धानमा ६ र गहुँमा १० जात थपिए



काठमाडौं । नेपालमा उत्पादन हुने प्रमुख खाद्यान्नमा जातको किसिम थप गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत साउन ३२ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गरी नेपालमा उत्पादन विभिन्न खाद्यान्नमा नयाँ जातको किसिम थप गरिएको हो ।

राजपत्रमा प्रकाशित सुचना अनुसार नेपालमा उत्पादन हुने धान, मकै, गहुँ, कोदो, फापर, चिनो, कागुनो, उखु, अलैची, रायो साग, गोलभेडा, घिउ सिमी, लट्टे र पहेंलो सिमिमा थप जात विकास गरिएको उल्लेख छ ।

उक्त खाद्यान्नको जातमा सरकारले उत्पादन गर्नसुक्ने क्षेत्रको पनि स्पष्ट उल्लेख गरेको छ ।

धानको जातको संख्या १ सय ४४ पुग्यो
नेपालमा यसअघि १ सय ३८ किसिमका धानका जात पाइन्थ्यो । तर, सरकारले राजपत्रमा प्रकाशित गरेसँगै अब नेपालमा धानको जातको किसिमको संख्या १ सय ४४ पुगेको छ । कृषि मन्त्रालयका अनुसार थप गरिएको धानको जात भारतमा विकास गरिएका वर्षशंकर जातहरू रहेको जनाएको छ । थपिएका जातको १३९ नम्बरको टिएमआरएच १२४ रहेको छ । सो जातिका धान समुन्द्र सतहदेखि ७०० मिटसम्मको तराई, भित्री मधेश र बेशीहरूमा उत्पादन हुने जनाएको छ ।

त्यसैगरी १४० मा रहेकको एमपि ३०३०, १४१ मा रहेको एरिज एजेड ६६३३ एसटि, १४२ मा रहेको २७ पि २२, १४३ मा रहेको आरएच आर १११ र १४४ मा रहेको एमपिआर ५०५ जातिको धान पनि सोही सतहमा उत्पादन हुने राजपत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी मकैमा पनि थप एक किसिमकको जात थप भएको छ । जसमा १०२ मा मनकामना ९ जात थप भएको सो मकै समुन्द्र सतहदेखि ८ सय मिटरदेखि १८ सय मिटर उचाईसम्मका मध्य पहाडी क्षेत्रमा उत्पादन हुने जनाएको छ ।

गहुँमा १० जात थपिए
सरकारले अन्य खाद्यान्न बालीमा पनि नयाँ जातका किसिम थप गरेको छ । सरकारले गहुँमा पनि १० नयाँ जातको गहुँको किसिम थप गरेको छ । विगतको दिनमा नेपालमा ३२ वटा जातको मात्रै गहुँ उत्पादन हुँदै आएको थियो । अहिले १० वटा गहुँको जात थप गरेसँगै नेपालमा ४२ जातको गहुँको उत्पादन हुने भएको छ । सरकारले मुडुले–१, तिला, भेरिगंगा जातको गहुँको उत्पादन समुन्द्र सतहबाट १७ सय देखि २२ सय ९० मिटर उचाईसम्मका उच्चा पहाडी क्षेत्रमा उत्पादन हुने जनाएको छ ।

त्यस्तै, कौटिला, सुर्मा, हिमगंगा जातको गहुँको उत्पादन समुन्द्र सतहबाट १ हजार देखि २२ सय ९० मिटर उचाईसम्मका मध्य र उच्च पहाडी क्षेत्रमा हुने उल्लेख गरेको छ ।

राजपत्रमा प्रकाशित सुचना अनुसार खुमशक्ति जातका गहुँ भने समुन्द्र सतहबाट १ हजारदेखि १७ सय मिटर उचाईसम्मका मध्य पहाडी क्षेत्रमा उत्पादन हुनेछ । त्यसैगरी, अन्य जिङ्क गहुँ १, जिङ्क गहुँ २ र बोर्लोग २०२० जातको गहुँ तराई र भित्री मधेशलगायत समुन्द्री सतहदेखि ८ सय मिटर उचाईसम्मका क्षेत्रहरूमा उत्पादन हुनेछ ।

सरकारले कोदोमा एक किसिमको जात थप गरेको छ । विगतको दिनमा ५ प्रकारकार मात्रै कोदो पाइने नेपालमा रातो कोदो (पञ्जीकरण मात्र) जातको थप गरी ६ किसिमको कोदो उत्पादन हुने भएको छ । सो कोदो समुन्द्री सतहबाट २ हजार देखि ३५ सय मिटकारे उचाई भएका जुम्लालगायतका आसपासका जिल्लाहरूमा उत्पादन गर्न सकिनेछ ।

नेपालको प्रमुख उत्पादनमध्ये फापरको किसिमको संख्या पनि ३ पुगेको छ । यसभन्दा अघि नेपालमा १ प्रकारको मात्रै फापर उत्पादन हुनेमा अहिले राजपत्रमा प्रकाशित भएअनुसार नेपालमा तीतेफापर–१ र तीतेफापर–२ थप गरेको छ । त्यससँगै चिनो र कागुनोको जात पनि राजपत्रमा समावेश गरेको छ । त्यसमा दुधे कागुनो र बरियो कागुनो समावेश गरेको छ ।

उखुमा ३ र अलैंचीमा ४ जात थप
सरकारले उखु र अलैंचीमा पनि केही नयाँ जातहरू थप गरेको छ । उखुमा जीतपुर–५, जीतपुर–६ र जीतपुर–७ जातको उखुको किसिम थप गरिएको छ । अलैंचीमा रामसाई, गोलसाई, डम्बरसाई, भर्लाङ्गे र जिर्मले गरी नयाँ पाँच जातको नाम समावेश गरेको छ ।

सरकारले नयाँ जातको मनकामना रायो पनि राजपत्रमा प्रकाशित गरेको छ । सो जा्त थप भएसँगै अहिले रायोको किसिमको संख्या ९ पुगेको छ ।

त्यसैगरी गोलभेडामा खुमल गोलभेडा हाईब्रिड–२ एफवान, खुमल गोलभेडा हाईब्रिड–३ एफवान थप गरिएको छ । सिमीमा पनि खैरो घिउ सिमी र पहेंलो जुन दोलखा जिल्लालगायतका आसपासका जिल्लाहरूमा उत्पादन हुन सक्ने जातको थप गरिएको छ । साथै, लट्टे अन्तर्गतमा लाल मार्से जातको विकास गरिएको राजपत्रमा उल्लेख छ ।


क्लिकमान्डु