भारतबाट ३३ मेगावाट आयात हुँदा ५० मेगावाट निर्यात, प्रणालीमा १४३८ मेगावाट माग



काठमाडौं । वर्षाको समयमा नदीमा उल्लेख्य मात्रामा पानी भएकाले विद्युत् उत्पादन पूर्ण क्षमतामा भइरहेको छ । तर, नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए झण्डै चार महिनादेखि बन्द छ । आयोजना बन्द हुँदा ठूलो मात्रामा प्राधिकरणको आम्दानी समेत खुम्चिएको छ ।

यस्तै, निजी क्षेत्रको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी पनि गत असारदेखि बन्द छ । दोर्दी नदीमा आएको बाढीका कारण सो आयोजनाको प्रसारण प्रणालीमा क्षति पुगेका कारण मर्मत सम्भारको काम हुन सकेको छैन । तर, रमाइलो पक्ष भने अर्को छ । प्राधिकरणको प्रणालीमा आयातभन्दा निर्यातको मात्रा बढी रहेको छ ।

यो समाचार तयार पार्दासम्म प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले भारतबाट कूल ३३ मेगावाट आयात भइरहेको देखाएको छ भने यताबाट भारततर्फ ५० मेगावाट निर्यात भइरहेको छ । आयातका तुलनामा निर्यात बढी देखिएको हो । हाल देशभर कूल २९ हजार २९९ मेगावाट घण्टा बिजुली माग रहेको छ ।

त्यसमा प्राधिकरणको ४४० मेगावाट बिजुली उपलब्ध छ । प्राधिकरणका सहायक कम्पनीबाट ४५७ मेगावाट बिजुली उपलब्ध छ । यस्तै, निजी क्षेत्रका आयोजनाबाट ५०८ मेगावाट बिजुली उपलब्ध छ । यस्तै साँझ विहानको मसयमा कूल माग भने १ हजार ४३८ मेगावाट रहेको छ । माथिल्लो तामाकोशी पनि जोडिएपछि प्रणालीमा यथेष्ट बिजुली उपलब्ध छ ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ध्यान नदिएका कारण सो आयोजना लामो समयदेखि बन्द भएको हो ।

कोरोनाका कारण चिनियाँ ठेकेदार नआएका कारण आयोजनाको मर्मत हुन सकेको छैन । प्राधिकरणले सो आयोजना मर्मतका लागि जुन स्तरमा ध्यान दिनुपर्ने थियो, त्यो पनि दिएको छैन ।

प्राधिकरणले माथिल्लो तामाकोशी र भोटेकोशीको बिजुली निर्यात गर्ने बताएपनि भारतबाट अनुमति प्राप्त भएको छैन । हाल निर्यात भइरहेको बिजुली आपसी सहमतिमा पठाइएको बताइएको छ ।


क्लिकमान्डु