नयाँ सहर र स्मार्ट सिटी विकासका लागि बजेटको आकार बढ्यो, कुनलाई कति बजेट ?



काठमाडौं । नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०६७/६८ देखि सहरलाई व्यवस्थित गर्ने उद्देश्यका साथ अघि सारिएको आधुनिक नयाँ सहरहरू र स्मार्ट सिटीहरूको विकासका लागि बजेटको आकार बढेको छ ।

चालु आर्थिक वर्षको बजेटभन्दा आगामी वर्षको बजेटमार्फत् निर्माण भइरहेका नयाँ शहर र स्मार्ट सिटीको बजेटको आकार बढेको हो ।

सरकारले आर्थिक वर्ष २०६७/६८ को नीति तथा कार्यक्रममा पहिलो पटक समावेश गरेको थियो । उक्त कार्यक्रम सो आवमा समेटिए पनि आर्थिक वर्ष २०७०÷७१ बाट मात्रै निरन्तर बजेट विनियोजन हुँदै आएको छ ।

सरकारले हालसम्म देशभरका ५० वटा स्थानहरूमा नयाँ शहर र स्मार्ट सिटीको रुपमा विकास गर्ने भएको छ । जसमा आर्थिक वर्ष २०७८/७९ मा ४२ वटा नयाँ सहर र स्मार्ट सिटीको स्तरोन्नतिको कार्यलाई तीव्रताका लागि बजेट छुट्टाइएको छ ।

सरकारले देशभरका विभिन्न ४२ वटा स्थानमा रहेको सहर विकासको लागि ३ अर्ब १९ करोड ५७ लाख रुपैयाँ पुँजीगत रकम छुट्टयाएको सहरी विकास तथा भवन निर्माण विभागको नयाँ सहर आयोजना समन्वय कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आगामी वर्षका लागि छुट्टयाइएको पुँजीगत खर्च हालसम्मकै उच्च रहेको छ । चालु आव नयाँ सहर र स्मार्ट सिटी निर्माण आयोजनाका लागि २ अर्ब ११ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा चालु वर्षको तुलनामा आमागी वर्षका लागि १ अर्ब ८ करोड ५७ लाख रुपैयाँले बजेटको आकार बढेको छ ।

त्यस्तै, समन्वय कार्यलयका अनुसार आव चालु र पूँजीगत गरी २०७०/७१ मा उक्त नयाँ सहर आयोजनाका लागि २० करोड १२ लाख ६२ हजार, आव २०७१/७२ मा ३० करोड ५३ लाख ८३ हजार, आव २०७२/७३ मा ४९ करोड ९८ लाख, आव २०७३/७४ मा १ अर्ब ११ करोड ४१ लाख विनियोजन गरिएको थियो ।

त्यस्तै आव २०७४/७५ मा २ अर्ब ११ करोड ५७ लाख, आव २०७५/७६ मा १ अर्ब ९९ करोड १७ लाख, आव २०७६/७७ मा १ अर्ब ८२ करोड ९७ लाख र विनियोजन गरेको थियो ।

आर्थिक वर्ष २०६७/६८ मा नयाँ सहरको रुपमा विकास गर्ने योजनाका साथ १२ वटा शहरहरु निर्माण गर्ने भएको थियो । सो वर्ष १२ वटा नयाँ सहर निर्माण गर्ने योजना बनाएको सरकारले चालु आव २०७७/७८ सम्म आइपुग्दा वार्षिक रुपमा बढ्दै गई नयाँ सहर र स्मार्ट सिटी गरी ५० वटा पुर्याएको छ । तर, यो वर्ष भने ४२ वटा नयाँ सहर र स्मार्ट सिटीका लागि बजेट छुट्टयाइएको छ ।

कार्यालयका अनुसार कतिपय आयोजनाहरूको कार्य अन्तिम चरणमा रहेको र कतिपय आयोजनाको कार्य सम्पन्न भएकाले सोही अनुसारको बजेट विनियोजन भएको कार्यालयको भनाइ छ ।

