तामाकोशीजस्ता आयोजना अब स्वदेशी लगानी र व्यवस्थापनमै बनाउन सक्छौ- हितेन्द्रदेव शाक्य



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्यम खालका उत्पादन क्षमता र लागतका जलविद्युत् आयोजना अब स्वदेशी लगानी, इन्जिनियरिङ र व्यवस्थापनबाट निर्माण गर्न सकिने बताएका छन् ।

कुल ४५६ मेगावाट उत्पादन क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै शाक्यले यस्ता आयोजना आफै बनाउनका लागि आँट र हिम्मत आएको बताएका हुन् ।

‘चिलिमे मोडलमा बनेको यो आयोजना स्वदेशी इन्जिनियरिङमा बनाउन त्यो बेला आँट गरेनौं । तर आज यो आयोजना निर्माण सम्पन्न हुँदै गर्दा अबका आयोजना स्वदेशी इन्जिनियरिङमा गर्ने आँट पलाइसकेको छ । पाठ पनि सिकिएको छ,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘४ सय मेगावाट वरपरका बेतन कर्णालीजस्ता आयोजना हामी स्वेदशी मोडल, स्वदेशी लगानी र स्वदेशी इन्जिनियरिङ तथा व्यवस्थापन बाट गर्न सक्छौं ।’

माथिल्ल्लो तामाकोशी जलविद्युत आयोजनाले देखाएको बाटो पहिल्याउनु नेपालको जलविद्युत् क्षेत्रको अबको आवश्यकता रहेको पनि शाक्यले बताए । ‘नेपालीको पौरख, नेपालको गौरव शैली’मा काम गरिनुपर्ने उनको भनाइ छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको हालसम्मकै ठूलो आयोजना हो ।

यो आयोजना आज उद्घाटन भएसँगै ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडिनेछ भने असारभित्रै अर्को युनीटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन शुरु हुनेछ । ७६ मेगावाट प्रतिउत्पादन क्षमता भएका ६ वटा युनीटहरु आयोजनामा रहेका छन् ।

नेपालमा जलविद्युत् क्षेत्रको ११० वर्षको इतिहासमा राष्ट्रिय गौरवका रुपमा रहेर निर्माण सम्पन्न भएको यो पहिलो आयोजना हो । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा आयोजनाको बाँध र गोगरमा विद्युत् गृह रहेको छ ।

यस आयोजनाको सम्भाव्यता अध्ययन तथा पहुँचमार्ग विस्तृत अध्ययन डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणले २०५७ देखि २०६० सालको बीचमा गरेको थियो । यो आयोजनाले २२८ करोड युनिट वार्षिक विद्युत् उत्पादन गर्नेछ ।

आयोजनाका लागि ८.४५ किलोमिटर मुख्य शुरुङ र १ हजार १६५ मिटर लामो पेनस्टक निर्माण गरिएको छ ।


क्लिकमान्डु