अन्तर्राष्ट्रिय उडान निश्चित नहुँदा विदेशमा रहेका श्रमिक समस्यामा
काठमाडौं । नेपालीहरूको प्रमुख गन्तव्य बनेको खाडी मुलुकमा अन्तर्राष्ट्रिय उडान निश्चित नहुँदा विदेशमा रहेका श्रमिक समस्यामा रहेको सम्बन्धित देशका श्रम काउन्सिलहरूले बताएका छन् ।
वैदेशिक रोजगार पत्रकार सामाजले आयोजना बुधबार ‘प्रमुख गन्तव्य मुलुकहरूको नेपाली कामदार लिने गरेको नयाँ व्यवस्थाहरू’ को विषयमा आयोजना गरेको वेविनार कार्यक्रममा सहभागी रहेका साउदी अरेबिया, मलेसिया र युएईका श्रम काउन्सिलरहरूले सो बताएका हुन् ।
त्यस्तै, साउदी अरेबियास्थित नेपालका श्रम काउन्सिलर जीवन राईले कोरोनाले गर्दा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा श्रमिकले धेरै समस्या भोग्नु परेको बताए ।
उनका अनुसार कोरोनाले गर्दा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा भिसा सकिएका सम्पूर्ण नेपालीहरू अवैध रुपमा बस्न बाध्य भएको बताए ।
‘साउदी अरेबियामा कोरोनाले गर्दा हजारौं नेपाली रोकिएका छन् । उक्त रोकिएका श्रमिकहरूको रोजगारदाताले भिसा थप नगरिने, इकामा नवीकरण नगर्दिने समस्याले गर्दा अवैध रुपमा बाध्य भएका छन्,’ उनले भने । त्यस्तै रोजगारदाताले समयमै बर्हिगमन गर्न नदिएको अवस्थाले पनि धेरै मारमा परेको उनको भनाइ छ ।
त्यसैगरी पछिल्लो समय आंशिक रुपमा उडान शुरु गरे पनि टिकट पाउन मुस्किल रहेको बताए । साथै, रोजगारदाताले पनि उडान छैन भन्दै आलटाल गरेको र उडानको मूल्य चर्को हुँदा हजारौं नेपाली अवैध रुपमा रोकिएको उनले उल्लेख गरे । त्यस्तै, गत जनवरीदेखि हालसम्म साउदीमा २५ वटा शव अड्किाएकाले सरकारले उक्त शवको व्यवस्थाको लागि कदम चाल्नुपर्ने सुझाए ।
मलेसियास्थित नेपाली श्रम काउन्सुलर दीपक ढकालले मलेसियाको रोजगारी संकुचन हुँदै गएको बताए । कोरोनाका कारण मलेसियाले नेपाल मात्रै नभएर अन्य देशको कामदारको माग पनि रोक लगाएको उनको भनाइ छ ।
उनका अनुसार करार अवधि सकेर रोकिएका कामदारहरूमा बढी समस्या देखिउको छ। जसमा हाल मलेसियाबाट उडान हुन नसक्दा र सिमित उडान हुँदा टिकट नपाएर रोकिएका कामदार धेरै रहेको बताए ।
त्यस्तै हाल मलेसियाले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको हुनाले आगामी डिसेम्बरसम्म कुनै माग नहुने उनले अनुमान लगाए । साथै, मलेसियामा कामदारको माग भएकाले रोजगारदाताले बाध्यकारी बनाएर भिसा थप गर्न लगाउने समस्याहरू पनि उत्पन्न भएको उनको भनाइ छ । मलेसियामा अहिले ५२ शव थन्किएको उनले जानकारी दिए ।
युएईस्थित नेपालको श्रम काउन्सिलर निर्मला थापाले युएईमा भिजिट भिसामा आएर कामदारको भिसामा परिवर्तन गर्न सक्ने प्रावधान रहेकाले भिजिट भिसामा गएका श्रमिकहरू बढी मारमा परेको बताइन् ।
तर, वैधानिक रुपमा बसोबास गरी काम गरिरहेका श्रमिकहरूलागि युएई सरकारले सजिलै भ्याक्सिन उपलब्ध गराउने भएकाले खासै समस्या नरहेको जिकिर गरिन् । त्यस्तै, अन्य देशको जस्तै नियमित उडान हुन नसक्दा करार अवधि सकिएका र नेपाल आउन चाहने व्यक्ति रोकिएको उनले जानकारी दिइन् ।