दैनिक बजेट खर्चको बढ्दो ग्राफः असारे विकास कि स्वभाविक खर्च ?



काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिना असारमा दैनिक बजेट बजेट खर्चको ग्राफ बढ्दो क्रममा देखिएको छ ।

आर्थिक बर्ष सकिने बेला धमाधम चेक काट्ने र बजेट निकासा दिने सरकारी प्रवृतिको पुनरावृति यसवर्ष पनि देखिएको हो ।

वर्षभरीको बजेट समानुपातिक रुपमा खर्च हुनुपर्नेमा अन्तिम त्रैमासमा मात्र खर्च हुने गरेको प्रवृती अझै हट्न सकेको छैन ।

आर्थिक वर्ष सकिनै लाग्दा अहिले सरकारले दैनिक १० देखि १५ अर्र्ब रुपैयाँ बराबरका चेक काटिरहेको छ । अरुबेला औसत दैनिक २ देखि ३ अर्ब रुपैयाँ बराबर बजेट खर्च हुने गरेकोमा असारको तेस्रो सातासम्म आइपुग्दा दैनिक १३ अर्ब ८६ करोड रुपैयाँसम्मको भुक्तानी निकासा भएको देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकलाई आधार मान्दा असार १ गतेको सरकारको बजेट खर्च १ अर्ब ५३ करोड १५ लाख रुपैयाँ बराबर थियो । दोस्रो हप्ता अर्थात असार ७ गतेको बजेट खर्च हेर्दा सवा ५ अर्बभन्दा माथि देखिन्छ ।

त्यस्तै, असार १५ गतेको सरकारले १० अर्ब ६७ करोड रुपैयाँ बराबरको चेक काटेको छ भने त्यसपछि शनिबारबाहेक अरु दिन पनि लगातार १० अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च भएको देखिन्छ ।

यसरी असार पहिलो साता दैनिक २ अर्ब रुपैयाँ बराबर खर्च भइरहेकोमा असार दोस्रो साता औसत दैनिक ७ अर्ब र तेस्रो साता औसत दैनिक ११ अर्ब रुपैयाँ बराबर खर्च भइरहेको छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेल विकास निर्माणका काममा अपनाइने कार्यशैलीका आधारमा आर्थिक वर्षको अन्तमा निकासी भुक्तानीको तथ्याङ्क स्वभाविक रुपमा बढ्ने बताउँछन् ।

‘अरु महिनामा भन्दा असारमा बढी भुक्तानी चाप हुन्छ । काम सम्पन्न भइसकेको आयोजनामा बिल भुक्तानी आर्थिक वर्ष सकिने बेलामा बढी हुने भएकाले खर्चको ग्राफ बढेको हो,’ उनले भने, ‘जुनसुकै काममा पनि डेडलाइन आएपछि चाप हुनु स्वभाविक हो । यसकारण अहिलेको बजेट खर्चलाई स्वभाविक नै मान्नुपर्छ ।’

आयोजनाको प्रारम्भिक चरण र खरिद लगायतका काम सक्न महिनौ लाग्ने भएकाले पनि निकासाका काम आर्थिक वर्षको अन्तमा मात्रै हुन्छ हुनेगरेको छ । काम सम्पन्न गरेका आधारमा भुक्तानी दिँदा आर्थिक वर्षको अन्तमा चाप देखिन्छ ।

त्यस्तै, वर्षभरी भएका कामलाई आर्थिक वर्ष सकिने बेलामा मात्र रिपोर्टिङ गर्ने परिपाटीका कारण पनि खर्चको आँकडा बढी देखिने गरेको प्रवक्ता पौडेलले बताए ।

‘दातृ निकायको सहयोगमा सञ्चालित आयोजना तथा कार्यक्रममा हुने प्रत्यक्ष भुक्तानीको रेकर्डिङ, अकाउन्टिङ र रिपोर्टिङको काम पनि आर्थिक वर्षको अन्तमा मात्रै हुन्छ । अहिले बढी खर्च देखिनुको अर्को कारण यो पनि हो,’ उनले भने ।

कोभिड १९ महामारीको प्रभाव र यसको रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाका कारण गत वैशाख दोस्रो सातापछि निर्माण क्षेत्र बन्दप्रायः छन् । अहिले निषेधाज्ञा केही खुकुलो भए पनि विकास निर्माणका कामहरु स्वभाविक अवस्थामा फर्किन सकेका छैनन् ।

त्यसमाथि असार महिना लागेपछि सडक, पुल, भवन निर्माणलगायतका क्षेत्रमा विकास खर्च कम हुनुपर्ने हो । सरकार आफैले पनि असार र साउनमा विकास निर्माणका काम बन्द गरेर असारे विकासलाई निरुत्साहित गर्ने बताउँदै आएको छ । तर दैनिक बजेट खर्चको अनुपात हेर्दा भने अहिले पनि सामान्य काम देखाएर भुक्तानी निकासा लिइरहेको बुझ्न गाह्रो छैन ।

चालु आर्थिक वर्षको खाता असार २५ गतेभित्र बन्द गरिसक्नुपर्छ भने अन्तिम साता अत्यावश्यक काममा बाहेक भुक्तानी निकासा दिइँदैन । तर कोभिड १९ महामारीका कारण विकास निर्माणका काम प्रभावित भएको बेलामा पनि भुक्तानी निकासीको काम भने धमाधम भइरहेको देखिन्छ ।


क्लिकमान्डु