कुन नयाँ शहर र स्मार्ट सिटीको लागि कति बजेट ?
सरकारले हालसम्म १३ वटा स्मार्ट शहर ३७ वटा गरी ५० वटा नयाँ व्यवस्थित सहरका रुपमा विकास गर्ने योजना राखेको छ । सोही अनुसार आगामी वर्षको बजेट विनियोजन भएको छ । नयाँ सहर आयोजना समन्वय कार्यालयलाई ९ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, मोरङ्को रंगेलीको नयाँ सहर र धनकुटाको स्मार्ट सिटीको विकासका लागि २÷२ करोड रुपैयाँ छुट्टाइएको छ । पाँचथरको फिदिम नयाँ सहरका लागि २२ करोड ५७ लाख वसन्तपुर नयाँ सहरका लागि १९ करोड ६० लाख, संघीय आयोजना कार्यान्वयन ईकाई धनासु अन्तर्गतको महोत्तरीको बलवा, मनरा, सर्लाहीको ब्रम्हपुरी र ईश्वरपुरको नयाँ सहरका लागि एकमुष्ट १४ करोड १५ लाख रुपैयाँ छुट्टाइएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीमा रहेको सम्भूनाथ नयाँ शहर र मिर्चैया स्मार्ट सिटीका लागि २ करोड, रौतहिटस्थित रहेको मौलापुर, कटहरिया, बारामा रहेको महागढीमाई नयाँ सहर र निजगढ स्मार्ट सिटी र रौतहटमा रहेको चन्द्रपुर स्मार्ट सिटीका लागि ४७ करोड १ लाख रुपैयाँ छुट्टाइएको कार्यालयले जनाएको छ ।

कार्यालयले सिन्धुलीको खुर्कोट नयाँ सहरलाई १८ करोड ८६ लाख, धादिङको बैरेनी-गल्छीलाई १६ करोड ५६ लाख, नवलपारासीको बर्दघाट र चितवन भरतपुर स्मार्ट सिटीलाई गरी ९ करोड, तनहुँको डुम्रे भन्सार नयाँ सहरलाई २० करोड २६ लाख, बाग्लुङको बुर्तिवाङ नयाँ सहरलाई १४ करोड ८५ लाख रुपैयाँ छुट्टयाएको छ ।

गोरखाको पालुङटार र स्याङ्जाको वालिङ स्मार्ट सिटीलाई ४ करोड ४० लाख, प्यूठानको भिग्री र दाङको गढवा नयाँ सहर र तुल्सीपुर स्मार्ट सिटीलाई ६ करोड छुट्टयाइको कार्यालयको भनाइ छ ।

बर्दिया राजापुरको नयाँ सहरलाई ३ करोड, रुकुमपश्चिम चौरजहारी नयाँ सहरलाई १९ करोड, दैलेखको रकम-कर्णाली नयाँ सहरलाई १८ करोड ९३ लाख, सुर्खेतको भेरीगंगा नयाँ सहर र दैलेखको दुल्लु स्मार्ट सिटिका लागि १८ करोड ५० लाख रुपैयाँ छुट्टयाइएको छ ।

त्यसैगरी, अछामको साँफेबगरलाई १७ करोड ९५ लाख, बैतडीको पाटन नयाँ शहरलाई १५ करोड ६५ लाख, कैलालीको भजनी, कञ्चानपुरको बेलैरी नयाँ शहरहरू, डडेलधुराको अमरगढी र कैलालीको टिकापुर स्मार्ट सिटी सबैगरी ९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

साथै, सोलुखुम्बुको लुक्लालाई १ करोड ५० लाख, रसुवाको स्याफ्रुबेसीलाई २ करोड, मुस्ताङकको जोमसोमलाई १ करोड ५० लाख, हुम्लाको सिमिकोटलाई १ करोड ५० लाख र बाजुराको मार्तडी हिमाली नयाँ सहरलाई १ करोड ५० लाख रुपैयाँ छुट्टयाएको छ ।

यी ८ सहर तथा स्मार्ट सिटीका लागि छैन बजेट
सरकारले आगामी वर्षको ४२ वटा नयाँ सहर र स्मार्ट सहरका लागि बजेट छुट्टयाए पनि बाँकी ८ वटा स्थानलाई भने बजेट छुट्टाइएको छैन ।

जसमा झापामा रहेको गौरीगञ्ज नयाँ शहर, लुम्बिनी स्मार्ट सिटी, कोभ्र भ्याली स्मार्ट सिटीलाई कुनै बजेट छुट्टाइएको छैन । साथै, बाजुराको कोन्टी, डोल्पाको दुनै, ताप्लेजुङको फुङलिङ, मनाङको च्यामे, संखुवासभाको किंम्रायाङ्का नयाँ शहरलाई कुनै पनि बजेट नछुट्टाइएको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु