निषेधाज्ञापछि ४ सय केजी सुुन आयात गरिँदै
काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञा अवधिभर ठप्प भएको सुनको आयात निषेधाज्ञा खुकुलो भएसँगै आयात गर्ने भएको छ ।
करिब २ महिनासम्म आयात ठप्प भएको सुनको आयात गत असार ८ गतेदेखि बजार खुकुलो भएसँगै बैंकर एशोसिएनले ४ सय सुन आयात गर्ने भएको हो ।
सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो । अहिले गत असार ८ गतेबाट बजार केही खुकुलो बनाएको छ । साथै, सुनचाँदी पसल खोल्न मिल्ने व्यवस्था मिलाएको छ ।
सोही अनुसार बैंकर एशोसिएसनले सुन आयात गर्न थालेको एशोसिएशनकी सूचना अधिकारी सविना श्रेष्ठले बताइन् । उनका अनुसार बाग्मती प्रदेशमा आपूर्तिका लागि चार वटा बैंकलाई ५०/५० केजी आयात गर्न अनुमति दिएको छ भने उपत्यकाबाहिरको लागि पनि २०० केजी आयात गर्न चार बैंकलाई अनुमति दिइएको बताइन् ।
त्यस्तै, बाग्मती प्रदेशको लागि गत १० गते नै सिद्धार्थ बैंकले ५० केजी सुन आयात गरिसकेको छ । उक्त सुन बजारमा वितरण भइसकेको पनि उनले जनाइन् ।
साथै, उपत्यका बाहिरको मंगलबार एनएमबी र सिटीजन बैंकले ५०/५० केजीको दरले सुन आयात गर्ने भएको छ । त्यस्तै, ४ सय केजीका लागि क्रमशः बैंकहरू अनुमति लिएर आएमा सोही अनुसार अनुमति दिने भएको उनले जानकारी दिइन् ।
एशोसिएशनले देशभरका २३ वटा बैंकहरुलाई आलोपालो गरी सुन आयात गर्ने व्यवस्था मिलाएको थियो । सोहीअनुसार अहिले एसोसिएशनले अनुसार एनएमी, सिद्धार्थ, बीओकेलगायत अन्य ५ वटा बैंकले सुन आयात गर्न इजाजत दिएको उनले बताइन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बजारमा सुनचाँदी अभाव भएको भन्दै आयात गर्नका लागि माग गरेको थियो । त्यसैले, निषेधाज्ञा पछि पहिलो पटक ४ सय केजी सुन आयात हुने भएको महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् ।
उनका अनुसार लामो समयको बन्दाबन्दीका कारण आयात हुन नसकेकाले बजारमा आपूर्ति गर्नको लागि एकै पटक ४ सय केजी सुन आयात गर्न अनुमति पाएको बताए ।
जसमा आयात भएको ५० प्रतिशत बाग्मती प्रदेशलाई वितरण हुन्छ भने बाँकी ५० प्रतिशत अन्य प्रदेशमा वितरण हुने भएको उनले जानकारी दिए ।
‘विगतको दिनमा पनि जति सुन आयात हुन्छ । त्यसमा बाग्मतीलाई ५० प्रतिशत र बाँकी अन्य प्रदेशलाई वितरण गर्दै आएका छन् । अहिले पनि सोही प्रणाली अनुसार वितरण हुनेछ,’ उनले भने ।
त्यस्तै बजार खुकुलो भएसँगै व्यवसायीहरूले सुनको माग गर्न थालेको उनले बताए । बजारमा आपूर्ति गर्नका लागि ४ सय केजी सुन आयात भएमा सहज हुने उनको भनाइ छ ।
‘असार सुनचाँदी बिक्री हुने मौसम होइन,’ उनले क्लिकमान्डूसँग भने, ‘तर, आगामी दिनमा मुख्य पर्व नजिकिँदै गरेकाले तयारी गर्नुपर्ने छ ।’
त्यसैगरी अहिले कोरोनाले गर्दा आर्थिक मन्दी भएकाले सुनचाँदीको खपत कम हुन थालेको उनको भनाइ छ । उनका अनुसार बजार खुल्ला भएपनि आर्थिक मन्दी र बेमौसमको कारणले २ महिनासम्म व्यापार कम हुने उनले अनुमान लगाए । साथै, व्यवसायीहरूले आगामी चाडपर्वलाई हेरेर सुन किन्ने र सोही अनुसार अगावै तयारी गर्ने प्रचलन रहिआएको छ । त्यसैगरी, सुनचाँदी केही मात्रामा मौज्दातमा राखेर बिक्री हुने गरेको बताए ।
११ महिनामा २१ अर्बको सुन आयात
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले २१ अर्ब ६ करोड ८३ लाख रुपैयाँ बराबरको ३ हजार १८ केजी सुन आयात गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार उक्त संख्यामा गत बैशाखसम्ममा आयात भएको उल्लेख गरेको छ ।
गत फागुनसम्ममा २३ सय केजी आयात भएकोमा चैत महिनामा ४ सय ६० केजी आयात भएको थियो । त्यस्तै वैशाख महिनाको १६ गतेबाट लागू जारी गरेको थियो । त्यसैले सो वैशाख महिनामा २ सय ५८ केजी मात्रै सुन आयात भएको छ । जुन विगतको महिनाको तुलनामा ५० प्रतिशतले कमी हो । त्यस्तै जेठ महिनामा भने सुन आयात नभएको तथ्याङ्कले उल्लेख गरेको छ ।