेयर नै बिक्री गरेर फिर्ता गर नभनिएको हुँदा लगानीकर्ताले विचार गरेर कारोबार गर्नुपर्ने उनको सुझाव छ ।

‘कर्जा सेयर नै बेचर कर्जा तिर भनेर राष्ट्र बैंकले भनेको होइन,’ फोरमका अध्यक्ष रौनियारले भने, ‘सीमाभन्दा बाहिर कर्जा लिएको भएमा अर्को बैंकबाट कर्जा लिएर सीमामा ल्याउन सक्ने ठाँउ छ ।’

पछिल्लो समय लाखौ नयाँ बजारमा नयाँ लगानीकर्ताहरु थपिएको हुँदा सेयर बिक्री गरेर नै गरेर बैंकको कर्जा तिरेपनि बजारपुँजीकरण भने नघट्ने उनको भनाइ छ ।

‘राष्ट्र बैंकको सेयर कर्जा नीतिले केही प्रतिशत तलमाथि अवश्य हुन्छ, तर जसरी अहिले बजारमा सुनामी नै आएझैं असर गर्छ भनेर अनुमान गरिएको छ, त्यसरी भने पर्दैन,’ उनले थपे, ‘राष्ट्र बैंकको नीति प्रभावले बजार अहिले केही घटेको छ, तर केही दिनमै जलविद्युत् कम्पनीहरुको सेयर राम्रोसँग बढ्छ ।’

नियामक निकायको नीति निर्देशनले बजारमा आउने हल्लामा भन्दा कम्पनीको दिन सक्ने प्रतिफलको आधारमा लागनी गरेका कहिलै सेयर बजारबाट घाटा व्यहोर्नु नपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु