भारतमा पनि शुरु भयो ‘भ्याक्सीन पासपोर्ट’ को अवधारणा



एजेन्सी । भारतमा पछिल्ला दिनमा भ्याक्सीन पासपोर्टको बारेमा छलफल शुरु भएको छ । त्यसले कोरोनाले समस्यामा पारेको अर्थतन्त्रलाई राहत दिने विश्वाससमेत लिइएको छ ।

कोरोनाभाइरसबाट अतिप्रभावित मुलुक भारतमा पनि अन्य देशमाजस्तै ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल शुरु भएपछि सकारात्मक सन्देश प्रवाह गर्ने अनुमान गरिएको छ ।

जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल शुरु भएको हो ।

कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेकाहरुको पहिचान र उनीहरुलाई विदेश भ्रमणमा सहज गराउने उदेश्यले ‘भ्याक्सीन पासपोर्ट’को अभ्यास सुरु भएको छ ।

भारतले पनि कोरोनाभाइरसको दुबै खोप लगाएकाहरुलाई विदेश यात्राका लागि सजिलो बनाउन ‘भ्याक्सीन पासपोर्ट’ दिने वा त्यसो गर्नु समानताका हिसाबले न्यायोचित नहुने भन्ने बारेमा छलफल हुन थालेको जनाएको छ ।

दैनिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले विभिन्न देशमा ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा आएको बारेमा आफुहरुलाई थाहा रहेको र भारतमा पनि त्यस बारेमा छलफल भइरहेको जानकारी दिएका थिए ।

‘यस बारेमा हामी पर्याप्त जानकार छौँ, यो विभिन्न देशमा प्रचलनमा आउने क्रममा रहेको छ, यो विश्वभरी नै छलफलको विषय बनिरहेको छ’ उनले भने ।

कतिपय विकासशिल मुलुकहरुले अहिलेसम्म पनि पर्याप्त खोप पाउन नसकिरहेका बेला यसको औचित्य र उपयोगिता कति उपयुक्त हो भन्ने दृष्टीकोणबाट पनि कुरा उठ्ने गरेको उनले उल्लेख गरे ।

‘भ्याक्सीन पासपोर्ट’भन्दा ठूलो कुरा सवैले समान रुपमा भ्याक्सीन पाउनु पर्छ भन्ने हो, हाम्रो त्यसैमा जोड रहेको छ,’ उनले भने ।

खाडी क्षेत्रका केही देशले यस्तो अभ्यास थालेका छन् । यूरोपमा पनि खोप राहदानीको बारेमा चर्चा परिचर्चा शुरु भएको छ ।

लकडाउनको साहारामा कति दिन नागरिकलाई थुनरे राख्ने भन्दै खोप कुटनीतिको बारेमा चर्चा भएको हो ।


पुष्प दुलाल