सरकारी ऋणपत्रले अन्तर बैंक ब्याजदर पौने ५ प्रतिशत पुग्यो, तरलतामा चाप



काठमाडौं । सरकारले लक्ष्य अनुसार आन्तरिक ऋण उठाउँदा बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) चाप परेको छ । राष्ट्र बैंकले तोकेको अनुसार ऋणपत्र खरिद गर्दा अन्तरबैंक कारोबार ब्याजदर समेत बढेको छ ।

हाल निषेधाज्ञाको अवस्था रहँदा अर्थिक गतिविधि प्रायः ठप्प छ भने बैंकहरुमा नयाँ कर्जाको माग समेत नभएको बैंकरहरु बताउँछन् । तर यही अवस्थामै बैंकिङ प्रणालीमा तरलता २१ अर्ब ९२ करोड रुपैयाँमात्र मौज्दात छ । यो चालु आवमा बैंकिङ प्रणालीमा मौज्दात तरलतामध्ये सबैभन्दा थोरै हो । प्रणालीमा तरलता चाप परेपनि माग अनुसारको आपूर्तिका अन्तर बैंक सापटी गरेर पुरा गरेका छन् । अन्तर बैंक कारोबार बढ्दा ब्याजदर समेत ४.७८ प्रतिशत पुगेको छ ।

सरकारले आन्तरिक ऋण उठाउँदा बैंकहरुमा तरलतामा चाप परेको नेपाल राष्ट्र बैंकमा प्रवक्ता देव कुमार ढकालले बताए ।

‘पछिल्लो १ महिनामै आन्तरिक ऋण ६० अर्ब रुपैयाँ उठेको छ,’ उनले क्किमाण्डूसँग भने, ‘अहिले बैंकहरुमा नयाँ कर्जाको माग नभएपनि पहिले नै स्वीकृत आयात कर्जा गइरहेको छ भने ऋणपत्रमा समेत बैंकहरुको लगनी यो महिना बढी भएको छ, जसले गर्दा तरलतामा चाप परेको हो ।’

चालु आर्थिक वर्षमा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये अब ६२ अर्ब रुपैयाँ उठाउन बाँकी रहेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले चुक्तापुँजीको न्यूनतम २५ प्रतिशतसम्म सरकारी ऋणपत्रमा लगानी गर्नु पर्छ । सोभन्दा माथि बैंकहरुले शतप्रतिशतसम्म नै ऋणपत्रमा लगानी गर्न सक्ने उनले बताए ।

राष्ट्र बैंकले गत आवमा कोभिडको असरले गर्दा बैंकहरुले तोकेएको क्षेत्रमा निर्देशन अनुसारको लगानी सीमा नपुर्याउने बैंकहरुलाई छुट दिएको थियो । तर यस पटक भने सो प्रकारको छुट दिने राष्ट्र बैंकले हालसम्म उल्लेख गरेको छैन । जस कारण बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत सरकारी ऋणपत्रमा आगामी असार मसान्तसम्म गर्नु पर्ने प्रवक्ता ढकालले जानकारी दिए ।

बैंकिङ क्षेत्रको पछिल्लो एक महिनामा ६६ अर्ब रुपैयाँ निक्षेप थप भएको छ भने, ३१ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ । गत बैशाख मसान्तसम्म बैंक तथा वित्त कम्पनीले ४५ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन जेठ मसान्तसम्म आइपुग्दा ४५ खर्ब ५ अर्ब निक्षेप र ४० खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

बैंकहरुले कर्जा लगानी नगरेपनि तोकिएको सीमामा सरकारी ऋणपत्रमा लगानी गर्न अन्तर बैंक सापटी लिएको उनको भनाइ थियो ।

राष्ट्र बैंकका अनुसार गत जेठ २५ गते बैंकिङ प्रणालीमा २४ अर्ब ६० करोड रुपैयाँ तरलता हुँदा अन्तर बैक ब्याजदर ४.१ प्रतिशत थियो ।


क्लिकमान्डु