ओलीको हतारोले माथिल्लो तामाकोशीमा समस्या



काठमाडौं । प्राविधिकले परीक्षणको क्रममा नै भनेका थिए, हतार नगरौं, उपकरणले काम गर्छ गर्दैन हेर्न बाँकी नै छ । सबै काम भएपछि उद्घाटन गरौंला । यत्रो लामो समय त बिताइयो, दुई-चार दिनको कुरा न हो ।

तर, प्राविधिकको यो कुरा कसले सुनिदिने, त्यसमाथि संविधान नै मिचेर दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेका कामचलाउन हैसियतमा पुगेका प्रधानमन्त्री खड्ग ओली झनै सुन्ने कुरा थिएनन् ।

प्राविधिकको कुरा नसुन्दा उदघाटन भएको दुई सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । रमाइलो त के छ भने उपकरण मर्मत गर्न तामाकोशीमा नसकिएपछि सबै उपकरण निकालेर कुलेखानी जलविद्युत् आयोजनामा लगिएको छ ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुग्दै थियो । हरेक दिनजसो तत्कालीन प्रधानमन्त्री ओलीका सहयोगीले निरन्तर आयोजनाका पदाधिकारीलाई फोन गरेर उद्घाटन गर्न दबाव दिन्थे । उनीहरु भन्थे– प्रधानमन्त्रीले जसरी पनि उदघाटन गर्ने भन्नुभएको छ । तपार्इंलाई खास समस्या के हो ? मुलुकको कार्यकारी प्रमुखको सचिवालयले नै दबाव दिएपछि कसको के लाग्थ्यो र ?

आयोजनाका पदाधिकारी अनौपचारिक सम्वादमा दबाव आएको कुरा बताउँथे, तर सार्वजनिक रुपमा सञ्चार माध्यममा बोल्न डराउँथे । प्राविधिक समूहका सचिव दिनेशकुमार घिमिरेलाई दबावमा काम गराउन नसकेपछि उनको सरुवा गरियो ।

आयोजनाको मुख्य लगानीकर्ता रहेको नेपाल विद्युत् प्राधिकरणका कायृकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि ओलीको सचिवालयले आजै उद्घाटन गर्नुपर्यो, भोलि उद््घाटन गर्नुपर्यो भनेर दबाव दिएका थिए । प्राधिकरणका कुनै पनि अधिकारी बालुवाटारको दबावका सामु आफना कुरा समेत राख्न सकेका थिएनन् । दबावका आधारमा उद्घाटन गरियो ।

ओलीले आफ्नो कार्यकालमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बिजुली उत्पादन गरेको भनेर बालुुवाटारबाट राम्रै भाषण पनि गरे । भर्चुअल रुपमा बालुवाटार र गोगर जोडियो । बिजुली बलेको भन्दै ताली बजाइयो । प्रशंसा पनि थापियो । तर, १५ दिन नहुँदै आयोजनाका मेशिनले काम गरेनन् ।

असार २१ गते ओलीले आफ्नै पालामा लोडसेडिङ हटेको र माथिल्लो तामाकोशीको बिजुली आएपछि बिजुली मागे जति पाइने समेत भन्न भ्याए । आत्मविश्वास पैदा भएको भाषण पनि ठोके ।

तर, प्राविधिक तयारी पूरा नगरीकन आयोजना उद्घाटनको हतारो गर्दा, यतिबेला सबैभन्दा बढी मारमा स्वयम् आयोजना नै परेको छ ।

उद्घाटनको दिन पहिलो युनिट चलाइएको थियो । त्यसको क्षमता ७६ मेगावाट मात्रै थियो । तर, पहिलो युनिटमा जडान गरिएको मेशिनले काम गरेन, मात्रै ७.६ मेगावाट बिजुली उत्पादन गर्यो । त्यो पनि लामो समयसम्म होइन । मात्रै १० मिनेटमात्रै बिजुली उत्पादन गरेको थियो ।

सामान्य समस्या होला, विस्तारै लोड लेला भनेर ठाने, प्राविधिकले । तर, सोचे जस्तो भएन । प्राविधिक लागि परे । तर, काम भएन ।

आयोजनाका सम्वद्ध अधिकारीका अनुसार पावर ट्रास्फर्मरमा समस्या देखिएको छ । आयोजना स्थलमा नै समस्याको समाधान हुन नसकेपछि हाल कुलेखानी जलाशयको मर्मत केन्द्रमा लगिएको छ ।

असार २१ गतेदेखि पहिलो युनिट र गत मंगलबारदेखि दोस्रो युनिटसमेत प्रणालीमा जोडेर अगाडि बढेको आयोजनाका लागि पावर ट्रान्सफर्मरमा समस्या आएपछि दाँतमा ढुंगा लागे जस्तै भएको छ ।

प्राधिकरण र आयोजनाका सम्वद्ध अधिकारीले समस्या सामान्य खालको भएको भन्दै यही साउन १५ गतेदेखि दुवै युनिटबाट १५२ मेगावाट बिजुली थप हुने जनाएका छन् ।

भूकम्प, भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक विपदका कारण आयोजनामा नियमित समस्या देखिएको थियो । २०७२ असारमा समप्न्न गर्ने भनिएको आयोजना ढिलो गरी मात्रै अन्तिम चरणमा पुगेको हो ।

आयोजनामा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत, राष्ट्रिय बीमा संस्थान २ प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत र दोलखाबासीको १० प्रतिशत लगानी रहेको छ । आयोजनाको शुरुवाती लागत ३५ अर्ब २९ करोड रहेको थियो ।

डिजाइनमा भएको परिवर्तन तथा अन्य केही कारणले गर्दा कूल लागत नै ५२ अर्ब रुपैयाँ पुगेको छ । यस्तै निर्माण अवधिकोे व्याज १४ अर्ब रुपैयाँ हुने भनिएकामा १८ अर्ब थप हुँदा ३२ अर्ब पुगेको छ । त्यस आधारमा आयोजनाको कूल लागत ८४ अर्ब रुपैयाँ पुगेको छ ।

आयोजनाले वार्षिक रुपमा २२८१ गिगावाट घण्टा अर्थात् २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन गर्छ । आयोजनामा पेल्टन टर्वाइन प्रयोग गरिएको छ ।

अर्धजलाशयुक्त प्रकृतिको आयोजनाको ग्रस हेड ८८५ मिटर रहेको छ । दोलखाको बिगु गाँउपालिका १ मा रहेको आयोजनाको जलाशयको क्षमता २२ लाख घनमिटर रहेको छ ।


पुष्प दुलाल