मोट्रेक्ससँग विद्युतीय गाडी उत्पादनका लागि लगानी बोर्डले प्रस्ताव गर्ने



काठमाडौं । लगानी बोर्डले सवारी उत्पादन तथा एसेम्बलिङका लागि प्रस्ताव बुझाएको कोरियन कम्पनी एम/एस मोट्रेक्ससँग वार्ता अघि बढाउने भएको छ ।

मोट्रेक्ससँग राष्ट्रिय अर्थतन्त्र तथा वातावरणमैत्री सवारी उत्पादनका लागि प्रस्ताव माग गर्ने तयारी बोर्ड रहेको छ ।

मोट्रेक्ससँग थप वार्ता गरी लगानी सम्झौता स्वीकृतिका लागि लगानी बोर्डको ४३औं बैठकले सैद्दान्तिक सहमति प्रदान गरिसकेको छ ।
बैशाख १२ गते बसेको बोर्डको अनुगमन तथा सहजीकरण समितिले मोट्रेक्ससँग वार्ता गर्न प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट (आयोजना लगानी सम्झौता) का लागि ३ सदस्य समिति गठन गरेको छ ।

सो समिति अध्यक्षमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) र सदस्यमा अर्थमन्त्रालय र कानून मन्त्रालयका सहसचिव रहनेछन् । उक्त समितिको पहिलो बैठक यसै हप्ता बस्ने कार्यक्रम तय भएको बोर्डले जानकारी दिएको छ ।

सरकारले वातावरणमैत्री सवारी साधनलाई प्रवद्र्धन गर्ने नीति लिइएकाले सोहि अनुरुप मोट्रेक्ससँग विद्युतीय सवारी उत्पादन गर्ने विषयमा वार्ता गर्न लागिएको लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।

मोट्रेक्सले २०७५ माग २५ गते सवारी उत्पादन तथा एसेम्बलिङ प्लान स्थापनाका लागि लगानी बोर्डमा प्रस्ताव पेश गरेको थियो । यसका लागि मोट्रेक्सले १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने प्रस्तावमा उल्लेख छ ।

आगामी आर्थिक वर्षको बजेट विद्युतीय सवारी उत्पादन तथा एसेम्बलिङ गर्ने कम्पनीलाई कर सहुलियतका अतिरिक्त आवश्यक पर्ने जग्गा सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

‘कम्पनीले उद्योग स्थापना गर्न कर लगायत विभिन्न छुट तथा सहुलियत पनि माग गरेको छ । पेट्रोलिय पर्दाथबाट सञ्चालन हुने सवारी उत्पादन तथा एसेम्बलिङ प्लान स्थापनाको तुलनामा विद्युतीय सवारी उत्पादन गर्दा केहि बढी सहुलित दिन सकिने सम्भावना देखिन्छ,’ अधिकारीले भने, ‘विद्युतीय सवारी उत्पादनका लागि प्रात्साहन गर्ने उद्देश्यसहित वार्ता अघि बढाउन खोजिएको हो ।’

सरकारले मोट्रेक्सका लागि रुपन्देहिको मोतिपुर औद्योगित क्षेत्रमा ७३.६ एकर जग्गा उपलब्ध गराउने योजना बनाएको छ ।

मोट्रेक्सको प्रस्ताव
मोट्रेक्सले नेपालमा वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गर्ने लक्ष्य सहित बोर्डमा प्रस्ताव बुझाएको छ । पहिलो वर्ष ५ हजार ८२०, दोस्रो वर्ष ९ हजार ५३०, तेस्रो वर्ष १५ हजार ८० लर चौथो वर्ष २० हजार थान सवारी उत्पादन गर्ने कम्पनीको प्रस्तावमा उल्लेख छ । साथै परियोजना शुरु गरेको पाँचौ वर्ष र उत्पादनको चौथो वर्षबाट परियोजना ब्रेक इभनमा जाने उल्लेख छ ।

यस्तै कम्पनीको सवारी उत्पादन एसेम्बलिङ प्लान्ट निर्माण भएको ७ वर्षसम्म यस्तै प्रकृतिका अन्य कम्पनीलाई अनुमति नदिने सर्त राखिएको छ । साथै ७ वर्ष पछि पनि यस्तै प्रकृतिका १०० मिलियनभन्दा ठूलो परियोजनालाई मात्र अनुमति दिनुपर्ने शर्त राखेको छ । प्रस्ताव अनुसार कम्पनीलाई लगानी बराबरको प्रतिफल प्राप्त गर्न ७ वर्ष लाग्ने उल्लेख छ ।

मोट्रेक्स कस्तो कम्पनी हो ?
नेपालमा सवारी उत्पादन गर्ने सैद्दान्तिक सहमति पाएको मोट्रेक्ससँग गाडी उत्पादनको अनुभव छैन । सन् २००१ मा दक्षिण कोरियामा स्थापना भएको कम्पनीले गाडीको लागि आवश्यक एसेसरिज उत्पादन गर्ने गर्छ । कम्पनीले हालसम्म आफै गाडी उत्पादन भने गरेको छैन ।

मोट्रेक्स नेपालमा कसरी आयो
व्यवसायी सञ्जय प्रधानले मोट्रेक्सलाई नेपाल भित्र्याएका हुन् । प्रधानको कम्पनील एभ्को इन्टरनेसनल केही दशकअघि नेपालमा हुन्डाई गाडीको बिक्री/वितरण गथ्र्यो । वित्तीय संकटमा परेपछि एभ्को बन्द भएको थियो ।


क्लिकमान्डु