तिब्बतको ल्हासा-निङ्चीमा रेल्वे सेवा शुरु, प्रतिघण्टा १६० किलोमिटर दौड्ने



एजेन्सी । चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेल्वेसेवा शुक्रबारदेखि शुरु भएको छ ।

चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा ४३५ किलोमिटरको छ । तिब्बती पठारमा निर्माण भएको यस पहिलो विद्युतीय रेल १६० प्रति किलोमिटर गतिमा गुड्न सक्ने व्यवस्था मिलाइएको छ ।

चिनियाँ मुख्य भूभागमा तीव्र गतिका बुलेट ट्रेन चलिरहेको फुक्सिङ कम्पनीले नै पछिल्लो रेलसेवा शुरु गरेको छ । अब चीनका सबैजसो क्षेत्रमा फुक्सिङको सेवा विस्तार भएको छ ।

दक्षिणपूर्वी तिब्बतलाई जोड्ने यो ऐतिहासिक क्षण भएको चिनियाँ रेलसेवाले जनाएको छ ।

यस तीव्र गतिको रेलमार्फत् ल्हासाबाट यात्रुहरु शान्नान शहर ७० मिनेटमा पुग्न सक्नेछन् भनेर निङ्ची साढे तीन घण्टामा पुग्न सक्नेछन् । रेलमार्गको ९० प्रतिशतभन्दा बढी हिस्सा समुद्र सतहभन्दा ३ हजार मिटर माथि रहेको छ ।

यो रेलमार्ग सन् २०१४ मा निर्माण शुरु भएको थियो भने सन् २०२० को अन्त्यसम्ममा ट्रयाक (लिक) बिछ्याउने कार्य सम्पन्न भएको थियो ।

ल्हासा-निङ्ची रेलमार्ग हाल निर्माणाधीन सिचुवान–तिब्बत रेलमार्गकै हिस्सा हो । यो रेलमार्गले ल्हासालाई छिमेकी सिचुवान प्रान्तको राजधानी चेङ्दुलाई जोड्ने छ । साथै दक्षिणपश्चिम युनान प्रान्त र तिब्बत जोड्ने प्रस्तावित रेलमार्ग पनि यी रेलमार्गमा आबद्ध हुनेछन् । नेपाल जोड्ने रेलमार्ग समेत यही रेलमार्गमा निर्माण हुने बताइन्छ । तर, यताको काम भने शुरु हुन सकेको छैन ।

प्रारम्भिक सम्भाव्यता अध्ययनको काम पूरा भई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चरणको अध्ययन गर्ने भनिएपनि हालसम्म काम शुरु भएको छैन । कोरोना देखाएर काम रोकिएको छ । नेपालको तर्फबाट पनि रेलमार्ग निर्माणमा चासो दिइएको छैन ।

कामचलाउ अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा रेलमार्गको विषयमा समेत भाषण गर्न छाडेका छन् । नत्र उनले हरेक जसो भाषणमा रेलमार्ग र पानीजहाजको कुरा छुटटाउँदैन थिए । चीनबाट नेपालमा रेलमार्ग जोड्ने विषय भूराजनीतिक चपेटामा फसेको जानकारहरुको टिप्पणी छ ।


क्लिकमान्डु